रचना खतिवडा : गृहणीदेखि सांसदसम्मको यात्रा

किराना पसलेदेखि जेन-जी आन्दोलनमा छोराको बलिदान र सडक संघर्ष हुँदै रचना खतिवडा आज संसद्मा‍ न्यायका निम्ति बुलन्द आवाज बनेकी छिन् ।

चैत्र ५, २०८२

समर्पण श्री

Rachana Khatiwada: Journey from housewife to MP

What you should know

काठमाडौँ — गत बुधबार रास्वपाका निर्वाचित सांसदहरूलाई ललितपुरको ग्वार्कोमा अभिमुखीकरण दिने क्रममा पार्टी सभापति रवि लामिछानेले सचेत गराउँदै भनेका थिए, ‘यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला । कुनै पनि विचौलियासँग साँठगाँठ र एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुड्को पानी खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनुहोला । आफ्नो छोरो चढाएर संसद् छिरेकी छिन् सहिदकी आमा । यो सामान्य कुरा हैन ।’

रविले लक्षित गरेका सहिदकी आमा हुन्– रचना खतिवडा । जसले भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् । रचना रास्वपाको समानुपातिक तर्फबाट सांसदमा मनोनीत भएकी थिइन् ।

रवि जतिबेला सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै जेन–जी आन्दोलनका सहिद परिवारलाई भेट्न बबरमहल पुगेका थिए । रविसँग आफ्नो कारुणिक कथा सुनाउँदै गर्दा रचना भक्कानिएकी थिइन् । रचनाको कथाले द्रविभूत देखिएका रविका आँखा पनि त्यतिबेला टिल्पिलाएका थिए । रविले रचनालगायत सहिद परिवारलाई न्याय दिने वाचा पनि गरेका थिए । उनै रविको सिफारिसमा रचना रास्वपा समानुपातिक बन्दसूचीको खस–आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा सूचीबद्ध भएकी थिइन् ।

सांसदमा मनोनीत भएर दुई दिनको प्रशिक्षण कार्यक्रममा पुग्दा रचनाले सुदन गुरुङलाई अँगालो मार्दै भक्कानिँदै गरेको दृश्य सामाजिक सञ्जालमा धेरै प्रयोगकर्तासम्म पुगेको थियो । २३ गते प्रहरीको गोलीले ढलेका छोराको लाश देखेपछि रचना धेरै दिनसम्म अचेतझैं रहेकी थिइन् । ‘त्यो गाह्रो समयमा सुदन गुरुङले हामीलाई साथ दिनुभएको थियो । बाबुको अन्त्येष्टिको बेलामा पनि उहाँ हाम्रो साथ हुनुहुन्थ्यो,’ रचनाले केही समयअघि कान्तिपुरसँग भनेकी थिइन् । त्यसकारण पनि सुदनसँगको जम्काभेटमा उनी भावुक बनेकी थिइन् । 

Rachana Khatiwada: Journey from housewife to MP

गृहणीदेखि सांसदसम्म

रचनाको घर काभ्रेको पनौतीमा छ । अहिले रचनाको परिवार काठमाडौंस्थित टेकुमा बस्छ । आजभन्दा दुई दशकअघि रचनाको दैनिकी पनौतीमा खेती किसानीमै बित्थ्यो ।

श्रीमान् पुरुषोत्तम खतिवडा कामका सिलसिलामा काठमाडौं आए । रचनाले छोराछोरीलाई दु:खजिलो गरी हुर्काइरहेकी थिइन् । पछि दुई सन्तानसँगै रचना र पुरुषोत्तम काठमाडौं बस्न थाले । पुरुषोत्तम नेपाल टेलिकमका कर्मचारी थिए । उनी काठमाडौंबाहिर बढी रहन्थे । रचना भने दुई सन्तान रसिला र रसिक  (दिदी भाइ) हुर्काउँदै किराना पसल गर्न थालिन् ।

‘मैले २१ वर्ष किराना पसल गरेँ । हामी दुईले दु:ख गरेर कमाएको पैसाले घर बनायौँ, बाबुनानी हुर्कायौँ, पढायौँ,’  रचनाले सुनाएकी थिइन् । केही वर्षअघिमात्र रचनाले किराना पसल गर्न छाडेकी थिइन् । रचनाकी जेठी छोरी रसिला अस्ट्रेलियामा थिइन् । रसिक पनि अस्ट्रेलिया जाने तयारीमा थिए ।

‘त्यही क्रममा २३ गतेको आन्दोलनमा छोराले हामीलाई छाडेर गयो । चिया बनाउन दिउँसो आउँछु भनेको छोरा कहिल्यै फर्केर आएन,’ रचना जतिबेला पनि यो क्षण सम्झेर भक्कानिरहन्छिन् ।

रचनालाई राजनीतिप्रति कहिल्यै चासो थिएन । उनको आँखामा केवल सन्तान र उनीहरूको सपना मात्र थियो । ‘जब सन्तान नै राजनीतिक शक्तिमा रहेकाहरूले खोसिदिए । कोख रित्तियो । उसको न्यायका लागि भए पनि म अन्तिम श्वाससम्म पनि लडिरहन्छु,’ रचना भन्छिन् । 

जेन-जी आन्दोलनपछि रचना चेतमा होस् वा बेहोसीमा । चुप बसिनन् । काठमाडौंका सडकदेखि सिंहदरबार र बालुवाटारका गेट धाइरहिन् । आक्रोशमा प्रधानमन्त्री सुशीला कार्कीकै सामुन्ने औंला तेर्स्याइरहिन् ।

एकपटक प्रधानमन्त्री कार्कीसँगको भेट थियो । कार्की बोलिरहेकी थिइन् । उनी बोल्दाबोल्दै रचनाको सुन्ने धैर्य टुट्यो । उनले आवेगमा औँला ठड्याउँदै प्रधानमन्त्रीलाई भनिन्, ‘हजुर त देशको आमा हुनुहुन्छ । म पनि एउटी आमा हो । आमाले न्याय गर्नुहुन्छ भनेर आएकी । खै, न्याय दिनुभएको ?’ कार्कीले रचनालाई सम्हाल्दै आश्वासन दिएकी थिइन् , ‘नानी, म विस्तारै गर्छु । मौका दिनुहोस् ।’

सरकारसँग रचनाका गुनासा बाँकी थिए । सन्ताको हत्या गर्नेहरूलाई सजाय यो सरकारले दिन नसकेकोमा थप आक्रोशित थिइन् उनी । अब उनै रचना संसद्मा‍ पुगेकी छन् । रचना संसद्मा‍ आफू मात्रै नपुगेको बताउँछिन् ।

सहिद परिवार र घाइतेहरूको आवाज र सुस्केरा पनि सँगै रहेको दाबी गर्छिन् । मनोनीत हुनेबित्तिकै उनलाई खुसी लागेको कुरा थियो, ‘सडकमा बोलिरहेको सरकारले सुनेको थिएन । अब म संसद्मा‍ बोल्न पाउँछु ।’

अब उनले संसद्मा‍ विशेषगरी घाइते र जेन-जी सहिद परिवारको न्यायका निम्ति बलियो आवाज उठाउने वाचा गरेकी छन् । ‘म संसद्‌मा हत्याराहरूविरुद्ध आवाज उठाउँछु । मेरो अन्तिम श्वास रहुन्जेल छोराहरूलाई न्याय दिलाउन लागिपर्छु,’ उनी भन्छिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully