काठमाडौंको दृष्टिमा कर्णाली अझै 'दूर' छ । त्योभन्दा पनि पर छ यहाँका महिला र सीमान्तकृत समुदायमाथि हुने व्यवहार । यिनै मुद्दालाई लिएर उनी आवाज उठाउँदै आएकी थिइन् ।
What you should know
काठमाडौँ — सुर्खेत बाँबियाचौरको चत्तुरेमा जन्मे, हुर्केकी राधिका रम्तेल अब सदनमा देखिने छिन् । सामान्य श्रम गरेर हातमुख जोर्ने पारिवारिक पृष्ठभूमिकी राधिकाले अब सिंगो कर्णालीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदनमा सीमान्तकृत समुदायको आवाज पुर्याउने छिन् ।
काठमाडौंको दृष्टिमा कर्णाली अझै 'दूर' छ । त्योभन्दा पनि निकै पर छ यहाँका महिला र सीमान्तकृत समुदायमाथि हुने व्यवहार । यिनै मुद्दालाई लिएर उनी आवाज उठाउँदै आएकी थिइन् । सांसद बनेपछि अब उनी आफै ती मुद्दाको जवाफ दिने र समाधान गर्ने ठाउँमा पुगेकी छन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक तर्फको दलित क्लष्टरबाट सांसद बनेकी हुन् ।
कर्णालीकी महिला, त्यसमाथि पनि दलित समुदायकी राधिका सांसद बनेपछि धेरैले शुभेच्छा प्रकट गरिरहेका छन् । ‘कर्णालीका महिलाको लागि ‘सिंहदरबार’को राजनीतिसम्म पुग्न कठिन छ,’ अधिवक्ता गीता कोइराला भन्छिन्, ‘आर्थिक, सामाजिक, सांस्कृतिकलगायत कारणले पछि पारिएका यहाँका महिलामध्ये एकजना महिला देशको सदनसम्म पुग्नु हाम्रो लागि गर्वको कुरा हो ।’
अब उनले कर्णालीका महिलासहित सीमान्तकृत वर्गले भोग्दै आएका मुद्दा देशको राजधानीलाई सुनाउनु पर्ने उनको भनाइ छ ।
राधिकाको न कुनै ठूलो राजनीतिक विरासत थियो न त उनी चर्चामै थिइन् । सामान्य परिवारकी उनी २०५९ सालदेखि स्थानीय स्तरमै महिला र दलित समुदायका महिलाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएकी थिइन् ।
समाजको लागि केहि गरौं भन्ने सोचका साथ उनी विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरिरहेकी थिइन् । अब पनि उक्त सोचलाई नछोड्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘मैले गर्ने काम उहि हो, जिम्मेवारी मात्रै फेरिएको महसुस गरेकी छु । काम गर्ने शैली र तरिका फेरिएको मात्रै हो ।’
२०३९ सालमा सुर्खेतको बाँबियाचौरमा जन्मिएकी राधिका ७ भाइ बहिनीमध्येकी माइली हुन् । बाल्यकाल उनले अभावमा मात्रै बिताउनु परेन बालविवाह समेत भोग्नु पर्यो । दैलेख नारायण नगरपालिमा–१ मा बिहे गरेकी उनले एसएलसीसम्म मात्र अध्ययन गर्न पाइन् । बिहेपछि छोरी मान्छे पढ्न हुँदैन भन्ने परम्परागत मान्यताका कारण एलएलसीमाथि अध्ययन गर्न सकिनन् ।
उनी अहिले वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आएकी छन् । रोजगारी गरेर आत्मनिर्भर बन्ने सोच बनेपछि सीमान्तकृत वर्गको लागि काम गर्ने संस्थाहरूमा आबद्ध भइन् । महिला शसक्तिकरण मञ्च, दलित सेवा संघलगायतमा काम गरेको उनीसँग अनुभव छ ।
राधिका खुलेर कुनै पनि पार्टीमा नलागेको बताउँछिन् । उनले भनिन्, ‘म राजनीतिक पृष्ठभूमिको मान्छे हैन । जसले राम्रो काम गर्छ, उसैलाई भोट हाल्नुपर्छ भन्दै आएकी थिए । यसअघिसम्म म भोटर मात्र थिए । यो यात्राको कल्पना पनि थिइन । सांसद बन्दा खुशी नलाग्ने कुरै भएन ।’
४३ वर्षीया राधिकाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई सामाजिक सञ्जालबाट पछ्याउँदै आएकी थिइन् । उनलाई हर्कको श्रम गर्ने सिद्धान्त मन पर्दै गएको थियो । सबैलाई समान व्यवहार गर्ने, सीमान्तकृत वर्गको आवाज बोल्ने मान्छेको रूपमा उनले हर्कलाई लिएकी थिइन् । कामलाई ठूलोसानो नभनेर धरान उपमाहानगरको मेयर भएपछि पनि सामान्य जीवनशैलीमा काममा खटिने उनको व्यवहार उनलाई राम्रो लागेको बताइन् ।
केहि महिनाअघि हर्कले खोलेको श्रम संस्कृति पार्टीमा कर्णालीबाट उनले पनि जोडिने सोच बनाएर खोजी गरिन् र जोडिइन् । प्रतिनिधिसभा निर्वाचनमा उनलाई पार्टी नेतृत्वले महिला दलित क्लष्टरबाट सदनमा पठाउने निर्णय गर्यो ।
प्रत्यक्षमा ७ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सिट पाएको छ । देशभरबाट ३ लाख ३० हजार ६८४ मत समानुपातिकतर्फ ल्याएको श्रम संस्कृति पार्टीले कर्णालीबाट ४ हजार ६५७ मत ल्यायो ।
दलित महिला संघ सुर्खेतकी सचिव खगिसरा वली कर्णालीबाट प्रतिनिधित्व गरेर एकजना सामान्य महिला संसद्सम्म पुग्नुलाई निकै सकारात्मक रूपमा लिन्छिन् । उनले भनिन्, ‘समाजको लागि काम गर्दै आएको, समाजका समस्या बुझेको महिला सदनसम्म पुग्नु ठूलो कुरा हो । पार्टी जुनसुकै भए पनि महिलाले अवसर पाउनु भयो । उहाँ नेतृत्व तहमा पुग्नु भयो । यो खुशीको कुरा हो ।’
श्रम संस्कृतिले श्रमिक, किसान, महिला, दलित, पिछडिएका समुदायको अधिकारको लागि कुरा गर्ने र आफू पनि यहि परिवेशबाट आएकाले जोडिएको राधिकाले बताइन् । पार्टी खुल्नासाथ कर्णालीको टिममा जोडिएर काम गर्न थालेको उनको भनाइ छ ।
पर्टी निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम कर्णालीबाट १ नम्बरमा थियो । कर्णालीबाट पार्टीलाई धेरै भोट नआएपछि सांसद बन्ने सम्भावना कम देखेको राधिकाले बताइन । यद्यपि, उनले आश मारेकी भने थिइनन् । नभन्दै पार्टीले कर्णालीलाई छुटाएन । पार्टीबाट सदनसम्म पुगे पनि अब कर्णालीको आवाज बोल्ने उनी बताउँछिन् ।
स्वास्थ्य, शिक्षा, रोजगारी, सडक पूर्वाधारलगायत आधारभूत कुराहरूमै पछि परेको कर्णालीका समस्याहरू सदनसम्म पुगाउने सोच बनाएको उनले सुनाइन् । विषेशगरी यहाँका सीमात्कृत वर्गको लागि संसदसम्म आवाज पुगाउने जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ ।
यहाँको परिवेश बुझेकोले आफूलाई यहाँका मुद्दा केन्द्रीय राजनीतिमा सहजै पुर्याउन सक्छु जस्तो लागेको उनी बताउँछिन् । कर्णालीका समस्यासँगै यहाँका अवसरबारे पनि सदनमा कुरा उठाउने उनको भनाइ छ ।
