भूमिका नेम्वाङः 'जनवादी' सांस्कृतिक अभियानदेखि संसद् सदस्य

भूमिकाले २०३९ सालदेखि निरन्तर प्रगतिशील सांस्कृतिक अभियानमा जोडिएर आफूलाई जनवादी सांस्कृतिक आन्दोलनमा समाहित गरिन् । २०४६ को जनआन्दोलनसम्म आइपुग्दा उनी सांस्कृतिक अभियानको एक सशक्त आवाजका रूपमा स्थापित भइसकेकी थिइन् ।

चैत्र ६, २०८२

लक्ष्मी गौतम

Bhumika Nembang: From 'democratic' cultural campaigner to member of parliament

What you should know

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१ स्थायी घरभएकी भूमिका सुब्बा (नेम्वाङ) नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित उनी २०३९ सालदेखि गीत संगीतको अभियानमा सक्रिय थिइन् ।

२०२७ वैसाख ४ मा झापाको गौरादहमा जन्मिएकी उनी ११ वर्षको उमेरमै मेची सांस्कृतिक परिवारमा आबद्ध भएर नृत्य गर्न थालिन् । भूमिकाले २०३९ सालदेखि निरन्तर प्रगतिशील सांस्कृतिक अभियानमा जोडिएर आफूलाई जनवादी सांस्कृतिक आन्दोलनमा समाहित गरिन् । प्रारम्भिक चरणमा नृत्यमा केन्द्रित उनी विस्तारै गायनतर्फ मोडिइन् र २०४६ को जनआन्दोलनसम्म आइपुग्दा सांस्कृतिक अभियानको एक सशक्त आवाजका रूपमा स्थापित भइन् ।

उनको संगठनात्मक यात्रा २०४२ सालमा प्रगतिशील कलाकार मञ्चको सदस्यबाट सुरु भएको पाइन्छ । उनी २०४६ मा अनेरास्वयिुको सदस्य हुँदै २०६१ मा जन सांस्कृतिक मञ्चको केन्द्रीय सदस्यसम्मको जिम्वेवारीमा पुगिन् । 

२०६५ मा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालकी केन्द्रीय सदस्य बनेकी उनी २०६९ मा कोषाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज र २०७८ मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज बनिन् । हाल उनी राष्ट्रिय जनसांस्कृतिक महासंघकी केन्द्रीय अध्यक्ष हुन् ।

उनीसँग युवा संघ नेपालको केन्द्रीय सदस्य, पाँचथर–काठमाडौं सम्पर्क मञ्चको सदस्य, सांस्कृतिक विभाग प्रमुख र उपाध्यक्ष हुँदै सल्लाहकारसम्मको भूमिका निर्वाह गरेको अनुभव छ । हाल उनी एमाले कोशी प्रदेश कमिटी सदस्यका रूपमा पनि कार्यरत छिन् ।

२०४९ सालमा तत्कालीन सांसद वसन्तकुमार नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाधिएकी उनले गृहस्थ जीवनसँगै सामाजिक, राजनीतिक र सांस्कृतिक अभियानलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा आफूलाई स्थापित गरेकी हुन् । २०४८ देखि २०७९ सम्म निरन्तर पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका पति वसन्तकुमार नेम्वाङ २०८० साल माघदेखि विरामी अवस्थामा छन् । 
श्रीमान् विरामी परेपछि उनको स्याहार र चुलोचौको भ्याएरै गत मंसिरमा सम्पन्न एमालेको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य बनिन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी पारिवारिक जिम्वेवारीलाई व्यवस्थापन गर्दै प्रचारप्रसारमा सक्रिय थिइन् । उनी अहिले एमालेबाट समानुपातिक सूची मार्फत संघीय सांसदमा सिफारिस भएकी हुन् । २०४० को दशकमा उनले मेची जन सांस्कृतिक अभियान, काठमाडौं जन सांस्कृतिक परिवार, सिराहा जन संगीत मञ्च तथा कोशी अञ्चलका सांस्कृतिक अभियानमा सक्रिय सहभागिता जनाइन् ।

२०४६ को जनआन्दोलन र २०४८ को आम निर्वाचन हुँदै परिवर्तनका पक्षमा भएका सामाजिक तथा राजनीतिक आन्दोलनहरूमा उनले गीत–संगीतमार्फत योगदान दिइरहिन् । कुनै समय उनले मेची–महाकाली राष्ट्रिय सांस्कृतिक अभियानको नेतृत्वसमेत सम्हालेको अभिलेख भेटिन्छ ।

