रास्वपा र उज्यालो नेपालको सहमति १२ दिनमै भंग

सहमति तोडिएको केही घण्टामै घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई संरक्षक बनाइएको छ । 

पुस २७, २०८२

जयसिंह महरा

The agreement between the Rashtriya Swayamsevak Sangh (RSS) and Ujjaya Nepal was broken within 12 days

What you should know

काठमाडौँ — कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति १२ दिनमै भंग छ । १४ पुसको पार्टी एकताको सहमति तोडिनुमा दुवैले एकअर्कालाई दोषी भएको आरोप लगाएका छन् । सहमति तोडिएको केही घण्टामै घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई संरक्षक बनाइएको छ । 

रास्वपा सभापति रवि लामिछाने र सहमति अनुसार उपसभापति बनाइएका कुलमानबीच शुक्रबार र शनिबार निरन्तर छलफल भएको थियो । दुई दिनको छलफलपछि एकअर्काका कारण एकताबद्ध भएर जान नसकिने भन्दै रास्वपा र उज्यालो नेपाल अलग भएका हुन् ।

भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी विद्रोहको मर्मलाई आत्मसात् गर्दै आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, ‘मेरिटोक्रेसी’ को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहने जनाउँदै उनीहरूबीच सातबुँदे सहमति भएको थियो । सहमतिमा उज्यालो नेपालका नेताहरूले एकतापछि पार्टीका रूपमा रास्वपालाई नै स्वीकार गर्ने, चुनाव चिह्न र झन्डा पनि उसकै हुने उल्लेख थियो । 

‘रास्वपा सभापतिमा रवि लामिछाने रहने तथा उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन्,’ सहमतिपत्रमा उल्लेख थियो, ‘उज्यालो नेपालको अभियानलाई अपनत्व लिई रास्वपाको कर्यक्रमसँग जोड्दै एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिनेछ ।’ सम्झौतामा पार्टीसम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि भनिएको थियो ।

तर सम्झौताविपरीत घिसिङले बारम्बार माग बढाउँदै लैजान थालेपछि एक्लाएक्लै जाने अवस्था आएको रास्वपाको आरोप छ । ‘रास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्ने कुलमानको प्रस्ताव थियो,’ रास्वपाका एक नेताले भने, ‘प्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैंले चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका लागि निश्चित पदहरू अहिले नै टुंग्याउनुपर्नेजस्ता माग राखेपछि थप सहमतिका लागि अघि बढ्न सक्ने अवस्था रहेन ।’

सभापति लामिछानेले शनिबारै पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएका थिए । कुलमानसँगको एकता भंग भएको सम्बन्धमा जानकारी गराउन ‘भर्चुअल’ बसेको रास्वपाको सचिवालय बैठकमा लामिछानेले माग बढ्दै गएपछि एकताको सम्भावना सकिएको बताएका थिए ।

‘कुलमानले प्रत्येक दिन नयाँ–नयाँ कुरा ल्याउने गर्नुभयो, एउटा माग सम्पन्न गर्‍यो, भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्नेजस्ता माग ल्याउने काम कुलमानबाट भयो,’ लामिछानेले सचिवालय बैठकमा गरेको ब्रिफिङ उल्लेख गर्दै ती नेताले भने, ‘बालेनले केन्द्रीय समितिमा राख्ने मान्छेका नाम दिनुभयो, प्रक्रिया अगाडि बढ्यो । तर कुलमानले समानुपातिकमा नाम दिएपछि छुट्टाछुट्टै मान्छे मिलाउँला भन्ने । राम्रो मान्छे छ भने तेरोमेरो नभनी काम गरौं भन्दा भागबन्डा र पावरको कुरा मात्रै प्रधान बनाउनुभयो ।’

रविलाई पार्टी, बालेनलाई सरकार र कुलमानलाई भौतिक पूर्वाधारलगायत कामको जिम्मेवारी तोक्ने प्रस्ताव गर्दा नमानेको लामिछानेले बैठकमा बताएका थिए । ‘तीन नेतामा काम बाँडफाँटको कुरा गर्ने क्रममा रविले पार्टी सम्हाल्ने, बालेनले सरकार सम्हाल्ने सहमति भयो । कुलमानको विज्ञताअनुसारको भौतिक पूर्वाधारमा कायापलट गर्ने जिम्मेवारी तोकौं भन्दा नमान्ने । म के र कहाँ हुन्छु भन्ने कुरा गरिरहेपछि सहमति बनेन,’ लामिछानेको ब्रिफिङ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।

रास्वपासँगको सहमति भंग भएसँगै उज्यालो नेपालको शनिबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले घिसिङलाई अध्यक्ष बनायो । बैठकले सहमति रास्वपाले कार्यान्वयन नगरेको र एकतर्फी रूपमा भंग गरेको आरोप लगाएको छ । 

