फियोरेन्टिनाका १० खेलाडी संक्रमित

चैत्र ७, २०७६

एजेन्सी

मिलान — फियोरेन्टिनाका मालिक रोका कोसिसोले आफ्नो क्लबका १० खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको बिहीबार पुष्टि गरेका छन् । उनका अनुसार त्यसमध्ये तीन खेलाडी अस्पतालमा भर्ना भएका छन् । उनले स्काइ स्पोर्टस इटालीलाई भनेका छन्, ‘स्थिति निकै खराब छ । हाम्रा १० खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।’

संक्रमित हुने खेलाडीमा इटालीका फरवार्ड प्याट्रिक कोट्रोन, अर्जेन्टिनाका जर्मन पजेला र सर्बियाका फरवार्ड डुसान भ्लाहिभिच छन् । क्लबले यसै कारण आफ्नो सहरमा अस्पतालका लागि लागि चन्दा संकलन गर्न थालेका छन् । क्लबका स्टार खेलाडी तथा पूर्व फ्रान्सेली मिडफिल्डर फ्रान्क रिबेरीले त्यस काममा ५० हजार युरो दिएका छन् ।


कोसिसाले भनेका छन्, ‘रिबेरीलाई सुरुआतका लागि धन्यवाद । हामीले राम्रो काम सुरु गरेका छौं । अहिले नै ४ लाख २० हजार युरो सम्मान गरिसकेका छौं । हाम्रो लक्ष्य ५ लाख युरोको छ ।’ सिरी ‘ए’ क्लब ब्रेसियाले आफ्नो दुई कर्मचारीलाई कोभिड–१९ लागेको पुष्टि गरिसकेको छ । इटालीमा यसै संक्रमणका कारण तीन हजारको मृत्यु भइसकेको छ ।


अल्भेसमा पनि संक्रमण

म्याड्रिड– स्पेनी फुटबल क्लब अल्भेसले आफ्ना १५ खेलाडी र कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएको बिहीबार पुष्टि गरेको छ । त्यसमा पहिलो रोजाइको टिमका तीन खेलाडी पनि छन् । ला लिगा क्लबका अनुसार उसको प्रशिक्षण समूहका सात खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ । अल्भेसले मार्च ६ मा भ्यालेन्सियाविरुद्ध खेलको थियो । भ्यालेन्सियाले पनि आफ्नो क्लबका ३५ प्रतिशत कर्मचारी कोरोना भाइरसबाट प्रभावित भएको जनाएको थियो । इटालीपछि स्पेन यो भाइरसबाट सबैभन्दा बढी प्रभावित युरोपेली देश रहेको छ । स्पेनमा १४ हजार संक्रमित भएको र त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ ।


जर्मन टिमको सहयोग

बर्लिन– जर्मन राष्ट्रिय टिमका फुटबल खेलाडीहरूले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि २५ लाख युरो सहयोग गर्ने बुधबार घोषणा गरेका छन् । ‘हामीले धेरैपल्ट एकअर्कालाई हेर्न आवश्यक छ । हामी राष्ट्रिय टिममा रहेकाहरूले सोचिरहेका थियौं र हामी राम्रो कुराका लागि सहयोग गर्न गइरहेका छौं,’ जर्मनीका कप्तान म्यानुएल नोयले इन्स्टाग्राममा भने । जर्मन टिमका निर्देशक ओलिभर बियरहोफले भने, ‘तुरुन्तै सहमति भयो, जुन हामीले टिमबाट चाहेका थियौं ।’ उनका अनुसार म्यानचेस्टर सिटीका इकाय गुन्डोगन, रियल म्याड्रिडका टोनी क्रुज र बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर गनसहित यसमा आएका छन् । 


जर्मनीका प्रशिक्षक जोचिम लोले यो संकटको घडीमा मानिसहरूलाई आफ्नो व्यवहार परिवर्तन गर्न आग्रह गरेका छन् । ‘विश्वले संयुक्त रूपमै जलन अनुभव गरिरहेको छ,’ उनले फ्रेइबर्गमा भने, ‘पृथ्वी मानवीय व्यवहारविरुद्ध नै रक्षात्मक अवस्थामा पुगेको छ, जसले सधैं जे पनि गर्नसक्ने देखाउँछ र सबै थाह पाउनुपर्छ । शक्ति, घमण्ड र नाफा पछिल्लो समय सधैं मैदानमा रह्यो । तर, अब जसले हामीलाई केही प्रभाव पारेको छ र यसले वास्तवमै हामीलाई साथी, परिवार र अरुप्रतिको सम्मानप्रतिको जीवनबारे सोच्न बाध्य पारेको छ । हामीले हामी फरक छौं भन्ने देखाउन आवश्यक छ र भविष्यमा एकअर्कालाई बढी सम्मान गर्न पनि ।’ उनले युरो अर्को वर्षसम्म सार्ने यूईएफएको निर्णयप्रति पनि स्वागत गरे ।


स्वास्थ्यकर्मीलाई होटल खुला

लन्डन– म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी नेभिलले कोरोना भाइरसको संकटमा स्वास्थ्यकर्मीहरूका लागि निःशुल्क रुपमा आफ्नो होटल उपलब्ध गराउने बताएका छन् । नेभिलका म्यानचेस्टरस्थित दुई होटल बन्द गरिएको छ, जसले एनएचएस (नेसनल हेल्थ सर्भिस) र अरु मेडिकल स्टाफका लागि १७६ बेड खाली भएको छ । युनाइटेडका पूर्वकप्तान रहेका उनले आफ्ना कुनै पनि कर्मचारीलाई हटाउने नभनिएको र बेतलबी बिदा बस्न आग्रह नगरेको पनि बताए । 


इब्राहिमोभिच सहयोग जुटाउँदै

स्टकहोम (एएफपी)– एसी मिलानका भेट्रान फरवार्ड जाल्टन इब्राहिमोभिचले बुधबार कोरोना भाइरसको महामारीविरुद्ध लड्नलाई इटालीको अस्पतालका लागि सहयोग जुटाउन थालेका छन् । ‘इटालीलाई मलाई सधैं धेरै दिएको छ, यो नाटकीय क्षणमा म त्यसलाई फर्काउन चाहन्छु, मैले माया गरेभन्दा धेरै यो देशलाई,’ स्विडेनका पूर्व खेलाडीले इन्स्टाग्राममा भनेका छन्, ‘मैले मेरा साथीहरूको सहयोगलाई गणना गरें, सबै व्यावसायिक खेलाडीहरू र साना–ठूला सहयोग गर्न चाहनेहरूको सम्भावना हेर्दै सबैबाट यो भाइरसलाई किक गर्दै फाल्नका लागि ।’


फाइल तस्बिर : रोयटर्स

उनले भनेका छन्, ‘वास्तवमै हामीले एकसाथ हाम्रो जीवन बचाउनका लागि हरेक दिन निःस्वार्थ काम गरिरहेका अस्पताल, चिकित्सक, नर्सलाई सहयोग गर्नुपर्छ । किनभने आज उनीहरूलाई सम्मान गर्नुपर्छ । एकसाथ कोरोना भाइरसलाई टाढा पठाऔं र यो खेल जितौं ।’ उनले आफ्नै शैलीका भनाइको अन्त्य गरे, ‘र, सम्झना : यदि भाइरस जाल्टनकहाँ आएन भने जाल्टन भाइरसकहाँ जान्छ ।’


लम्बियो इंग्लिस फुटबलको मिति

लन्डन् (एएफपी)– इंग्लिस फुटबलको स्थगन मिति लम्ब्याएर कम्तीमा अप्रिल ३० पुर्‍याइएको छ । कोरोना भाइरसको विश्वव्यापी त्रासका कारण प्रिमियर लिग र इंग्लिस फुटबल लिगको बिहीबार बसेको आपतकालीन बैठकले यस्तो निर्णय गरेको हो । ‘इंग्ल्यान्डमा हुने व्यावसायिक फुटबल खेल अप्रिल ३० सम्म स्थगन गर्न हामी सामूहिक रूपमा सहमत भएका हौं,’ इंग्लिस फुटबल एसोसिएसन, प्रिमियर लिग, ईएफएल तथा खेलाडी र व्यवस्थापकको समूहको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । 


युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले विभिन्न देशका लिग फुटबल सम्पन्न होस् भन्ने हेतुले यसअघि नै युरो २०२० लाई १२ महिना पछाडि धकेलिसकेको छ । कोरोना भाइरसका कारण यात्रामा ननिस्कन र सामूहिक भेला नगर्न निर्देशन आएकाले विश्व फुटबलको अधिकांस प्रतियोगिताहरू स्थगित हुँदै आएका छन् । इंग्ल्यान्डका सबै खाले फुटबल अघिल्लो साता स्थगित भएका थिए । 


अहिलेको अंकतालिकालाई नै अन्तिम मान्ने वा यस सिजनलाई समाप्त पार्नेभन्दा पनि कोरोनाको प्रभाव सकिएपछि लिग सुरु भइ त्यसलाई अन्त्य गर्नेमा इंग्लिस फुटबल रहेको छ । ‘हामी २०१९–२० को फुटबल सिजन कसरी सुचारु गर्ने भन्ने प्रतिवद्धतामा एकबद्ध छौं । हामी सबै घरेलु र युरोपियन क्लब लिगका खेलहरू जतिसक्दो चाँडो सुचारु होस् भन्नेमा छौं,’ विज्ञप्तिमा उल्खेल छ । 


मे महिनाको सुरुमै खेलहरू भएमा त्यो सकिन जुन ३० भन्दा बढी समय लाग्नसक्छ । इंग्ल्यान्डसहितका युरोपियन लिगहरू सामान्यतः मेमा सकिन्छन् । पछिल्लो स्थितिलाई लिएर यूईएफएले मंगलबार लिग सम्पन्न गर्न जुन ३० सम्म पनि स्विकारेको थियो । जुनको अन्त्यपछि भने धेरै खेलाडीको सम्झौता र लोनअवधि भने सकिने हुन्छ । तर इंग्लिस अधिकारीहरूले सिजन सिध्याउनका लागि कुनै अवधि नतोक्ने जनाएका छन् ।  यस्तोमा अफ सिजन ब्रेक नहुन सक्छ । 


एउटा सिजन सुरु भएपछि अर्को सुरु हुन झन्डै तीन महिना लाग्छ । त्यसैलाई अफ सिजन भनिन्छ र क्लबहरूले सामान्यतः सिजन सुरु हुनु एक महिनाअगाडि जस्तो खेलाडीलाई बोलाउने गर्छन् । मेमा इंग्लिस फुटबल पुनः सुचारु भएमा २०१९–२० र २०२०–२१ को सिजनको बीचमा अफ सिजन नहुन सक्छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully