६ घण्टामा ६८ हजारले उपत्यका छाडे 

दुई दिनमा डेढ लाखभन्दा बढी बाहिरिए

चैत्र ७, २०७६

विमल खतिवडा

काठमाडौँ — सरकारले चैत ७ गतेदेखि सबै शैक्षिक संस्थाहरु बन्द गरेपछि राजधानी छोडेर बाहिरिनेको संख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सम्भावनाबाट बच्‍न सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार शुक्रबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्ममा झन्डै ६८ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । 


यात्रुहरु टिकट नपाएपछि मुडामा बसेरसमेत घर फर्किरहेका छन् । ट्राफिक प्रहरीका अनुसार शुक्रबार मात्रै ११ हजार ६ सय ९० यात्रुवाहक सवारी साधान उपत्यकाका विभिन्न नाकाबाट यात्रु बोकेर बाहरिएका छन् । प्रमुख ढकालका अनुसार यही समयमा उपत्यका भित्रिने यात्रुबहाक साधनको संख्या ५ हजार २ सय ९५ रहेको छ भने यात्रुको संख्या २६ हजार २ सय ९१ छ । 


नागढुंगाका अलावा फर्पिङ, मुड्कु, जगाती र नागढुंगाबाट यात्रुहरु बाहिरिने गरेका छन् । शैक्षिक संस्था बन्द भएसँगै घर फर्कने यात्रुको संख्या बढेको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकाल बताउँछन् । अहिले पनि टिकट काउन्टरमा यात्रुको भीड छ । बिहीबार झन्डै ९० हजारले उपत्यका छाडेका पनि ढकालले बताए । 

कोरोना भाइरस

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully