एसियाली मुलुकमा आयातित संक्रमणको त्रास

चैत्र ६, २०७६

एजेन्सी

बेइजिङ — कोभिड–१९ को उद्गमस्थल चीनले पहिलोपटक बिहीबार कोही पनि नयाँ संक्रमित नपाइएको घोषणा गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसको केन्द्रबिन्दु वुहानमा बुधबार एकजना पनि नयाँ संक्रमित देखिएनन् ।

भाइरस संक्रमितको अभिलेख राख्न थालेदेखि पहिलोपटक देशभित्र नयाँ संक्रमित फेला नपरेको उसको जिकिर छ । चीनमा एक महिनाअघिसम्म पनि दैनिक हजारौं संक्रमित भेटिएका थिए । ‘लगातार १४ दिन नयाँ संक्रमित नदेखिए मात्र ‘लकडाउन’ विस्तारै हट्न सक्ने छ,’ चाइना डेलीले एक विज्ञलाई उल्लेख गर्दै लेखेको छ । ‘मार्च महिनाको अन्त्यसम्ममा संक्रमित संख्या पूर्ण रूपमा अन्त्य हुने अनुमान हामीले गरेका छौं,’ चीनको राज्य सञ्चालित संक्रामक रोग पहिचान तथा निदान प्रयोगशालाका प्रमुख रोग ली लान्जुआनले बताए । नयाँ संक्रमित संख्या शून्यमा झरेपछि ६ सातादेखि घरमै ‘लकडाउन’ गरिएका वुहानका स्थानीयलाई बाहिर हिँडडुलको अनुमति दिइएको छ । केही व्यापारिक क्षेत्र पनि सञ्चालनमा आएका छन् । स्थिति सामान्य बन्नेतर्फ जाँदै गर्दा चीनलाई फेरि अर्को चिन्ताले सताएको छ, ‘विदेशबाट आयातित संक्रमितमा वृद्धि’ ।

स्वेदशी संक्रमितको नयाँ संख्या शून्यमा झर्दा बुधबार राजधानी बेइजिङमा २१ जनासहित देशैभर विदेशबाट आएका ३४ संक्रमित पुष्टि भए । यस्तै अवस्था दक्षिण कोरियामा पनि छ । केही समयअघिसम्म चीनपछि संक्रमित संख्याका आधारमा दक्षिण कोरिया सबैभन्दा प्रभावित थियो । महामारीलाई लिएर सरकारको प्रतिक्रियाको विश्वभर प्रशंसा भएका छन् । केही दिन निकै खराब अवस्थाबाट गुज्रिएको दक्षिण कोरिया संक्रमित पहिचान, ठूलो संख्यामा परीक्षण र तत्काल संक्रमितलाई आइसोलेसनमा राखेकै कारण संक्रमण नियन्त्रण उन्मुख छ । तर उसलाई पनि ‘आयातित संक्रमण’ कै त्रास छ । बिहीबार १ सय ५२ जना नयाँ संक्रमित पुष्टि भएको र त्यसमा अधिकांश विदेशबाटै आएकामा पाइएको उसले जनाएको छ । सिंगापुरमा पनि अवस्था उस्तै छ । बिहीबार ४७ संक्रमित पुष्टि भएकोमा ३३ जना आयातित रहेको र त्यसमध्ये पनि ३० जना विदेशबाट फर्किएका आफ्नै नागरिक भएको उसले भनाइ छ ।


एसियाकै अर्को प्रभावित अर्को राष्ट्र जापान पनि संक्रमण नियन्त्रणको चरणमा छ । बुधबार मात्र ३ जना नयाँ संक्रमित पाइएका छन् । संक्रमण अन्त्य हुनेतर्फ रहेकाले आपत्काल हटाउने तयारी थालिएको अति प्रभावित जापानी सहर होक्काइदोका अधिकारीले बताएका छन् । तर पनि जापानी अधिकारी ढुक्क छैनन्, कारण एउटै ‘संक्रमित अन्य मुलुकबाट भित्रन सक्ने संक्रमण ।’

एसियाका यी चारवटै राष्ट्रले घरेलु संक्रमण रोकथाममा सफलता प्राप्त गरिरहेको देखिए पनि विश्वका अन्य राष्ट्रमा संक्रमित दर बढिरहेकोले एसियाका अन्य राष्ट्रमा दोस्रो चरणको अर्थात् आयातित केसको ‘सेकेन्ड वेभ’ संक्रमण हुने हो कि भन्ने त्रास बढिरहेको छ । विश्वको ध्यान युरोप र अमेरिकातर्फ सोझिरहँदा स्वास्थ्य प्रणाली कमजोर रहेका एसियाका अन्य राष्ट्रमा त्यतैबाट आयातित संक्रमणले महामारीको अवस्था सिर्जना हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनलगायतले दिएका छन् ।


एसियाली राष्ट्रमा संक्रमणको ठूलो त्रास छ । विशेषगरी खाडी, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा चीन हुँदै युरोप–अमेरिका पुगेको संक्रमणको दोस्रो चरणले प्रभाव पार्न सक्ने विज्ञ औंल्याउँछन् ।

कडा कदमको परिणाम, चीनमा शून्य संक्रमित


चिनियाँ नववर्ष सुरुवात सँगसँगै भाइरस संक्रमण तीव्र गतिमा फैलन थालेपछि चीनले कठोर उपाय अवलम्बन गरेको थियो । उसले भाइरसको ‘इपिसेन्टर’ वुहानलाई पूर्ण रूपमा बन्द गरायो । सवारीसाधान सञ्चालनमा रोक, भीडभाड हुने सबै क्षेत्रमा प्रतिबन्ध र घरमै बस्ने निर्देशन जारी गर्‍यो र सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनियो । नववर्षको बिदा लम्ब्यायो र बिदा सकेर फर्किएकालाई अनिवार्य घरमै आइसोलेसनमा बस्न आग्रह गरियो । अझै पनि हुबेई प्रान्त र वुहान पूर्ण रूपमा खुला भइसकेका छैनन् ।

कोरोनाको उद्‍गमस्थल वुहानमा नयाँ कोरोना संक्रमित भेटिएनन्

देशभित्र नयाँ संक्रमित नभए पनि महामारीविरुद्ध लड्न चीनको पछिल्लो प्रयास विदेशी नागरिकबाट पुनः संक्रमण नफैलियोस् भनेर केन्द्रित देखिन्छ । विश्वभर संक्रमितको संख्यामा वृद्धि भएपछि आयातित संक्रमित रोक्न उसले पछिल्लो समय आफ्नो शक्तिको प्रयोग गरिरहेको छ ।


‘एक झिल्कोले आगो फैलन सक्छ,’ राज्य समर्थित चाइना डेलीले सम्पादकीय लेखेको छ । विश्वभर फैलिइएको संक्रमण पुनः चीनमा नफर्कियोस् भनेर उसले गत सातादेखि नै बेइजिङस्थित विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि विशेष क्षेत्र बनाएको छ भने सबैलाई अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । चीन नै आउने यात्रुलाई अनिवार्य १४ दिने क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

आयातित संक्रमण बढ्न थालेपछि विदेशबाट आउने सबैलाई बिहीबारबाटै लागू हुने गरी ‘सेल्फ आइसोलेसन’ हटाएर अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।


डिसेम्बर अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट भाइरस फैलिएयता हालसम्म चीनमा ८१ हजार १ सय ७४ जनाभन्दा बढी संक्रमित भइसकेका छन्, जसमध्ये ५७ हजार ७ सयभन्दा बढी निको भएर घर गएका छन् । मृतक संख्या ३ हजार २ सय ४२ पुगेको छ र बाँकीको उपचार भइरहेको छ । सरकारी तथ्यांकअनुसार अझै पनि १० हजार संक्रमितको अवस्था नाजुक छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully