कांग्रेसमा आस्था राखेकै कारण त्यतिबेला माओवादी कार्यकर्ताले उनको घर लुटपाट गरे । माओवादीले सशस्त्र युद्ध सुरु गरेपछि शिक्षण छाडेर राजनीति र सामाजिक काममा संलग्न भए । ०१४ चैत ७ मा कालीकोटको नरहरिनाथ–५ रुप्सामा जन्मिएका कालीबहादुर सहकारीलाई कांग्रेसले यतिबेला पिछडिएको क्षेत्रबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य बनाएको छ ।
What you should know
कालीकोट — १९ वर्ष शिक्षण पेशामा बिताएका कालीकोटको रुप्साका कालीबहादुर सहकारी ०५२ फागुनमा माओवादीले सशस्त्र युद्ध सुरु गरेपछि राजनीतिमा होमिए ।
द्वन्द्वको त्रासले ०५२ चैत ३० मा जनता माविको शिक्षकबाट राजीनामा दिएर सदरमुकाम मान्म विस्थापित भए। कांग्रेसमा आस्था राखेकैले उनी माओवादीबाट असुरक्षित भए । त्यतिबेला माओवादी कार्यकर्ताले उनको घर पनि लुटपाट गरे । शिक्षण पेशा छाडेपछि उनी निरन्तर राजनीति र सामाजिक काममा संलग्न रहेका थिए । १९ वर्षको उमेरदेखि शिक्षक बनेर १९ वर्षसम्म नरहरिनाथ–५ स्थित जनता माविमा बिताए । ०१४ चैत ७ मा नरहरिनाथ–५ रुप्सामा जन्मिएका कालीबहादुरलाई कांग्रेसले यतिबेला पिछडिएको क्षेत्रबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य बनाएको छ ।
कालीकोट कांग्रेसले ०४८ मा तिलकप्रसाद न्यौपानेपछि हालसम्म प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर पाएको थिएन । कांग्रेस कर्णाली प्रदेश समिति उपसभापति रहेका सहकारी पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनेका हुन् । कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सहकारीको संसद छनोटले त्यागी नेताको पनि दिन आउने रहेछ भन्ने महशुष भएको प्रतिक्रिया दिए ।
०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा लागेका सहकारी ०४२ वैसाख २८ मा नेपाल विद्यार्थी संघको कार्यक्रममा सहभागी हुन भारतको बनारस पुगेका थिए । ०४६ को जनआन्दोलनमा सहभागी बनेका उनले ०५० मा ‘सन्त’नेता कृष्णप्रसाद भट्टराईबाट पार्टीको सदस्यता प्राप्त गरेका थिए । उनले ०४८ मा कांग्रेसको झापाको कलबलबुडीमा भएको आठौ महाधिवेशनमा शिक्षक नेताबाट पर्यवेक्षकको रुपमा सहभागिता जनाएका थिए । सहकारीका बुवा पुराना प्रधानपञ्च र गाउँका अगुवाका रुपमा चिनिन्छन् । उनका भाई मीनबहादुर कालीकोट कांग्रेसका जिल्ला उपसभापति हुन् ।
०३२ मा १८ वर्षको उमेरमा जुम्लाबाट एसएलसी दिएका सहकारी ०३३ वैसाख ११ मा मासिक १ सय ३५ रुपैयाँ पाउने गरी प्रावि तहको शिक्षक नियुक्त भएका थिए । ०४० देखि विद्यालयको प्रधानाध्यापक बनेका उनकै पहलमा ०४८ मा जनता प्रावि मावि बनेको हो । विद्यालयमा हुँदा असल सहजकर्ताको भूमिकामा रहेर समुदायको विश्वास जित्न सफल भएकाले विद्यालायको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षाका लागि काम गरेको शान्ति मावि माल्कोटका पूर्वप्रधानाध्यापक धनबहादुर बटाला बताउँछन् । ‘मिलनसार र इमान्दार समाजसेवीका रुपमा जिल्लामै चिनिन्छन् । निरन्तर राजनीति र समाजसेवामा लागेकाले पुराना नेताको सम्मान हुँदा खुसी छौं,’ बटालाले भने ।
०४८ मा नेपाल शिक्षक संघ कालीकोटको संस्थापक अध्यक्ष बनेका कालीबहादुरले ०३८ र ०४९ मा गरी दुई पटक शिक्षा पुरस्कार पाएका थिए । कालीकोटको पहिलो तिलाकर्णाली बहुमुखी क्याम्पस ताडीको संस्थापक सदस्य हुँदै दुई पटक जिल्ला जिल्ला शिक्षा समितिका सदस्य समेत बनेका थिए ।
०५० मा जिल्ला प्रशासन कालीकोटमा दर्ता भएको ग्रामीण विकास तथा पर्यावरण मञ्च (भिडिसेफ) नेपालका संस्थापक अध्यक्ष सहकारी कर्णाली यायातात व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । ०६० मा रेडक्रस कालीकोटको मन्त्री हुँदै ०६३ देखि ०६७ सम्म जिल्ला सभापति भएका सहकारीकै पालामा कालीकोटमा रेडक्रसले एम्बुलेन्स संचालन, विपद् व्यवस्थापनसहित खानेपानी, विद्यालय भवन, सिँचाइ कुलो, बाटो निर्माणलगायतका सामुदायिक विकासको काम सुरुवात गरेको थियो ।
०५३ असोजमा सम्पन्न कांग्रेस कालीकोटको अधिवेशनबाट सचिव निर्वाचित उनी ०५५ मा कालीकोट जिविस सभापति लड्दा राप्रपा र एमाले गठबन्धनबाट ६ मतले पराजित भए । ०५८ देखि ०७२ सम्म कांग्रेस कालीकोटका सभापति रहेका सहकारी कांग्रेस विभाजनको बेला देउवा पक्षमा लागेका थिए । १२ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका प्रस्तावक बनेका सहकारी हाल गगन थापा पक्षमा लागेका छन् ।
०५१ को मध्यावधि, ०५६ को आम निर्वाचन, ०६४ को पहिलो संविधानसभा र ०७० दोस्रो संविधानसभा चुनावमा कालीकोटबाट सांसदका लागि सिफारिस भएका सहकारी ०७४ को प्रदेशसभामा एमाले–माओवादी गठबन्धनका महेन्द्रबहादुर शाहीसँग प्रतिष्पर्धा गर्दा २ हजार ५ सय मतान्तरले पराजित भएका थिए । यस पटकले पार्टीले न्याय गरेको उनको भनाई छ । ‘निरन्तर लागिरहे अवसर पाइने रहेछ । राजनीतिमा निष्ठा, धैर्यता र इमान्दारीताको मूल्यांकन हुने रहेछ भन्ने महसुस भएको छ,’ सहकारीले भने ।
नीति निर्माणको सर्वोच्च थलो संसदमा पुगेर कर्णाली मैत्री नीति बनाउन भूमिका खेल्ने उनको योजना छ । ‘कर्णालीलाई जल, जंगल, जडीबुटीसहित पर्यटनको हब बनाउन सकिन्छ । संसदमा यही विषयमा आवाज उठाउने छु,’ उनले भने, ‘कर्णाली सडकलगायतका पूर्वाधारको क्षेत्रमा पनि पछि परेकाले त्यसतर्फ पैरवी गर्छु।’
समानुपातिक सांसदका अन्य प्रोफाइलहरु:
टुकाभद्र हमाल : भूमिगत संघर्षदेखि सांसदसम्म
पराजयको घाउदेखि ‘माननीय’को यात्रा
पर्वतारोहणमा कीर्तिमान बनाएका मिङ्मा ग्याबुको संसद यात्रा
रीमा विश्वकर्मा : कलाकारिताको घुम्ती हुँदै संसदसम्मको यात्रा
राधिकाले अब संसद्मा बोल्नेछिन् कर्णालीका महिला र सीमान्कृतको आवाज
‘जनयुद्ध’ का ‘रोलमोडल’ थापा पुन: संसद्मा
कैदीबन्दीलाई फुटबल खेलाएर चर्चित खुश्बुको संसद् यात्रा