घिसिङले रास्वपाको पक्षबाट एकतर्फी रूपमा सहमति तोडिएको आरोप लगाए । ‘मैले प्रधानमन्त्री, पार्टी सभापति वा अन्य कुनै ठूलो पद मागेको थिइनँ, छिटो सहकार्यमा जाऊँ भन्ने कुरामा पनि रवि लामिछानेले लामो समय लिनुभयो, समानुपातिकमा पनि लामो समय लिनुभयो, समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं, लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एकतर्फी रूपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको हो, हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।’

सातबुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उनको आरोप छ । ‘संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्न आग्रह गरेकामा सुरुमा हुन्छ भने पनि पछि उहाँहरू सहमत हुनुभएन,’ घिसिङले भने । उज्यालो नेपाल पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा जाने पनि उनले बताए । 

‘हामी नयाँ शक्तिहरू एक हुन खोज्दाखोज्दै पनि हामीलाई जबर्जस्ती बाहिर राखियो, यस्तो अवस्थामा हामी एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ घिसिङले भने, ‘नेपाली जनताको माग, चाहना, हाम्रो त्यागलाई कमजोरीका रूपमा लिनुभयो र सहमति भंग गर्नुभयो । यो अवस्था आउँछ भन्ने लागेको थिएन । यो १२ दिन ठूलो बिलखबन्द र अन्योलपूर्ण परिस्थिति रह्यो । उहाँहरू अगाडि बढ्न नदिने, पछाडि जाऊँ भने अप्ठ्यारो स्थिति रहयो ।’

रास्वपाका नेताहरूले आफूलाई अन्योलमा पारेको घिसिङको भनाइ छ । यस्तो अवस्थाले आफू मर्माहत भएको पनि उनले बताए । सुधन गुरुङलगायतका जेन–जी प्रतिनिधिले जबर्जस्ती गरेर रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहकहाँ लगेर सहमति गराएको आरोपसमेत घिसिङले लगाए । ‘सुधन गुरुङलगायतले जबर्जस्ती लगेर मिलेको हो, मिल्नुपर्छ भनेकाले समानुपातिक सूची बुझाउने अन्तिम चरणमा मिलेको हो,’ उनले भने, ‘शुक्रबार मात्रै सबै कुरा छोडेर रास्वपामा एकताबद्ध हुने निर्णय गर्‍यौं तर शनिबार रास्वपाले सहमति भंग गर्‍यो । अब देशभरि पार्टीले अभियान चलाउँछ र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछ ।’ नयाँ राजनीतिक शक्तिसँग मिलेर अगाडि बढ्न पनि आफू तयार रहेको उनले बताए । 

१४ पुसमा उज्यालो नेपालले प्रतिनिधिसभा सदस्यको बन्दसूची छुट्टै बुझाउने तयारी गरेको थियो । रास्वपासँग सहमतिपछि तयार पारिएको बन्दसूची बुझाइएन । त्यसपछि रास्वपाको बन्दसूचीमा उज्यालो नेपालका १८ जनाको नाम राखिएको छ । त्यसमा १४ जना मात्र उम्मेदवार बन्न योग्य भएका थिए । उनीहरूको क्रम संख्या पछाडि पारिएको भन्दै घिसिङ असन्तुष्ट थिए । आफ्नो पक्षबाट समानुपातिक सूचीमा रहेकाहरूलाई रास्वपाले हटाइसकेको जानकारी प्राप्त भएको घिसिङले बताए । 

पार्टीमा असन्तुष्टि बढ्दै गएपछि एक्लै समानुपातिक सूची बुझाउने प्रयास पनि घिसिङ पक्षले गरेको थियो तर आयोगले कानुनले नमिल्ने भन्दै अस्वीकार गरेको थियो । समानुपातिकमा कहाँ भोट हाल्ने भन्ने व्यवस्थापन गर्ने घिसिङले बताएका छन् । जसरी पनि समानुपातिकमा कहाँ भोट हाल्ने भनी व्यवस्थापन गर्ने उनको भनाइ थियो । अब प्रत्यक्षमा मात्रै भए पनि चुनाव लड्ने उनले बताए ।

घिसिङले रास्वपामा आफ्ना पक्षका केन्द्रीय सदस्य कति हुने भन्नेमा पनि बार्गेनिङ गरिरहेका थिए । उनले कम्तीमा २० केन्द्रीय सदस्य मागेका थिए तर लामिछानेले ८ देखि १२ मात्र दिन सकिने बताएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री रहेका घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका थिए । त्यसपछि पत्रकार सम्मेलनमा पनि घिसिङले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउने बताएका थिए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully