२०७९ को स्थानीय तह निर्वाचनमा झिनो मतान्तरले गौर नगरपालिकाको उपप्रमुखमा पराजित भएकी खातुन नेपाली कांग्रेसकाे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
What you should know
रौतहट — राजनीतिमा धैर्य र निरन्तरताको प्रतिफलको उदाहरण रौतहटकी ४० वर्षीया डा. शाहजान खातुनले प्रस्तुत गरेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा झिनो मतान्तरले गौर नगरपालिकाको उपप्रमुख पदमा पराजित भएकी खातुन अहिले नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
पेशाले चिकित्सक खातुन गौर नगरपालिका–१ की बासिन्दा हुन् । स्थानीय स्तरमा बौद्धिक र सेवामूखी छविका कारण उनी छोटो समयमै राजनीतिमा स्थापित हुन सफल भएकी हुन् । २०७९ वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी गौर नगरपालिकाको उपप्रमुख पदका लागि चुनावी मैदानमा उत्रिएकी थिइन् ।
अत्यन्तै प्रतिस्पर्धात्मक रहेको उक्त निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीका शैलकुमार साहसित १ हजार १२४ मतले पराजित हुन पुगिन् । साहले ४ हजार ८०९ र खातुनले ३ हजार ६८५ मत प्राप्त गरिन् । त्यतिबेला चुनावी नतिजा आफ्नो पक्षमा नआए पनि उनले मतदातासँगको सामीप्य र पार्टीभिक्रको सत्रियतालाई कायमै राखिन् ।
कांग्रेसले डा. खातुनको राजनीतिक सक्रियता, पेशागत दक्षता र महिला तथा मुस्लिम समुदायको प्रतिनिधित्वलाई कदर गर्दै समानुपातिक सूचीमा समावेश गरेको थियो । एक चिकित्सकको रुपमा समाज बुझेको र प्रतिनिधिसभामा पुगेपछि मधेश प्रदेशको स्वास्थ्य अवस्था, महिला सशक्तीकरण र शिक्षालाई मुख्य एजेन्डा बनाउने उनले बताइन् । ‘हिजो निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्ने अठोट कायमै थियो । आज पार्टीले दिएको यो जिम्मेवारीलाई म मधेशको विकास र खासगरी स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित गर्नेछु,’ उनले भनिन्, ‘समाजको घाउ निको पार्न एउटा चिकित्सकले औषधि मात्र दिएर पुग्दैन, राज्यको नीति नै जनमैत्री हुनुपर्छ । आगामी दिनमा स्वास्थ्य क्षेत्रको सुधार र मधेशको समृद्धिका लागि आफ्नो राजनीतिक यात्रालाई थप सशक्त बनाउने अभियानमा छु ।’
बंगलादेशबाट एमबीबीएस गरेकी खातुनको सदरमुकाम गौरमा तैयब हेल्थ केयर अस्पताल संचालनमा छ । उनका श्रीमान् पनि चिकित्सक हुन् । श्रीमान् डा. सरफराज तैयबले अस्पताल सम्हालेका छन् । राजनीतिमा शिक्षित र दक्ष व्यक्तिको प्रवेशले नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास छ ।
मधेश प्रदेशको राजनीति र स्वास्थ्य क्षेत्रमा पछिल्लो समय खातुनको नाम निकै चर्चामा छ । पेशाले चिकित्सक भए पनि हाल उनी सामाजिक रुपान्तरण र राजनीतिको मैदानमा सक्रिय छिन् । डा. खातुनले आफ्नो चिकित्सा यात्रा सेवामुखी भावबाट सुरु गरेकी थिइन् । विशेषगरी रौतहट जस्तो जिल्लामा महिला स्वास्थ्य र प्रजनन् स्वास्थ्यका क्षेत्रमा उनले पुर्याएको योगदानलाई स्थानीय तहमा निकै प्रशंसा गरिने गौरका समाजसेवी मोहन यादवले सुनाए ।
२०७८ सालमा कांग्रेसको सदस्यता लिएर उनी सक्रिय राजनीतिमा होमिएकी हुन् । उनका बुवा शेख नसिम अख्तर पनि वीरगन्जमा कांग्रेसका पुराना नेता हुन् । बुवाकै प्रेरणाले आफू राजनीतिमा आएको उनले बताइन् । वीरगन्जमा जन्मिएकी उनले वीरगन्जकै मिनिल्याण्ड स्कुलबाट एसएलसी, हरिखेतान कलेजबाट आईएस्सी र बंगलादेशबाट एमबीबीएस गरेकी थिइन् । २०६५ सालमा गौरका चिकित्सक सरफराज एकवालसित उनको विवाह भएको थियो ।
डा. खातुनले संघीय संसद सदस्यको रुपमा जिम्मेवारी सम्हाल्दै अगामी दिनमा मधेशका मुद्दालाई सदनमा उठाउने बताइन् । मुस्लिम समुदाय र मधेशी महिलाको प्रतिनिधित्व गर्दै उनले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिँदै आएकी छिन् ।
गौर नगरपालिका र समग्र रौतहटको विकासका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिनुपर्ने मुख्य एजेण्डा रहेको बताइन् । डा. खातुन मिलनसार र बौद्धिक व्यक्तित्व भएको उनकी सहकर्मी डा. यस्मिता सिहले बताइन् । ‘मुस्लिम समुदायबाट उच्च शिक्षा हासिल गरी नीति निर्माण तहसम्म पुग्नु आफैमा चुनौतीपूर्ण रहे पनि उनले त्यसलाई चिर्दै एक सफल महिला नेतृत्वको पहिचान बनाएकी छिन्,’ उनले भनिन्,‘अब स्वास्थ्य क्षेत्रमा उनले धेरै काम गर्न सक्छिन् । सहकर्मी माननीय भएको देख्दा हामीलाई निकै खुसी लागेको छ ।’
