विद्यार्थी राजनीतिबाट उदाएकी उनले छोटो समयमै राजनीतिमा छलाङ मारिन् । यसवर्ष उनलाई दोहोरो उपलव्धी भयो, पहिला केन्द्रीय सदस्य अहिले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य ।
What you should know
विराटनगर — नेकपा एमालेको ११ औं महाधिवेशनबाट ४० वर्षमूनिका तीन दर्जनभन्दा बढी युवा केन्द्रीय कमिटीमा समेटिए । तीमध्ये एक थिइन्, झापाकी नीता घतानी । तिनै घतानीका पाइला अब सदनतिर लम्किएका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएकी उनले छोटो समयमै राजनीतिमा छलाङ मारिन् । यसवर्ष उनलाई दोहोरो उपलव्धी भयो, पहिला केन्द्रीय सदस्य अहिले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य ।
एमालेले समानुपातिक बन्द सूचीको दोस्रो नम्बरमा घतानीको नाम राखेको थियो । गत शनिबार एमाले सचिवालय बैठकले घतानीसहितका १६ सांसदको नाम टुंग्याएको थियो । उनलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।
पुस पहिलो साता सम्पन्न पार्टीको महाधिवेशनमा देशभरबाट छानिएका २ हजार २ सय ६३ प्रतिनिधिले घतानीलाई केन्द्रीय सदस्यमा चुने । महाधिवेशन प्रतिनिधि छनोटकै चरणमा ‘झण्डै छुटेकी’ उनी अन्ततः केन्द्रीय कमिटी जितेर झापा फर्किइन् । त्यसको केही सातामै बसेको एमालेको पहिलो सचिवालय बैठकले उनलाई दलित क्लस्टरबाट समानुपातिक उम्मेदवारको बन्द सूचीमा समेट्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई दलितको रुपमा मात्रै हैन, महिला र युवाको प्रतिनिधिको रुपमा पनि अघि सारेको एमालेकै नेताहरु बताउँछन् । ओलीले तयार गरेको सूचीमा उनको नाम परेपछि पार्टीभित्र बाहिर पनि उनको चर्चा भएको थियो । ‘पाएको जिम्मेवारी इमानदारीका साथ पूरा गरेकै कारण संगठनले विश्वास गरेको हो,’ घतानीले फोनमा भनिन्, ‘अब पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ वहन गर्नेछु ।’
दलित समुदायबाट पार्टीको केन्द्रीय नेतृत्वमा पुग्नु र सांसद बन्नु उनको राजनीतिक यात्राको कोसेढुंगा नै हो ।
कम्युनिस्ट चेतनाले भरिएको परिवारमा हुर्किएकी घतानी २०६७ सालमा एमालेको वडा कमिटी हुँदै संगठित राजनीतिमा प्रवेश गरेकी थिइन् । २०७२ मा उनी बिर्तामोड नगर कमिटी सदस्य बनिन् । २०७४ को स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यका रूपमा निर्वाचित हुँदा उनले राजनीति व्यवहारमै बुझ्ने अवसर पाइन् । ‘जनप्रतिनिधि हुँदा समाज बुझ्ने र राजनीति सिक्ने ठूलो अवसर मिल्यो,’ उनी भन्छिन्, ‘त्यसले आत्मविश्वास मात्रै होइन, थप ऊर्जा पनि दियो ।’
नेकपा कालमा जिल्ला कमिटी सदस्य हुँदै विद्यार्थी इन्चार्जको जिम्मेवारी सम्हालिन् । २०८० मा एमाले कोशी प्रदेश कमिटीको निर्वाचनबाट सदस्य निर्वाचित भई विद्यार्थी फाँटको इन्चार्ज बनिन् । संगठनमा निरन्तर सक्रियता र जिम्मेवारी निर्वाहकै आधारमा उनी केन्द्रीय नेतृत्वसम्म आइपुगेकी हुन् ।
२०७९ फागुनमा भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य पराजित हुनु उनको पहिलो राजनीतिक हार थियो । तर, त्यो हारलाई उनले विराम होइन, पाठ बनाइन् । ‘त्यो हारले मलाई धेरै कुरा सिकायो,’ उनी भन्छिन्, ‘हरेस नखाई संगठनमै निरन्तर लागिरहेँ ।’
जेन–जी आन्दोलनको प्रभावले मात्र एमालेले युवालाई अवसर दिएको भन्ने भाष्यलाई उनी अस्वीकार गर्छिन् । अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गरेर नवपुस्तालाई नेतृत्वमा ल्याउने निर्णय त्यसको प्रमाण भएको उनको तर्क छ । ‘११औं महाधिवेशनपछि मात्रै युवालाई अवसर दिइयो भन्ने सही होइन,’ उनी भन्छिन्, ‘एमालेले युवालाई सधैं नेतृत्वमा ल्याउँदै आएको छ ।’
केन्द्रीय कमिटी सदस्यका रूपमा उनी युवा, महिला र दलितका मुद्दा सक्रिय रूपमा उठाउने बताउँछिन् । सांसद बनेपछि मुख्यतः यी तीन क्षेत्रमा केन्द्रित भएर काम गर्ने उनको योजना छ । विशेषगरी शिक्षा क्षेत्रमा दलित समुदायको समान पहुँच उनको प्रमुख एजेन्डा हो । सरकारी विद्यालयभित्रै अंग्रेजी र नेपाली माध्यमका नाममा हुने विभेद अन्त्य हुनुपर्ने उनको जोड छ । ‘कमजोर समुदायबाट आएका विद्यार्थीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ,’ उनी भन्छिन्, ‘नीतिगत तहमा पुगेर समान शिक्षा पाउने नागरिकको हकका लागि आवाज उठाउँछु ।’
समानुपातिक सांसदका अन्य प्रोफाइलहरु:
