हल बन्द : हलवाला भन्छन्, 'सरकारबाट राहतको आश छ'

रीना मोक्तान

काठमाडौँ — सरकारले वैशाख १८ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेसँगै अलमलमा रहेका नयाँ फिल्मको प्रदर्शन टरेको छ ।

हल बन्द : हलवाला भन्छन्, 'सरकारबाट राहतको आश छ'

कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियमलगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गरेको हो।


सरकारको यो निर्णयसँगै चैत २८ गते प्रदर्शनमा आउने 'प्रेमगीत ३' र 'चपली हाइट ३'को प्रदर्शन मिति सरेको छ । सरकारको निर्णयपछि प्रेमगीतका निर्माता सन्तोष सेनले फेसबुकमा आफूहरुलाई अब झन् समय मिलेको भन्दै ट्रेलर र गीत उपयुक्त समयमा रिलिज गर्ने लेखेका छन् ।


यसअघि 'म यस्तो गीत गाउँछु २', 'नीरफूल'ले प्रदर्शन मिति सारिसकेका छन् । कोरोनाकै कारण शिवहरि पौडेल निर्देशित फिल्म 'लक्का जवान' पनि पछाडि धकेलियो । हल नै बन्द भएपछि वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'हिरो रिटर्न्स', 'हिजोआजका कुरा' स्वत सर्ने भएका छन् ।


सरकारको यो निर्णयको चलचित्र क्षेत्रले सकारात्मक रुपमा लिएको छ । प्रदर्शकहरुको संगठन चलिचत्र संघका अध्यक्ष मधुसुदन प्रधानले सरकारको निर्णयको स्वागत गर्दै संघले सबै सदश्यलाई हल बन्द गर्न निर्देशन दिएको बताए । अभिनेता तथा निर्मार्ता दीपकराज गिरी सरकारको यो निर्णय सही भएको बताउँछन् । 'सरकारले हल बन्द निर्णय गरेको छ यो सही छ । अमेरिका-स्पेनजस्ता देशलाई त गाह्रो छ । हामीले बेलैमा सतर्कता अपनाउनु पर्‍यो,' दीपकले भने ।


फिल्म हलका कर्मचारीको तलब व्यवस्थापन समस्या

राजधानीका ३५ भन्दा बढी फिल्म हल बन्द हुँदा हल संचालकहरुलाई करोडौंको घाटा हुने अध्यक्ष प्रधानको भनाई छ । 'हल बन्द भएपछि घाटा त भइहाल्छ नि । देशभरी १ सय ६० सिनेमा हल चालु अवस्थामा छन् । यसले हलका सबै कर्मचारीको जीवनमा प्रभाव पारेको छ,' उनले भने, 'हल बन्द गरे पनि हलमा आवद्ध कर्मचारीलाई तलब त दिनै पर्‍यो । त्यसको लागि छलफल गर्न बाँकी नै छ ।'


क्यूएफएक्स च्यानल अन्तर्गतका हलहरुमा ३ सय ५० जना कर्मचारी छन् । हाउस किपिङका ३ सय जना । हल बन्द हुँदा ती कर्मचारीलाई कसरी मिलाउने चिन्ता बढेको क्यूएफएक्सका सिइओ रोशन अडिगा बताउँछन् । उनी यस्तो समयमा सरकारबाट राहत पाउने आश रहेको पनि बताउँछन् । 'सरकारले निर्णय गरेपछि हल त बन्द गर्नु पर्‍यो,' उनले भने, 'सरकारको निर्णय राम्रो हो । तर, हामीले कसरी बाँच्ने त्यो अर्को पक्ष भयो । काम गर्नेहरुलाई छुट्टी पठाउनु पर्‍यो । सरकाले केही राहत दिन्छ भनेर आश गरेका छौं ।'


उनले भूकम्पको बेलाजस्तै यसपाली पनि कम्पनीले कर्मचारीहरुलाई तलब दिने बताए । 'काम गर्ने साथीहरुको जीवनमा असर गर्छ । तलब त हामी दिइहाल्छौं । भूकम्पमा पनि दिएका थियौं । तर, कम्पनीले कति गर्न सक्छ भन्ने हो,' उनले थपे ।


यसरी हल बन्द गर्दा हालै खुलेको नयाँ हल मर्कामा पर्ने उनको तर्क छ । 'व्यापारमा त असर गरेको छ नै। नयाँ हललाई अहिले बढी समस्या छ । कति हलवालाले बैंकसँग ऋण लिएका हुन्छन्,' उनले भने ।


त्यस्तै क्यूज सिनेमाजका म्यानेजर राकेश श्रेष्ठ हल बन्द गर्दा हुँदा संचालकलाई समस्या भएको सुनाउँछन् । 'हलमा कर्मचारी ४५ जना हुनुहुन्छ । उहाँहरुलाई तलब दिनुपर्‍यो । हलको भाडा तिर्नुपर्ने हुन्छ । बैंकको ऋन दिनु पर्‍यो,' उनले भने, 'हल बन्द हुँदा दर्शकको हल आउने बानी हट्दै जान्छ । यसपछि पनि दर्शकलाई हलसम्म तान्न ४ महिना लाग्छ । त्यसैले धेरै नै गाह्रो हुन्छ । घाटा त हुने भयो नै । सरकारसँग राहतको आश गरेका छौं । माग गरेका पनि छौं ।'

प्रकाशित : चैत्र ६, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?