ढुक्कले सुटिङ गर्दै फिल्मकर्मी, दीपकराज गिरी भन्छन् : सुटिङ रोक्नुपर्‍यो

रीना मोक्तान

काठमाडौँ — अहिले पोखरामा निर्देशक नारायण रायमाझी ४५ जनाको टिम लिएर फिल्म 'परदेशी २'को छायांकन गर्दैछन् । लोकगीत गायक प्रकाश सपुतको प्रमुख भूमिका रहने फिल्मको आधा सुटिङ सकिसक्यो । फिल्मको पूरा सुटिङ सक्‍न अझै १५ दिनभन्दा बढी लाग्ने निर्देशक बताउँछन् ।

सरकारले कोरोना भाइरस(कोभिड-१९) बाट सतर्कता अपनाउन भीडभाडमा नजान निर्देशन दिइसकेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पछिल्लो समय सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जि, हेल्थ क्लब, म्युजियमलगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गर्‍यो ।

सरकारले कोभिड-१९ विरुद्ध यस्तो कदम चालिरहँदा फिल्मकर्मीहरु भने निर्धक्क सुटिङमा व्यस्त छन् । चलचित्र निर्माता संघले फिल्मका छायांकन स्थगित गर्न आह्वान गरेको पनि हो । तर, फिल्मकर्मीमा कोरोना भन्दा पनि सुटिङ नसक्‍ने चिन्ता बढी देखिन्छ । हुन पनि ४५ जनाको टिमले बल्लतल्ल फिल्मका लागि समय छुट्याएको हुन्छ, सुटिङ रोकिहाल्न समस्या पर्छ नै ।

त्यसैले पनि यस्तो महामारीको आतंक फैलिरहँदा पनि फिल्मकर्मी फिल्मको सुटिङ सकाउने ध्याउन्नमा छन् । 'परदेशी २'को टिममा कोरोनाको प्रभाव खासै नरहेको निर्देशक रायमाझी बताउँछन् । 'हामी त टिमभित्रै छौं । हाम्रो टिममा कोरोनाको डर त छैन । अवस्था ठिकै छ,' उनले सुनाए ।

फिल्ममा कोरोना प्रभाव : सिजनमै सुक्खा

सरकारले विद्यालय, विश्वविद्यालयका पढाईदेखि परीक्षाहरु स्थगित गरेर महामारी फैलन नदिन अझ बढी सजकता अपनाउन थालेको छ । केही फिल्मकर्मी यो निर्णयसँगै सतर्क हुन थालेका छन् ।

शुक्रबारबाट अभिनेत्री झरना थापाले निर्देशन गरिरहेको फिल्म 'ए मेरो हजुर ४'को छायांकन स्थगित गरियो । झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको छायांकन रोकेको जानकारी दिएकी हुन् । छायांकन रोक्दा प्राविधिकमा पर्न गएको असरप्रति निर्माण टिम सजक रहेको उनले फेसबुकमा लेखेकी छिन् ।

'सुहाना इन्टरटेन्टमेन्टको प्रस्तुति चलचित्र 'ए मेरो हजुर ४'को छायांकन केही दिनका लागि रोकिएको छ । मानव जातिलाई नै चुनौती बनिरहेको कोभिड-१९को संक्रमणबाट बच्‍न, सतर्कता अपनाउन, हामी सबै एक जुट हुनैपर्छ,' उनले फेसबुकमा लेखेकी छिन्, 'यसबाट कलाकार प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सजग छौं । आफ्‍नो स्वस्थ र जीवन भन्दा ठूलो केही हुन सक्दैन । हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौं ।'

आफ्‍नी छोरी सुहाना थापा र अनमोल केसीलाई लिएर झरनाले फागुनबाट फिल्मको सुटिङ थालेकी थिइन् । फिल्मको पुन: छायांकन कहिले हुन्छ त्यसबारे झरनाले केही बोलेकी छैनन् ।

फिल्मको छायांकन रोक्‍नुपर्छ

विद्यालय नै बन्द गरिसकेपछि भने फिल्मको छायांकन पनि रोक्‍नुपर्ने तर्क गर्छन् अभिनेता दीपकराज गिरी । भीडमा गरिने छायांकन त स्थगित नै गर्नुपर्ने उनको सुझाव छ । 'विद्यालय बन्द गरिसकेपछि चाहीँ सुटिङ पनि बन्द गर्नुपर्ने देख्छु म । हाम्रो नेपालमा छायांकनमा बढीमा ४५ जना हुने गर्छ । अब सार्वजनिक स्थलमा सुटिङ हुन्छ भने त्यसरी छायांकन गर्नु गलत हुन्छ । तर, यदि सुटिङ इन्डोर छ । बन्द कोठामा कलाकार र दसजना प्राविधिकलाई लिएर सुटिङ गर्दा त्यति असर नपर्ला' उनले भने ।

तर सुटिङमा सतर्कता अपनाउनु पर्ने आवश्यकता रहेको दीपकको भनाइ छ । सम्बन्धित निर्माता, निर्देशक कलाकारहरुले सहज महसुस गर्ने अवस्थामा भने सुटिङ गर्नु उचित ठान्छन् उनी ।

निर्देशक दीपेन्द्र लामाको टोलीले कास्कीको घान्द्रुकमा '२ नम्बरी'को छायांकन थालेको ९ दिन भइसक्यो । फिल्मको छायांकन सक्‍न अझै २५ दिन लाग्ने उनी बताउँछन् । घान्द्रुकमा काठमाडौंमा जस्तो कोरोनाको आतंक नफैलिएका कारण फिल्मको छायांकन सक्काएर नै काठमाडौं फर्कने दीपेन्द्रको योजना छ ।

