भारतमा ‘जनता कर्फ्यु’

संक्रमण फैलिन नदिन आइतबारदेखि एक सातासम्म अन्तर्राष्ट्रिय उडान बन्द 

चैत्र ७, २०७६

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै त्यस दिन बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् । जनता कर्फ्युको अनुभव र सफलताले आगामी कोभिड–१९ को चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ । 

भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।


विदेशबाट फर्केका भारतीय एवं विदेशी पर्यटकका कारण संक्रमण बढेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । भारतमा पहिलो संक्रमण चीनको वुहानबाट फर्केका केरलाका एक विद्यार्थीमा देखिएको थियो । त्यसपछि पुष्टि भएका अधिकतर संक्रमित पनि विदेशबाट फर्केकाहरू छन् । भारतको नयाँ निर्णयका कारण काठमाडौंबाट नयाँदिल्ली, नयाँदिल्ली, बनारस, बैंग्लोर र मुम्बईमा हुँदै आएका उडान बन्द हुनेछन् । यी गन्तव्यमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, इन्डिगो, एयर इन्डिया र विस्ताराले उडान गर्दै आएका थिए । विस्ताराले मार्च २१ देखि ३१ सम्म उडान बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अब नेपालीले भारत हुँदै तेस्रो मुलुक उड्न पनि पाउने छैनन् ।


भारतमा कोभिड–१९ को त्रास बढ्दै गएपछि केही दिनयता दिल्ली, मुम्बई, चण्डीगढ, बैंग्लोर, चेन्नईलगायतका सहरबाट नेपाली घर फर्किने क्रम बढेको छ । तर रेल सेवा बन्द गरिएपछि उनीहरूलाई असर पर्नेछ ।


भारतको प्रेस इन्फरमेसन ब्युरोले बिहीबार साँझ सूचना जारी गर्दै ६५ वर्षमाथि र १० वर्षमुनि उमेरकालाई सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको छ । भारतको केन्द्र सरकारअन्तर्गतका कर्मचारीमध्ये तल्लो तहका ख र ग श्रेणीका करिब ५० प्रतिशतलाई घरबाट काम गर्न परिपत्र जारी गरिएको छ । अन्य कर्मचारीलाई पनि तीन सिफ्टमा कार्यालय आउन भनिएको छ । आपत्कालीन र विशेष सेवाबाहेकका कर्मचारीलाई घरबाटै काम गराउन निजी क्षेत्रसँग आग्रह गरिएको छ । दिल्ली सरकारले बिहीबार सबै रेस्टुराँ बन्द गर्न आदेश दिएको छ । देशभरका आईआईटी कलेजका छात्रावास शनिबारसम्म खाली गर्न आदेश दिइएको छ । विदेशी विद्यार्थीलाई भने यो आदेश लागू हुने छैन । 


राजस्थान सरकारले ३१ मार्चसम्म सबै किसिमका सरकारी र अर्द्धसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । भारतले बुधबार मात्र युरोपका २७ देशमा रहेका आफ्ना नागरिकलाई समेत ३१ मार्चसम्म स्वदेश फर्कन रोक लगाउने निर्णय गरेको थियो । भारतले विदेशी नागरिकलाई जारी गरिएका सबै भिसा खारेज गर्ने निर्णयसमेत गरिसकेको छ । थप नौ देशका नागरिकलाई पनि यस्तै रोक लगाइएको छ । अन्य ११ मुलुकबाट आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । इटाली, चीन र दक्षिण कोरियाबाट आउने भारतीयले कोभिड–१९ को संक्रमण नभएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन र फ्रान्स ट्रान्जिट पारेर आउने भारतीयले समेत १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । र, यो व्यवस्था भारत ओर्लेर सडक मार्ग हुँदै नेपाल जाने नेपालीका लागि पनि लागू गरिएको थियो ।


भारतमा बिहीबार साँझसम्म कोभिड–१९ बाट १ सय ७३ जना संक्रमित भएका छन् । चार जनाको ज्यान गइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये २५ जना विदेशी छन् । १८ राज्यमा संक्रमित देखिएका छन् । सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा छन् । त्यहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र भारतभर कोभिड–१९ का १८ जना नयाँ बिरामी पुष्टि भएको छ ।


‘नेपालसँगको सीमा बन्द छैन’

भारतले नेपालले गरेको आग्रहअनुरूप मानिसको आउजाउ रोक्ने गरी सीमा बन्द गर्ने सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । नेपाल सरकारले बुधबार भारतसमक्ष नाकाबाट हुने आउजाउ बन्द गर्ने सम्बन्धमा औपचारिक रूपमै आग्रह गरेको थियो । नेपालको उक्त आग्रहका सम्बन्धमा कुनै जानकारी नभएको उल्लेख गर्दै विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले त्यस्तो निर्णय लिइए तत्काल सार्वजनिक गरिने बताए । विदेश मन्त्रालयमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘जे जस्ता निर्णय लिइन्छ त्यो खुला नै हुनेछ ।’


भारतले गत आइतबारदेखि मानिसको आउजाउका लागि औपचारिक रूपमा वनबासा, सुनवल, वीरगन्ज, काँकडभिट्टा गरी चारवटा प्रमुख नाका मात्र खुला राखेको छ । प्रवक्ता कुमारले कोभिड–१९ विरुद्ध जुध्न नेपाल र माल्दिभ्सबाट र्‍यापिड रेस्पोन्स टिमका लागि भारतसमक्ष अनौपचारिक रूपमा आग्रह आएको जानकारी दिए । कोभिड–१९ नियन्त्रण गर्ने सम्बन्धमा सार्क मुलुकहरूबीच गत आइतबार साँझ भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह आए र्‍यापिड रेस्पोन्स टिम र स्वास्थ्य सामग्री उपलब्ध गराउन भारत तयार भएको बताएका थिए । कुमारले त्यही कन्फरेन्समा घोषणा गरिएको सार्क आपत्कालीन कोषमा सहयोग सामग्रीको माग आएको समेत जानकारी दिए । भुटान र माल्दिभ्सलाई त्यही कोषबाट मास्क, जुत्तालगायतका सामग्री उपलब्ध गराइसकेको समेत उनले बताए । उक्त भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका तर्फबाट एक करोड डलर योगदान गर्ने जनाउँदै आपत्कालीन कोष प्रस्ताव गरेका थिए ।


वृद्धवृद्धालाई बाहिर ननिस्किन आग्रह

भारती प्रधानमन्त्री मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा विश्वयुद्धबाट भन्दा पनि बढी मानिस कोभिड–१९ का कारण प्रभावित भएको बताएका छन् । ‘कोभिड–१९ को महामारीसँग जुध्न कुनै निश्चित उपाय देखिएको छैन । न त कुनै खोप बनेको छ,’ उनले भने, ‘बढी प्रभावित मुलुकमा सुरुमा खासै संक्रमण देखिएको थिएन तर पछि संक्रमितको संख्या ह्वात्तै बढ्यो । त्यसैले गम्भीर हुनुपर्ने अवस्था छ ।’


मोदीले प्रत्येक दिन १० जनालाई कोभिड–१९ बारे जानकारी दिनसमेत आग्रह गरेका छन् । उनले भारतका लागि अहिले परीक्षणको घडीसमेत भएको बताए । ‘भारत जस्तो १ सय ३० करोड आवादी भएको मुलुकलाई कोभिड–१९ को संकट सामान्य कुरा होइन । ठूला र विकसित मुलुकमा समेत यो महामारीको प्रभाव देखिएको छ । भारतमा यसको प्रभाव पर्दैन भन्ने ठान्नु गलत हुनेछ,’ मोदीले भने ।


लापरबाहीपूर्ण व्यवहारले आफू मात्रै होइन परिवारजनप्रति अन्याय हुने मोदीले बताए । उनले अत्यावश्यक काम नभएसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । ६० वर्षमाथि उमेरका सबैलाई घरबाट बाहिर ननिस्कन उनले विशेष अनुरोध गरे । ‘यो महामारीसँग लड्न संकल्प र संयम दुवै चाहिन्छ । केन्द्र र राज्य सरकारका निर्देशनहरू पूरा पालना गर्छु भनेर आज १ सय ३० करोड देशवासीले संकल्प र संयमका लागि बाचा गर्नुपर्ने दिन आएको छ,’ उनले भने । 


मोदीले महामारीविरुद्ध जुध्न आफू संक्रमित हुनबाट बच्न र अरूलाई बचाउने संकल्प गर्न पनि आग्रह गरेका छन् । ‘यस किसिमको विश्वव्यापी महामारीमा एउटै संकल्प काम लाग्छ, आफू स्वस्थ त जगत् स्वस्थ भन्ने मन्त्र नै सबैभन्दा प्रभावकारी हुन्छ,’ उनले भने, ‘हाम्रो संकल्प र संयमले यो महामारी नियन्त्रणमा अहंभूमिका खेल्नेछ ।’ उनले आपत्‌कालीन अवस्थामा बाहेक अस्पताल नजान पनि आग्रह गरेका छन् । उनले कार्यालय नजाने कर्मचारीको तलब कटौती नगर्न पनि निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

कोरोना भाइरस

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully