‘जेनजी आन्दोलनलाई नजिकबाट देखेँ र मलाई पनि परिवर्तनका पक्षमा लाग्नु पर्छ भन्ने चेतना खुल्यो,’ उनले भनिन्, ‘म आफैं सक्रिय भएर रास्वपाको सदस्यता लिएकी हुँ । रास्वपाको समानुपातिक सांसदमा नाम लेखाएर प्रि–इलेक्सन पनि लडेकी हुँ ।’
What you should know
नवलपरासी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद हुन सफल अमृता विक खासमा सुनचाँदी व्यवसायमा रमाएकी एक सफल महिला उद्यमी हुन् ।
विगत २५ वर्षदेखि उनले रूपन्देहीको बुटवलस्थित अमरपथमा रम्भादेवी सुनचाँदी पसल सञ्चालन गरेकी छन् । पूर्वी नवलपरासीको अरुणखोला र रूपन्देहीको बुटवलमा उनको घर–जग्गा छ । दुवैतिर बसोवास रहे पनि सुनचाँदीको व्यापार व्यवसाय भने बुटवलको अमरपथमा छ ।
‘मैले २५ वर्षदेखि यो पसल सम्हाल्दै आएकी छु,’ रास्वपाबाट संसदमा चुनिएका नवागन्तुक प्रतिनिधिसभा सदस्यहरूका लागि ललितपुरको ग्वार्कोको आयोजित प्रशिक्षणमा सहभागी भएर फर्किएपछि अमृताले भनिन्, ‘म सुनचाँदी महिला व्यवसायी भनेर पनि चिनिन्छु । व्यवसाय विस्तारका क्रममा हामीले नेपालबाहिर दुबईमा पनि व्यापार विस्तार गरेका छौं ।’ अमृताका अनुसार नेपालबाहिर दुबईमा उनको जेसिका ज्वैलर्स नामको सुनचाँदी पसल छ । ‘हामी पुर्ख्यौली पेसा–व्यवसायमै जोडिएका छौं र त्यसमा सफल पनि छौं जस्तो लाग्छ,’ उनले भनिन्, ‘तसर्थ हाम्रो मुख्य पेसा यही हो । राजनीति थिएन ।’
माइती र आफ्नो घर–परिवारमा बाबु र सुसुरा एमालेको राजनीतिमा सक्रिय रहेको उनले सुनाइन् । ‘उहाँहरूलाई हेरेरै मेरो पनि राजनीतिमा रुचि बढ्दै गएको हो,’ उनले भनिन्, ‘तर, त्यो पार्टीमा भने कहिल्यै कुनै जिम्मेवारीमा रहेर काम गरेकी छैन ।’ राजनीतिका कुरा घर–परिवारमा चल्दा रुचिका साथ लिने उनले त्यही रुचिका कारण आज सांसदको जिम्मेवारीमा पुगेको पनि सुनाइन् ।
सामाजिक संघसंस्थासँग उनको पहिलो साइनो लायन्स क्लबमार्फत लाइन्स क्लब अफ इन्टरनेसनल ३२५ बीमा सिनियर डिस्ट्रिक एडभाइजर भएर काम गरेपछि जोडिएको हो । ‘लायन्समार्फत सामाजिक काममा जोडिएकी छु,’ उनले भनिन्, ‘यसरी एउटा काम गर्ने भावना भएको सर्कलमा आबद्ध भएकामा गर्व पनि लाग्छ ।’ एक वर्षअघि मात्रै आफूले रास्वपाको सदस्यता लिएको उनले बताइन् ।
‘जेनजी आन्दोलनलाई नजिकबाट देखेँ र मलाई पनि परिवर्तनका पक्षमा लाग्नु पर्छ भन्ने चेतना खुल्यो,’ उनले भनिन्, ‘म आफैं सक्रिय भएर रास्वपाको सदस्यता लिएकी हुँ । रास्वपाको समानुपातिक सांसदमा नाम लेखाएर प्रि–इलेक्सन पनि लडेकी हुँ ।’
रास्वपामा जोडिनुमा आफ्नै रुचि भएको उनले सुनाइन् । ‘यसमा लाग्न कसैले प्रेरित गरेको होइन । म आफैँ जोडिएकी हुँ,’ उनले भनिन्, ‘देश र जनताका पक्षमा काम गर्न पर्छ भनेर मनमा लाग्यो अनि रास्वपामा जोडिएँ ।’ राजनीतिबाट मात्र परिवर्तन सम्भव छ र त्यो हाम्रै पालामा हुनुपर्छ भन्ने लागेर रास्वपा प्रवेश गरेको उनको भनाइ छ ।
आफू दलित क्लस्टरबाट समानुपातिकतर्फ सांसद चुनिएको र अब दबिएका आवाजहरू बुलन्द गर्ने सोचाइ राखेको उनले सुनाइन् ।
संसदमा झण्डै दुईतिहाइ सदस्य संख्या रहेको रास्वपाका कारण देशभरि एउटा उत्साह पलाएको उनले सुनाइन् । विभिन्न विषयविज्ञ र अन्य पार्टीको राजनीति गरेर खारिएर आएका अनुभवी साथीहरूको सम्मिश्रण रास्वपामा भएको उनको अनुभव छ । ‘अनुभव र विद्वताले हामीले हरेक दिन सकारात्मक र उत्साह जगाउने काम गर्ने छौं,’ ४० वर्षीया अमृताले भनिन्, ‘जनताको आशा र आकांक्षा यो दलले अवश्य पनि पूरा गर्ने मलाई ठूलो विश्वास छ ।’
२०५७ सालमा अमृताले पूर्वी नवलपरासीको अरुणखोलास्थित एक निजी बोर्डिङ स्कुलमा अध्यापनसमेत गरेकी थिइन् ।
