काठमाडौँ — काठमाडौं महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोडको रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने भएको छ । महानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गरेर वडा अनुसार २ देखि चार लाखसम्म बजेट पठाउन लागेको हो ।
‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गनेछौ,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘महानगरपालिका अन्तर्गतका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति र प्रचार सामाग्री सहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने छ ।’
महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत रुपमा पुजा बाहेक अन्य कुनै भिडभाड नगर्ने/नगराउन उनले अनुरोध पनि गरेको छ । ‘महानगरबाट सञ्चालिन हेल्पडेस्क तथा सार्वजनिक स्थानहरुमा निशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने, कामपाको कार्यालय तथा कार्यकक्षमा डिसइन्फेक्सन गर्ने पनि तयारी गरेका छौँ,’ उनले भने, ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सन्देशमुलक सूचना, होर्डिङ तथा डिजिटल बोर्डबाट प्रचार तथा डिसप्ले गर्ने व्यवस्था मिलाउने छौँ ।’
सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले महानगरपालिकासँग सहकार्य गरेर कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताए । ‘टेष्ट गर्ने सामान हामीसँग छ,’ उनले भने, ‘कसैलाई पनि उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने गरी काम गर्न हामी तयार छौँ ।’
कोरना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्य प्रभावकारी ढंगले संचालन गर्न महानगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने महानगरले जनाएको छ । नियन्त्रणसम्बन्धि कार्य प्रभावकारि ढङगले सञ्चालन गर्न महानगरपालिका अन्तर्गत नगर तथा वडास्तरिय विपद् व्यवस्थापन समितिलाई क्रियाशिल बनाउने महानगरपालिकाले जनाएको छ ।
‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्यको आवश्यक सहयोगको लागि महानगरपालिको सहकार्यमा संचालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन गर्ने निर्णय पनि गरेका छौँ,’ उनले भने ।
संघीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न/गराउन सम्वन्धित विभाग/महाशाखा/शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका लागि प्रभावकारी ढंगले परिचालन गर्ने महानगरपालिकाले जनाएको छ ।
