सरकारले भीड नगरौं भने पनि सरकारी कार्यालयमा अझै भीडभाड

चैत्र ७, २०७६

प्रशान्त माली

काठमाडौँ — स्माटकार्ड लाइसेन्सको लिखित परीक्षा दिनेहरूले हल पूरै भरिएको छ । सवारी चालक अनुमति पत्र दर्ता, नवीकरण गर्न लाइनमा उभिनेहरू उत्तिकै छन् ।

बिहीबार सबभन्दा बढी भीडभाड ट्रायल दिन आउनेहरूको थियो । कार्यालय हाताभित्र हात मिलाउन नहुने सूचनासमेत टाँसिएको थिएन । सरकारले कोभिड–१९ रोकथाम गर्न भीडभाड हुने भन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित र २५ जनाभन्दा बढी भेलामा रोक लगाएको छ । 


तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू छैन । सवारी चालक अनुमति पत्र कार्यालयको बिहीबारको रेकर्डअनुसार ३/३ सयजना दर्ता, नवीकरण, साढे २ सय जना लिखित परीक्षा दिने गरी १ हजार ६ सय जना सेवाग्राही उपस्थित छन् ।


यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनाका निमित्त प्रमुख सुनीता भट्टराईका अनुसार लिखित परीक्षा लिँदा सेवाग्राहीसँग सबभन्दा बढी नजिक जानुपर्ने हुन्छ । ‘यातायात मन्त्रालय, विभागमा कार्यालयमा सुरक्षा सामग्री अपनाउने बारेमा व्यवस्था गर्न आग्रह गरेका छौं,’ उनले भनिन्, ‘तर, कुनै प्रतिक्रिया दिएको छैन ।’ उनले जोखिम मोलेर त्रासमा काम गरिरहेको बताइन् । ‘सेवाग्राहीलाई लाइनमा टाँसिएर नबस्न आग्रह गरेका छौं । सवारी चालक अनुमति पत्र अत्यावश्यक सेवा होइन,’ उनले भनिन्, ‘सरकारले कार्यालय प्रवेश गराउन स्वास्थ्य जाँच गर्न चिकित्सकको व्यवस्था गर्नुपर्‍यो । नत्र निश्चित समयका लागि कार्यालय बन्द गर्नुपर्‍यो ।’


गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भीडभाड बढी हुने कार्यालयमा सेवाग्राही कम नभएमा मन्त्रालयले मात्र निर्णय गरेर कार्यालय बन्द गर्न सक्ने अवस्था नरहेको बताए । ‘भीडभाड बारेमा हामीलाई पनि जानकारी आएको थियो,’ उनले भने, ‘तर, यस विषय के गर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयले हेर्छ ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सरकारी निर्णय कार्यान्वय नभएमा सम्बन्धित कार्यालयको मन्त्रालयसँग समन्वय गरेर नियन्त्रणमा ल्याइने बताए । ‘कार्यालय नै बन्द गर्ने भन्ने विषय सम्बन्धित मन्त्रालयले बोल्छ,’ उनले भने ।


यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालले लाइसेन्सको नयाँ दर्ता बन्द गरिसकेको बताए ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि दैनिक पाँच सयभन्दा बढी सेवाग्राही आउने गरेको प्रशासनले जनाएको छ । संक्रमित मुलुकबाट आएका सर्वसाधरण पनि पासपोर्ट बनाउन आउने गरेकोले थप जोखिम रहेको भन्दै कर्मचारीसमेत त्रसित छन् । अत्यावश्यकबाहेक प्रशासनमा नागरिकता, पासपोर्ट, संघ सींस्था दर्ता लगायतको काम रोक्नु पर्ने कर्मचारीको सुझाव छ ।


मालपोत नापीमा पनि उस्तै

मालपोत र नापी कार्यालय लगनखेलको अवस्था पनि उस्तै छ । कोभिड–१९ रोकथाम गर्न कुनै उपाय अपनाएको देखिँदैन । मालपोतमा न्यूनतम ७ वटा साविक गाविस हेर्ने गरी छुट्टाछुट्टै ५ वटा रजिस्ट्रेसन फाँट छन् । प्रत्येक फाँटमा सेवाग्राहीको भीडभाड उत्तिकै छ । ई–टोकन प्रणाली लागू गरिएको छैन । यसले पनि प्रत्येक कोठामा सेवाग्राहीको भीडभाड उत्तिकै छ । बिहीबार कार्यालय प्रांगणको प्रतीक्षालय भरिभराउ थियो । कार्यालयका अनुसार दैनिक १ हजार २ सयदेखि १ हजार ५ सय जनासम्म सेवाग्राही आउने गरेका छन् भने नापी कार्यालयमा ६ सयजना आउँछन् ।


ललितपुर मालपोत अधिकृत हरिकृष्ण सुवेदीले सेवाग्राहीलाई भीडभाड नगर्न लाइनमा बसेर पालो कुरेर मात्र सेवा लिन आग्रह गर्नुबाहेक रोकथाम गर्ने अर्को विकल्प नभएको बताए । ‘हात धुने व्यवस्थापन गर्न पानीको अभाव छ,’ उनले भने, ‘दैनिक तोकिएको संख्यामा मात्र सेवा दिन्छु भन्न पनि सकिँदैन ।’ उनले कार्यालय बन्द गर्नेबाहेक अर्को विकल्प नभएको बताए । ‘कि सेवाग्राही आफैं सचेत भएर कार्यालयमा नआउनुपर्‍यो,’ उनले भने, ‘कर्मचारीलाई मास्क अनिवार्य गरेका छौं ।’


संक्रमणको जोखिम सबभन्दा बढी ज्येष्ठ नागरिकमा हुन्छ। मालपोत र नापी कार्यालयमा जग्गा पास, नामसारी गर्न सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्छ । कार्यालयमा भेट भएका स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. सुशील प्याकुरेलले स्थानीय तहसँग समन्वय गरेर आधारभूत स्वास्थ्य उपचार दिने व्यवस्था मिलाउनुपर्ने बताए । 


‘कार्यालयमा लाइनमा बस्दा साढे ३ फिट टाढा बस्ने, मास्क अनिवार्य गर्ने व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । नापी कार्यालय लगनखेल प्रमुख नारायण रेग्मीले कार्यालयमा सुरक्षा व्यवस्था मिलाउन माथिल्लो निकायबाट खर्च गर्न निर्देशन नआएसम्म गर्न नसकिने बताए । ‘हामी आफैंले एक पैसा पनि खर्च गर्न मिल्दैन,’ उनले भने, ‘खर्च गरिहाले पनि पछि अख्तियारले समाउँछ ।’

जिल्ला अदालत लगनखेलमा भने कामकारबाहीसँग सरोकार भएका सेवाग्राही मात्र अदालत प्रवेश, काम सम्पन्न भएपछि अदालत परिसरमा नबसी भीडभाड नगर्न र अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेर सूचना टाँस गरी सचेत गरिएको छ ।

कोरोना भाइरस

प्रशान्त

Link copied successfully