'हाम्रो फिल्मको छायांकन हुँदा सेटमा २३ जना मात्र हुन्छौं । केही साथीहरु होटलमै आउनेजाने गर्नुहुन्छ । यता गाउँतिर कोरोनाको आतंक छैन । त्यसैले टिममा पनि कोरोनाको डर छैन,' छायांकनस्थलबाटै निर्देशक लामाले सुनाए ।

सयजना भन्दा बढीको क्राउडमा खिच्‍नुपर्ने दृश्यहरु भने पछि नै छायांकन गर्ने तयारी रहेको उनी सुनाउँछन् । अभिनेता गिरी पनि क्राउडको दृश्य छायांकन नगर्न सल्लाह दिन्छन् । '२ हजार भन्दा बढी क्राउडमा काम गर्नुपर्ने सिन छ भने त्यो गर्न भएन । अब निर्माता संघले अनुरोध पनि गरेको हो । तर, निर्माता संघको आग्रह अर्को एकजना निर्माताले मान्‍नुहुन्‍न यहाँ,' उनले थपे । निर्देशक लामा भने अहिले फिल्मको साना दृश्यहरु खिच्‍नमै व्यस्त छन् । ' नम्बरी' मा अभिनेता दयाहाङ राई, भुटानी अभिनेत्री उगेन छोदेन, पल शाह, वर्षा राउत लगायतको अभिनय छ ।

कोरोनाका कारण दर्जन बढी फिल्मको प्रदर्शन पछाडि धकेलिइएका छन् । सरकारले भिडभाडमा नजान आह्वान गरे पनि फिल्म मात्रै होइन म्युजिक भिडियोको छायांकनसमेत रोकिएको छैन ।

भारतको अभ्यास

कोरोनाको संक्रमण देखिएसँगै भारतमा फिल्म तथा टिभीको छायांकन मार्च ३१ सम्मलाई स्थगित गरियो । यसँगै छायांकनमा रहेको सलमान खानको 'राधे: योर मोस्ट वान्टेड भाइ', साहिद कपुरको 'जर्सी', आलिया भट्टको 'गंगुबाई काठियावाडी'को छायांकन स्थगित भयो । छायांकन रोकिएसँगै भारतीय चलचित्र निर्माताहरुको संघ(प्रोड्युसर्स गिल्ड अफ इन्डिया)ले नयाँ अभ्यास थाल्यो । संघले दैनिक ज्यालादारी काम गर्ने कामदारका लागि राहत कोष खडा गर्‍यो । विपदको समयमा संघले यस्तो अभ्यास थाल्दा प्रशंसा समेत बटुल्यो ।

कोरोना प्रभाव : सन् २०२० का बहुप्रतिक्षित फिल्मको प्रदर्शन मिति पछि सर्‍यो

कोभिड-१९ का कारण फिल्मकर्मीको पेशा धरापमा परेको छ । कोरोनाका कारण हलिउडका १ लाख २० हजारले आफ्‍नो काम गुमाएको बुधबार 'दि गार्जेन'ले उल्लेख गरेको छ । फिल्मको सुटिङ रोकिएसँगै बलिउडका कामदार फुर्सदिला भएका छन् । तर, नेपाली फिल्मकर्मी निर्धक्क देखिन्छन् । प्रकाशित : चैत्र ७, २०७६ २१:०९

प्रतिक्रिया
पठाउनुहोस्

सरकारले सबै सीमानाकामा आवतजावत बन्द गर्ने : आपूर्तिमन्त्री भट्ट भन्छन्, 'भोलि निर्णय हुन्छ' 

जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) बाट बच्‍नका निम्ति सरकारले छिमेकी देशसँगका सबै नाकाहरुमा आवतजावत बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा मानिसको आवतजावतले सं‌क्रमणको डर हुने भन्दै सबै नाकाहरुमा रोक लगाउने विषयमा छलफल भएको हो ।

बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कान्तिपुरसित भने, 'नाकाहरु सबै बन्द गर्ने भन्‍ने नै हो । भोलि निर्णय हुन्छ ।' उनका अनुसार समितिको अर्को बैठक शनिबार ५ बजे पुन: बस्ने छ । उक्त बैठकले नाकाहरु कहिलेदेखि र कहिलेसम्म बन्द गर्ने भन्‍ने निर्णय लिइने छ ।

उपप्रधान तथा रक्षामन्‍त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा शुक्रबार विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले कोरोनाविरुद्धको योजना सुझाव दिने काम मात्र भएको मन्त्री भट्टले बताए । 'आजको बैठक योजना निर्माणबारे हो । आज हामीले सुझाव दिने कुरा थियो, अलि-अलि अपुग के छन् भनेर । भोलि बेलुका ५ बजे बसेर निर्णय लिनेछौं ।'

कोरोना संक्रमण फैलिनबाट जोगाउन हवाइमार्ग र सीमानाकाबाट प्रवेश रोक लगाउनुपर्ने नागरिक र विभिन्‍न क्षेत्रबाट माग भइरहेको बेलायत सरकारी निकायले सीमा बन्दको छलफल प्रक्रिया अगाडि बढाएको हो ।

शुक्रबार साँझ प्रधानमन्‍त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द, चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने लगायत जानकारी दिएका छन् ।

प्रकाशित : चैत्र ७, २०७६ २०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×