२०५० को दशमा उनको आवाजमा रेडियो नेपालमा रेकर्ड भएका ‘आएन दसैं आएन तिहार’, ‘मालिङ्गो साई साई’ जस्ता लोकगीत तथा ‘भूमिका’ शीर्षकको आधुनिक गीत र तीज भाकामा ‘संगिनी’ जस्ता गीत चर्चित थिए ।

२०६२–०६३ को जनआन्दोलनताका ‘हाम्रो स्वरहरू’, ‘गणतन्त्र ल्याउन’, ‘भेडेटार सरर’, ‘नरोए आमा’लगायतका गीतमा पनि उनले स्वर दिएकी थिइन् । गायनसँगै उनी गीत लेखनमा पनि सक्रिय रहिन् । उनले लेखेका ‘देश जल्दा’, ‘झुल्क्यो घाम’, ‘मेची–कोशी–महाकाली’, ‘हिउँचुलीको हिउँ खेले’, ‘जन्मेको त्यहीँ हुर्केको त्यहीँ’ जस्ता गीतहरू कुनै समय स्रोतामाझ लोकप्रिय बनेका थिए ।

उनले शिक्षा तथा खेलकुद मन्त्रालयका जनचेतनामूलक गीतमा पनि स्वर दिएकी छन् । उनले नेपाल, भारत र हङकङसम्मका मञ्चहरुमा सयभन्दा बढी प्रस्तुति दिँदै नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रस्तुत गरिसकेकी छन् ।

उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । हाल उनी विद्यावारिधि गर्ने प्रक्रियामा छन् । उनले जनता माध्यमिक विद्यालय गौरादहबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेपछि स्नातक र स्नातकोत्तर अध्ययनका लागि काठमाडौं गएकी हुन् । भूमिकाले सामाजिक तथा पेशागत जिम्मेवारी पनि सम्हालिसकेकी छन् । उनीसाग गैरसरकारी संस्था महासंघमा कार्यक्रम अधिकृतका रूपमा काम गरेको अनुभव छ ।

यस्तै, आदिवासी उत्थान केन्द्र तथा मानव अधिकारसम्बन्धी संस्थाहरूमा पनि काम गरेको अनुभव उनीसँग छ । उनले २०७० देखि २०७२ सम्म चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सदस्यका रूपमा कार्य गरिन् । लायन्स क्लबमार्फत सामाजिक क्षेक्रमा सत्रिय भएकी उनी ‘समृद्ध पाँचथर’ नामक संस्थाकी संस्थापक अध्यक्ष पनि हुन् । बाल कलाकारदेखि सुरु भएको भूमिकाको यात्रा अहिले संसद्सम्म आइपुगेको छ । 

‘पहिले गीत– संगीतमार्फत समाजको ऐना बन्ने प्रयास गरेँ, अब संसदीय अभ्यासमा पाइला चाल्दैछु । त्यहाँ रहेर नीति निर्माणसँगै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न निरन्तर लागिपर्ने छु । झण्डै चार दशक सडकबाट आवाजविहीनहरूको आवाज बनेर गुञ्जिएँ, अब त्यो बेला देखेका–भोगेका अनुभव संसद्मा प्रस्तुत गर्दै परिवर्तनको सारथी बन्ने योजना छ,’ उनले भनिन् ।

समानुपातिक सांसदका अन्य प्रोफाइलहरु:  

टुकाभद्र हमाल : भूमिगत संघर्षदेखि सांसदसम्म

पराजयको घाउदेखि ‘माननीय’को यात्रा

पर्वतारोहणमा कीर्तिमान बनाएका मिङ्मा ग्याबुको संसद यात्रा

रीमा विश्वकर्मा : कलाकारिताको घुम्ती हुँदै संसदसम्मको यात्रा

राधिकाले अब संसद्‍मा बोल्नेछिन् कर्णालीका महिला र सीमान्कृतको आवाज

‘जनयुद्ध’ का ‘रोलमोडल’ थापा पुन: संसद्‍मा

कैदीबन्दीलाई फुटबल खेलाएर चर्चित खुश्बुको संसद् यात्रा

अमृता विक : सुनचाँदी व्यवसायबाट प्रतिनिधिसभामा फड्को

विद्यार्थी राजनीतिबाट आएकी नीताको संसद यात्रा

अन्तिम सूचीबाट सांसद बनेका मदनकृष्ण श्रेष्ठ

उद्यममा खारिएकी अग्रवाल अब संसदमा

साहित्य, संगीतबाट संसदीय यात्रामा मनमाया

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully