३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारततर्फ सीमा ‘सिल’ गर्ने प्रस्ताव

देवेन्द्र भट्टराई

काठमाडौँ — कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि ‘सिल गर्ने’ सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला सीमाबारे ‘थप गम्भीर’ हुनैपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा ‘जवाफ आइनसकेको’ बताए ।

भारततर्फ सीमा ‘सिल’ गर्ने प्रस्ताव

‘नेपाल र भारत दुवैतर्फ स्थिति भलनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने । नेपाल–भारतबीच १ हजार ७ सय ५१ किमि खुला सीमा छ । यो सातादेखि सुनौली, काँकडभिट्टा, जोगवनी र गड्डाचौकी स्थल नाकाबाट मात्र दुईदेशीय नागरिक आवतजावत गर्न दिइने भनिए पनि निर्णय उपयोगी देखिन सकेको छैन । ‘सीमा कडाइ गर्नेबारे भारतसँग समन्वय जरुरी छ, कुराकानी अघि बढेको छ,’ उनले भने ।


अब कोरोना संक्रमणको विषय नेपाल वा भारतबीच मात्र रहेको संवेदनशीलताको विषय नभएर विश्वकै चिन्ता र समस्याको मुद्दा भएकाले ‘सीमा सञ्चालनमा नयाँ ढंगको सोचाइ जरुरी रहेको’ मन्त्री ज्ञवालीले बताए । भारतमा बिहीबार साँझसम्ममा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।


दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले ‘यदि हामीले तत्काल कडा कदम चालेनौं भने कोरोना संक्रमणको विषय हाम्रै भविष्यका निम्ति मुस्किलको मामला बन्ने’ प्रतिक्रिया दिँदै ‘यो विकराल समस्यामा आवश्यक परेको अवस्थामा द्विदेशीय खुला सीमा केही समयसम्मका लागि पूर्ण रूपमा बन्द गर्नुपर्ने’ सुझाव आफ्नो रहेको बताए ।


‘हामीले सीमावर्ती आवागमनमा कडाइ र कठिनाइको स्थिति आउन सक्नेछ भनेर पब्लिकलाई जनाउ दिनैपर्ने हुन्छ,’ उनले भने, ‘यो संक्रमण र महामारीबारे सहानुभूति वा सदाशयताको कुरा गर्नु हुँदैन, आवश्यक परेमा पूरै नाका सिल गर्नैपर्ने हुन्छ ।’ द्विदेशीय सहमतिमा आवागमनमा विभिन्न ४ वटा नाका निर्धारण गरिए पनि सम्पूर्ण खुला नाका र विन्दुबाट निर्बाध आवागमन भइरहेको यथार्थलाई लुकाउन नमिल्ने बताउँदै राजदूत आचार्यले एक/दुई दिनभित्र सीमा व्यवस्थानबारे निर्णय आउन सक्ने संकेत गरे । कोरोना संक्रमणकै विषयलाई लिएर गत साता सार्कस्तरीय भिडियो कन्फरेन्स भएको र यसले पनि संक्रमण रोकथाममा सतर्कता, समन्वय तथा आवश्यक कडाइका लागि मार्गनिर्देशन दिइसकेको उनले उल्लेख गरे ।


भारतसँगको खुला सीमा तत्कालका लागि रोक्नेसहितको प्रस्तावबारे काठमाडौंमा गृह, परराष्ट्र मन्त्रालयका पदाधिकारीसहित छलफल अघि बढेको छ । ‘भारतसँगको नाका सुचारु गर्ने, स्थगन गर्ने वा वैकल्पिक उपाय खोजी गर्ने भन्नेबारे कुराकानी चलिरहेको छ,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘हामीले यसबारे निर्णय आउनासाथै सम्भवतः शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अवगत गराउनेछौं ।’

प्रकाशित : चैत्र ७, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?