भूमिकाले २०३९ सालदेखि निरन्तर प्रगतिशील सांस्कृतिक अभियानमा जोडिएर आफूलाई जनवादी सांस्कृतिक आन्दोलनमा समाहित गरिन् । २०४६ को जनआन्दोलनसम्म आइपुग्दा उनी सांस्कृतिक अभियानको एक सशक्त आवाजका रूपमा स्थापित भइसकेकी थिइन् ।
What you should know
पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१ स्थायी घरभएकी भूमिका सुब्बा (नेम्वाङ) नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित उनी २०३९ सालदेखि गीत संगीतको अभियानमा सक्रिय थिइन् ।
२०२७ वैसाख ४ मा झापाको गौरादहमा जन्मिएकी उनी ११ वर्षको उमेरमै मेची सांस्कृतिक परिवारमा आबद्ध भएर नृत्य गर्न थालिन् । भूमिकाले २०३९ सालदेखि निरन्तर प्रगतिशील सांस्कृतिक अभियानमा जोडिएर आफूलाई जनवादी सांस्कृतिक आन्दोलनमा समाहित गरिन् । प्रारम्भिक चरणमा नृत्यमा केन्द्रित उनी विस्तारै गायनतर्फ मोडिइन् र २०४६ को जनआन्दोलनसम्म आइपुग्दा सांस्कृतिक अभियानको एक सशक्त आवाजका रूपमा स्थापित भइन् ।
उनको संगठनात्मक यात्रा २०४२ सालमा प्रगतिशील कलाकार मञ्चको सदस्यबाट सुरु भएको पाइन्छ । उनी २०४६ मा अनेरास्वयिुको सदस्य हुँदै २०६१ मा जन सांस्कृतिक मञ्चको केन्द्रीय सदस्यसम्मको जिम्वेवारीमा पुगिन् ।
२०६५ मा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालकी केन्द्रीय सदस्य बनेकी उनी २०६९ मा कोषाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज र २०७८ मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज बनिन् । हाल उनी राष्ट्रिय जनसांस्कृतिक महासंघकी केन्द्रीय अध्यक्ष हुन् ।
उनीसँग युवा संघ नेपालको केन्द्रीय सदस्य, पाँचथर–काठमाडौं सम्पर्क मञ्चको सदस्य, सांस्कृतिक विभाग प्रमुख र उपाध्यक्ष हुँदै सल्लाहकारसम्मको भूमिका निर्वाह गरेको अनुभव छ । हाल उनी एमाले कोशी प्रदेश कमिटी सदस्यका रूपमा पनि कार्यरत छिन् ।
२०४९ सालमा तत्कालीन सांसद वसन्तकुमार नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाधिएकी उनले गृहस्थ जीवनसँगै सामाजिक, राजनीतिक र सांस्कृतिक अभियानलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा आफूलाई स्थापित गरेकी हुन् । २०४८ देखि २०७९ सम्म निरन्तर पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका पति वसन्तकुमार नेम्वाङ २०८० साल माघदेखि विरामी अवस्थामा छन् ।
श्रीमान् विरामी परेपछि उनको स्याहार र चुलोचौको भ्याएरै गत मंसिरमा सम्पन्न एमालेको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य बनिन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी पारिवारिक जिम्वेवारीलाई व्यवस्थापन गर्दै प्रचारप्रसारमा सक्रिय थिइन् । उनी अहिले एमालेबाट समानुपातिक सूची मार्फत संघीय सांसदमा सिफारिस भएकी हुन् । २०४० को दशकमा उनले मेची जन सांस्कृतिक अभियान, काठमाडौं जन सांस्कृतिक परिवार, सिराहा जन संगीत मञ्च तथा कोशी अञ्चलका सांस्कृतिक अभियानमा सक्रिय सहभागिता जनाइन् ।
२०४६ को जनआन्दोलन र २०४८ को आम निर्वाचन हुँदै परिवर्तनका पक्षमा भएका सामाजिक तथा राजनीतिक आन्दोलनहरूमा उनले गीत–संगीतमार्फत योगदान दिइरहिन् । कुनै समय उनले मेची–महाकाली राष्ट्रिय सांस्कृतिक अभियानको नेतृत्वसमेत सम्हालेको अभिलेख भेटिन्छ ।
२०५० को दशमा उनको आवाजमा रेडियो नेपालमा रेकर्ड भएका ‘आएन दसैं आएन तिहार’, ‘मालिङ्गो साई साई’ जस्ता लोकगीत तथा ‘भूमिका’ शीर्षकको आधुनिक गीत र तीज भाकामा ‘संगिनी’ जस्ता गीत चर्चित थिए ।
२०६२–०६३ को जनआन्दोलनताका ‘हाम्रो स्वरहरू’, ‘गणतन्त्र ल्याउन’, ‘भेडेटार सरर’, ‘नरोए आमा’लगायतका गीतमा पनि उनले स्वर दिएकी थिइन् । गायनसँगै उनी गीत लेखनमा पनि सक्रिय रहिन् । उनले लेखेका ‘देश जल्दा’, ‘झुल्क्यो घाम’, ‘मेची–कोशी–महाकाली’, ‘हिउँचुलीको हिउँ खेले’, ‘जन्मेको त्यहीँ हुर्केको त्यहीँ’ जस्ता गीतहरू कुनै समय स्रोतामाझ लोकप्रिय बनेका थिए ।
उनले शिक्षा तथा खेलकुद मन्त्रालयका जनचेतनामूलक गीतमा पनि स्वर दिएकी छन् । उनले नेपाल, भारत र हङकङसम्मका मञ्चहरुमा सयभन्दा बढी प्रस्तुति दिँदै नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रस्तुत गरिसकेकी छन् ।
उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । हाल उनी विद्यावारिधि गर्ने प्रक्रियामा छन् । उनले जनता माध्यमिक विद्यालय गौरादहबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेपछि स्नातक र स्नातकोत्तर अध्ययनका लागि काठमाडौं गएकी हुन् । भूमिकाले सामाजिक तथा पेशागत जिम्मेवारी पनि सम्हालिसकेकी छन् । उनीसाग गैरसरकारी संस्था महासंघमा कार्यक्रम अधिकृतका रूपमा काम गरेको अनुभव छ ।
यस्तै, आदिवासी उत्थान केन्द्र तथा मानव अधिकारसम्बन्धी संस्थाहरूमा पनि काम गरेको अनुभव उनीसँग छ । उनले २०७० देखि २०७२ सम्म चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सदस्यका रूपमा कार्य गरिन् । लायन्स क्लबमार्फत सामाजिक क्षेक्रमा सत्रिय भएकी उनी ‘समृद्ध पाँचथर’ नामक संस्थाकी संस्थापक अध्यक्ष पनि हुन् । बाल कलाकारदेखि सुरु भएको भूमिकाको यात्रा अहिले संसद्सम्म आइपुगेको छ ।
‘पहिले गीत– संगीतमार्फत समाजको ऐना बन्ने प्रयास गरेँ, अब संसदीय अभ्यासमा पाइला चाल्दैछु । त्यहाँ रहेर नीति निर्माणसँगै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न निरन्तर लागिपर्ने छु । झण्डै चार दशक सडकबाट आवाजविहीनहरूको आवाज बनेर गुञ्जिएँ, अब त्यो बेला देखेका–भोगेका अनुभव संसद्मा प्रस्तुत गर्दै परिवर्तनको सारथी बन्ने योजना छ,’ उनले भनिन् ।
समानुपातिक सांसदका अन्य प्रोफाइलहरु:
टुकाभद्र हमाल : भूमिगत संघर्षदेखि सांसदसम्म
पराजयको घाउदेखि ‘माननीय’को यात्रा
पर्वतारोहणमा कीर्तिमान बनाएका मिङ्मा ग्याबुको संसद यात्रा
रीमा विश्वकर्मा : कलाकारिताको घुम्ती हुँदै संसदसम्मको यात्रा
राधिकाले अब संसद्मा बोल्नेछिन् कर्णालीका महिला र सीमान्कृतको आवाज
