फिल्ममा कोरोना प्रभाव : सिजनमै सुक्खा

एक दर्जन फिल्मको रिलिज स्थगित, करोडौं लगानी जोखिममा  

काठमाडौँ — निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ मा चार करोड लगानी गरिसकेका छन् । चैत २८ गते प्रदर्शन मिति तोकेर पोस्टर र टिजर सार्वजनिक गरे । खर्च ठूलो भएकाले सुरुवातबाटै बक्सअफिसमा खरो उत्रनुपर्ने बाध्यता छ । त्यसैले नयाँ वर्षको दाउ छोपेका थिए तर रिलिजको तीन साता बाँकी रहँदा फिल्म नचलाउने मुडमा पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) कारण हल सुनसान भएपछि सेनले रिलिज स्थगित गर्न लागेका हुन् ।

फिल्ममा कोरोना प्रभाव : सिजनमै सुक्खा

‘मान्छेहरु हलमा जान डराइरहेका छन्, सबैलाई स्वास्थ्यको चिन्ता छ, यस्तो सुस्तता छाएको बेला फिल्म चलाउँदा हामीलाई नै घाटा लाग्छ,’ सेनले दुखी हुँदै भने । यो फिल्मको ओभरसिज राइट १ करोडमा बिक्री भएको छ । ओभरसिज वितरकले पनि केही समय नचलाउन आग्रह गरेको उनले बताए ।

कोरोनाको भयले ‘प्रेमगीत ३’ सँगै करिब एक दर्जन फिल्मको प्रदर्शन रोकिँदै छ । रिलिज धकेलिँदा लगानीको भार बढ्छ भने दर्शकको फिल्मप्रतिको चाह घट्छ । सेनले भने, ‘एकपछि अर्को फिल्म सर्दा करोडौं लगानी जोखिममा परेको छ ।’ अहिले ‘स्टक’मा बसेका फिल्म पछि एकैपटक चलाउनुपर्ने हुन्छ । दर्शक बाँडिन्छन्, व्यापार कमजोर हुन्छ । वितरक करण श्रेष्ठ भन्छन्, ‘उसै त हप्तैपिच्छे दुई–तीन फिल्म जुध्छन् । झन् लामो समय चल्न नपाएपछि फिल्म थुप्रिन्छन् । त्यसैले कोरानोको त्रास हटेपछि पनि सिनेमाका लागि सुखद स्थिति बनिहाल्दैन ।’ निर्मातालाई एमजी (मिनिमम ग्यारेन्टी) रकम दिइसकेका फिल्मसमेत रोकिएको श्रेष्ठले दुखेसो गरे ।

कोरोनाको मारमा परेको पहिलो नेपाली फिल्म हो, ‘म यस्तो गीत गाउँछु २’ । पूर्वनिर्धारित प्रदर्शन मिति फागुन ३० भन्दा एक साताअघि यो फिल्म अनिश्चित समयका लागि सरेको घोषणा गरिएको थियो । निर्माता/अभिनेत्री पूजा शर्माका अनुसार प्रमोसनमा खर्चिएको २० लाख रुपियाँ खेर गएको छ । फिल्मको लगानी २ करोड ८० लाख रुपैयाँ पुगेको शर्माले जानकारी दिइन् । फागुन ७ गते प्रदर्शन हुने भनिएका ‘नीरफूल’ र ‘बद्रिबहादुर’ पनि सरेका छन् । ‘सुस्केरा’ पनि पहिले घोषणा गरे अनुरुप चैत १४ गते नचल्ने वितरक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, मल्टिस्टारर फिल्म ‘लक्का–जवान’ पनि चैत २१ गते नआउने पक्का भएको छ । निर्माता किरण केसी भन्छन्, ‘डरैडर छ, अब सर्नुको विकल्प भएन । भदौतिर रिलिज गर्ने योजना छ ।’ फिल्ममा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको केसीले जानकारी दिए ।

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित ‘माइकल अधिकारी’ चैत २८ बाट पछि हटेको छ । तर, यही दिन प्रदर्शन तोकिएको ‘चपली हाइट ३’ भने चल्ने सम्भावना छ । निर्माता अर्जुनकुमार भन्छन्, ‘हल बन्द भयो भने त सार्नै पर्‍यो नत्र हामी सार्दैनौं । नेपाली फिल्मलाई पुग्ने दर्शक आइरहेका छन् ।’ तर, प्रदर्शन मिति नजिकिरहँदा यसको प्रमोसन देखिन्न ।

कोरोनाले वैशाखको प्रदर्शन तालिका समेत अस्तव्यस्त हुने भएको छ । ‘हिजो आजको कुरा’ वैशाख १२ मा प्रदर्शन हुनेमा निर्माता सन्तोष पन्त ढुक्क छैनन् । पर्ख र हेरको अवस्थामा रहेको उनले सुनाए । ‘२ करोड खर्च भएको फिल्म हत्तारिएर चलाउने कुरा भएन । त्यसैले माहोल कस्तो बन्छ, हेर्दैछौं,’ पन्तले भने । हिन्दी फिल्म आएन र हल खुलिरहयो भने चलाउने सुरमा छन् उनी । ट्रेलरसहित अन्य प्रचारात्मक सामग्री तयारी अवस्थामा राखिएको छ । त्यस्तै, रेखा थापा अभिनीत ‘हिरो रिटर्न्स’ वैशाख २८ रिलिज हुनेमा शंका छ । टाइगर श्राफको ‘बागी ३’ समेत अपेक्षाकृतरुपमा नचलेपछि नेपाली निर्माताहरु हच्किएका हुन् । गत शुक्रबार प्रदर्शन भएका ‘अंग्रेजी मिडियम’ र ‘ब्लडसट्’ ले पनि दर्शक तानेनन् । ‘अहिले फिल्म चलाउँदा सिधैं डुबिन्छ भनेर निर्माता पछि हटेका हुन् । हामीले पनि चलाउन जोडबल गरिरहेका छैनौं,’ वितरक श्रेष्ठले भने ।

त्यसो त, कोरोनाले आतंक मच्चाउनु अगावै पनि नेपाली फिल्मको हालत दयनीय थियो । ‘जात्रैजात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘छ माया छपक्कै’ लगायतका केही फिल्मले मात्र यो वर्ष बक्सअफिसमा गतिलो प्रदर्शन गरे । मंसिर यता त पूरापूर खडेरी लाग्यो । कयौं फिल्मले देशभर दश लाख ग्रस कलेक्सन गर्न सकेनन् । यसबीच केही साता हलमा नयाँ फिल्म लागेनन् । सिताराम कट्टेल र कुञ्जना घिमिरेको ‘सेन्टी भाइरस’ ले पनि सुरुको दुई दिनमात्र हलमा भीड जम्मा गर्‍यो । ‘आमा’ को व्यापार औसतमै सिमित भयो ।

फागुन लागेपछि भने हलमा दर्शक तानिने आशा थियो । किनभने, फागुन नेपाली फिल्मको सिजन मानिन्छ । जाडो हट्छ, शिवरात्री, फागुजस्ता पर्वमा बिदा हुन्छ । त्यस्तै, एसईईसहित स्कुल तहका अन्य परीक्षा सकिने भएकाले चैत पनि सुखद मानिन्छ । ‘तर, कोरानाले सिजनमा समेत सुक्खा लाग्यो । निर्माताभन्दा प्रदर्शक बढी मर्कामा परेका छन्,’ वितरण कम्पनी स्टेसन फाइभका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठको ठम्याइ छ ।

हललाई धौधौ

मल्टिप्लेक्स चेन क्युएफएक्सका सिइओ रोशन अडिगाका अनुसार यो वर्ष नेपाली मात्र होइन, विदेशी फिल्म पनि चलेका छैनन् । कोरोनाको त्रासपछि त हलले थप संकट व्यहोर्नुपरेको छ । दिनानुदिन दर्शक पातलिँदै छन् । ‘पहिले हाम्रो औसत अकुपेन्सी ५० प्रतिशत थियो, अहिले २० प्रतिशतमा झरेको छ,’ अडिगाले चिन्तित हुँदै भने, ‘नयाँ फिल्म चल्दा त दर्शक आएका थिएनन् । अब पुरानो फिल्मले कहिलेसम्म धान्छ, टुंगो छैन ।’ राजधानीमा मात्र ३१ मल्टिप्लेक्स स्क्रिन छन् । सिंगल थिएटर पनि सुनसान हुन थालेको छ ।

मल्टिप्लेक्स हलले कोरोनाविरुद्ध सर्तकता अपनाइरहेका छन् । टिकट काउन्टर र शौचालयमा स्यानिटाइजर राखिएको छ । तर सजकता र सुरक्षा विधि अपनाउँदासमेत दर्शक हलसम्म तानिएका छैनन् । सरकारले गत फागुन २९ गते बिहीबार संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरु भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सवमा सहभागी नहुन आहृवान गर्ने निर्णय गरेको थियो । त्यसअगावै काठमाडौं जिल्ला प्रशासनले आवश्यकबाहेक घर बाहिर ननिस्कन र भीडमा नजान आग्रह गरेको थियो ।

हलमा संकट, सुटिङ निरन्तर

नयाँ फिल्म नआउने भएपछि हल सञ्चालक पुरानै फिल्मको पुनःप्रदर्शन गर्ने गृहकार्यमा जुटेका छन् । अडिगा भन्छन्, ‘हल बन्द भयो भने पछि दर्शकलाई तान्न गाह्रो हुन्छ । त्यसैले पुरानै फिल्मबाट भए पनि जसोतसो हल चलाइराख्ने जमर्को गर्दैछौं ।’ हललाई जोगाउनु निर्माता र वितरकको पनि दायित्व भएको स्टेसन फाइभका सिइओ श्रेष्ठको भनाइ छ । ‘नयाँ फिल्म चलाउने अवस्था नभए हामीले पुरानै फिल्म दिएर भए पनि प्रदर्शकलाई बचाउने समय हो यो,’ उनले चिन्तित हुँदै भने, ‘हल बन्द हुने स्थिति आयो भने फिल्म देखाउने ठाँउ हुन्न । त्यस्तो नहोला भन्न सकिन्न ।’ स्टेसन फाइभले वितरण गरेका ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै–जात्रा’ र ‘घामड शेरे’ पुनःप्रदर्शनको सम्भावना रहेको उनले जानकारी दिए । ‘लभ डायरिज’ पनि फेरि चल्दैछ । हलले चाहेको खण्डमा ‘छ माया छपक्कै’ पुन चलाउन सकिने निर्माता दीपकराज गिरीले बताए ।

हल सञ्चालकको छाता संगठन नेपाल चलचित्र संघका प्रतिनिधिले मंगलबार अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडासँग कोरोना भाइरसका कारण हल समस्यामा परेकाले राहत प्याकेज घोषणा गर्न माग गरेका थिए । भेटमा खतिवडाले ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको र नेपाली चलचित्रको मध्यम र दिर्घकालीन विकासका लागि रणनीति बनाइरहेको आश्वासन दिएका थिए । फिल्म क्षेत्रमा देखिएको यो संकटबारे चलचित्र विकास बोर्ड भने मौन छ । प्रदर्शकलाई जसरी हुन्छ, हल टिकाइरहने चुनौती छ । दरबारमार्गस्थित क्युज सिनेमाजका म्यानेजर राकेश श्रेष्ठ भन्छन्, ‘भूकम्पपछि पनि हल सुनसान भएको थियो । दर्शकलाई पुनः हलमा ल्याउन एक वर्ष लाग्यो । फेरि त्यस्तै हुने खतरा बढेको छ ।’

प्रकाशित : चैत्र ४, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?