पेरिस — संक्रमण फैलिएपछि युरोपका सबै नेपाली दूतावास बन्द गरिएका छन् । कर्मचारी नै संक्रमित हुन सक्ने त्रासले नेपाली दूतावास बन्द गरेर अत्यावश्यक सेवा टेलिवर्क (इन्टरनेट, टेलिफोन मार्फत) दिन थालिएको छ ।
दूतावास आउने सेवाग्राही र आफ्नै कर्मचारी पनि संक्रमित हुन सक्ने त्रासले दूतावास बन्द गरी टेलिवर्क थालेको पेरिसस्थित नेपाली दूतावासका राजदूत दीपक धितालले बताए । ‘एक जनामा मात्र संक्रमण देखियो भने पनि सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्छ जसले गर्दा परिवारले त दुःख पाउँछन् नै आपत्कालीन सेवा दिने कोही कर्मचारी पनि दूतावासमा हुने छैनन् । त्यस्तो अवस्था सिर्जना नहोस् भनेर टेलिवर्क थालेका छौं,’ उनले बताए ।
बेल्जियम, स्विट्जरल्यान्ड, फ्रान्सलगायतका नेपाली दूतावासमा कोरोनाबारे सूचना टाँसेर बन्द गरिएको छ र आपत्कालीन अवस्थामा सम्पर्क गर्न भनेर फोन नम्बर छोडिएका छन् । युरोपका लगभग सबै देशले ‘लकडाउन’ गरेकाले सेवाग्राहीको संख्या लगभग शून्य छ ।
