हलमा संकट, सुटिङ निरन्तर

चल्ने अपेक्षा गरिएका फिल्मले पनि निराश बनाए 
गोकर्ण गौतम

काठमाडौँ — शुक्रबारबाट प्रदर्शित ‘ब्लडसट’ र ‘अंग्रेजी मिडियम’ को व्यापार नेपाली बजारमा नाजुक रह्यो । कोरोना भाइरस (कोभिड–१९)को त्रासले रिलिजकै दिन पनि दर्शक यी फिल्मले नपाएका हुन् । जब कि दुवै प्रतीक्षित थिए ।

‘ब्लडसट’ मा हलिउडका चर्चित अभिनेता भिन डिजेलको अभिनय छ भने हिन्दी फिल्म ‘अंग्रेजी मिडियम’ मा लोकप्रिय कलाकारहरू करिना कपुर र इरफान खान मुख्य भूमिकामा छन् । अघिल्लो शुक्रबारबाट रिलिज भएको ‘बागी ३’ ले नेपालमा आशातीत व्यापार गरेन । दरबारमार्गस्थित क्यूज सिनेमाज्का व्यवस्थापक राकेश श्रेष्ठका अनुसार डेढ सातादेखि नै हलमा दर्शकको आगमन घटेको छ । श्रेष्ठ भन्छन्, ‘चल्ने अपेक्षा गरिएका फिल्मले पनि निराश बनाए । कोरोनाको डरले फिल्म हेर्ने चाहना हराउँदै गएजस्तो लाग्छ ।’ यतिबेला हलमा ‘आमा’, ‘थप्पड’ र ‘द इनभिजिवल म्यान’ पनि चलिरहेका छन् ।


क्यूज सिनेमाज्, मल्टिप्लेक्स चेन क्यूएफक्ससहित राजधानीका अधिकांश हलले कोरोनाविरुद्ध सर्तकता अपनाइरहेका छन् । हलको टिकट काउन्टर र शौचालयमा स्यानिटाइजर राखिएको छ । हात धुनेबित्तिकै स्प्रेमार्फत सरसफाइ गरिन्छ । श्रेष्ठ भन्छन्, ‘हामीले सक्दो सजकता र सुरक्षा विधि अपनाइरहेका छौं तर दर्शकलाई हलसम्म तान्न सकिएको छैन ।’ सरकारले बिहीबार संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिस भेला हुने सिनेमा हल, सभासमारोह, सामाजिक कार्य एवं मेलामहोत्सव सहभागी नहुन आह्वान गर्ने निर्णय गरेको थियो । यसको प्रभाव पनि हलमा देखिन थालिसकेको छ ।


एकातिर प्रदर्शनरत फिल्मकै हालत खराब छ, अर्कातिर रिलिज मिति तोकिएका फिल्म स्थगित भइरहेका छन् । यसले पनि दर्शकमा वितृष्णा पैदा भइरहेको हल सञ्चालक बताउँछन् । शुक्रबारबाट प्रदर्शन हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रोकियो । आउँदो शुक्रबार चल्ने ‘नीरफूल’ अनिश्चित समयका लागि सरेको छ । अक्षयकुमार स्टारर प्रतीक्षित फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन स्थगित भएको छ । यो यस वर्षकै ठूलो फिल्ममध्ये एक हो । ‘अंग्रेजी मिडियम’ पनि अन्तिम समयसम्म चल्ने/नचल्ने निश्चित थिएन । बिहीबार राति नेपाल आएको थियो ।


श्रेष्ठका अनुसार रिलिजका क्रममा रहेका फिल्म रोकिँदा चलिरहेका फिल्ममा समेत असर पर्दो रहेछ । ‘अहिले नै हल बन्द गर्नुपर्ने अवस्था आइसकेको छैन,’ श्रेष्ठले चिन्तित हुँदै भने, ‘तर, नयाँ फिल्म रिलिज भएनन् भने त्यस्तो नहोला भन्न सकिन्न । पुरानो फिल्मले मात्र कति दिन धान्न सक्छ र ?’ भारतको नयाँदिल्लीमा हल, स्कुल, कलेज बन्द गरिएपछि हामीकहाँ पनि त्यसको प्रभाव परेको उनले बताए ।


हलवालाहरूको छाता संगठन नेपाल चलचित्र संघले भने तत्कालका लागि हल बन्द गर्नुपर्ने आवश्यकता नभएको बताउँदै आएको छ ।


हल ठप्पजस्तै भए पनि फिल्मको सुटिङ भने रोकिएको छैन । गत बिहीबारबाट दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ फ्लोरमा गएको छ । लामाका अनुसार पोखरा आसपासका क्षेत्रमा २५ दिन फिल्म खिचिने छ । पोखरामै अर्को फिल्म ‘परदेशी २’ को छायांकन भइरहेको छ । निर्माण पक्षका अनुसार पोखरापछि पाल्पा र काठमाडौंमा सुटिङ हुने छ । नारायण रायमाझी निर्देशित फिल्ममा केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत कलाकारको अभिनय छ । त्यस्तै, ‘ए मेरो हजुर ४’ को पनि सुटिङ रोकिएन । कास्कीपछि फिल्म काठमाडौंमा खिचिँदै छ । ‘मन परेसी’ र ‘प्रेमपूजा’ पनि फ्लोरमा जाने तयारीमा छ ।


जब कि फिल्म निर्माताहरूको छाता संघठन निर्माता संघले फागुन २२ गते नै सुटिङ रोक्न अनुरोध गरेको थियो । सरकारले कोरोना संक्रमणबाट बच्न पारिवारिक जमघट, मेला, महोत्सवजस्ता कार्यक्रम सरिक नहुन र स्थगन गर्न आग्रह गरेपश्चात् संघले जारी गरेको विज्ञप्तिमा चलचित्रको छायांकन रोक्न अनुरोध गरेको थियो । तर, संघको यो निर्णयको फिल्मकर्मीले नै आलोचना गरिरहेका छन् ।

‘चलचित्र निर्माता संघ भनेको प्रशासनिक संयन्त्र होइन । यसमा सबै निर्माता सदस्य छैनन् ।


त्यसैले संघले भनेको मान्नैपर्छ भन्ने छैन,’ निर्देशक लामाले भने, ‘फिल्म निर्माणसँग सम्बन्धित अन्य संघसंस्थासँग सल्लाह नगरी एकलकाँटे शैलीमा निर्णय गर्नु अपरिपक्वता हो ।’ विज्ञप्ति जारी गर्नुअगाडि सुटिङ भइरहेका र जाने तयारीमा रहेका फिल्मका निर्मातासँग परामर्श गर्नुपर्ने उनको भनाइ छ । ‘पाँच–सात सय दर्शक जम्मा हुने सिनेमा हल बन्द गरिएको छैन, सुटिङ सेट त २५–३० जना मात्र हुन्छ । हलको दाँजोमा सेटमा खतरा कम हुन्छ । अरू काम पनि निर्बाध भइरहेका छन्,’ लामाले भने । प्रकाशित : चैत्र १, २०७६ ०८:०१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्यालयमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेको ब्रिटिस इंग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालयमा आयाजित सांस्कृतिक कार्यक्रममा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर १४ वर्षीय भरत कँडेलको मृत्यु भएको हो । 

बाँके प्रहरीका अनुसार नेपालगन्ज–१९ कारकादो बाइपासमा रहेको सो विद्यालयमा शुक्रबार करेन्ट लागेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । उनले शवको पोस्टमार्टम शनिबार मात्र हुने भएको कारण थप जानकारी आउन सक्ने बताए ।

मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले विद्यालयमा भएको सो घटना दु:खद भएको बताए । ‘नराम्रो घटना भयो, हामी निकै दुखी भएका छौं ।’ उनले भने,‘ठूलो पानी परिरहेको थियो, आफनै आँखा अगाडि एक्कासि चिप्लिएर ढले ।’

प्रकाशित : चैत्र १, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×