महाराष्ट्र आंशिक बन्द, दिल्लीका सबै मल बन्द

चैत्र ७, २०७६

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रमसँगै राज्य सरकारहरुले त्यसको नियन्त्रणका लागि आंशिक लकडाउनसम्मका निर्णयहरु लिन थालेका छन् । यसैक्रममा महाराष्ट्र सरकारले शुक्रबार मध्यरातिदेखि ३१ मार्चसम्मका लागि मुम्बई, पुने, पिम्प्री, छिन्छवाड र नागपुरका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कक्षा आठसम्मका सबै परीक्षाहरु पनि स्थगित निर्णय गर्ने त्यहाँको राज्य सरकारले लिएको छ । तर, सामान्य किराना पसल र दूध पसलदेखि सार्वजनिक यातायातसँगै अन्य अत्यावश्यक सेवाहरु भने खुला नै रहनेछन् ।

भारतीय राज्यहरुमध्ये शुक्रबारसम्म कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्रमा पुष्टि भएको छ ।  शुक्रबारसम्म भारतमा २०० जनामा कोरोना पुष्टि भएकामध्ये महाराष्ट्रमा सबैभन्दा बढी ५२ जनामा कोरोना पुष्टि भएको छ । भारतमा कोरोना पुष्टि भएकाहरुमध्ये ३२ जना विदेशी नागरिक छन् । राजधानी दिल्लीमा भने अहिलेसम्म १७ जना कोरोना देखिएको छ । 

यसैगरी दिल्ली सरकारले पनि कोरोनाको त्रास बढ्दै गएपछि शुक्रबारदेखि सबै सपिङ मलहरु बन्द गर्न आदेश दिएका छन् । दिल्लीमा स्कुल र रेष्टुराँहरु बन्द भइसकेका छन् । ग्रोसरी, तरकारी र औषधिहरु भने खुला रहने मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् । 

त्यसैगरी दिल्ली सरकार अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई ३१ मार्चसम्म घरबाटै काम गर्न निर्देशन दिइएको छ । र, स्थायी र करार कर्मचारीहरुलाई त्यस अवधिको तलब दिइने घोषणा पनि दिल्ली सरकारले गरेको छ।

कोरोना भाइरस

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully