काठमाडौँ — कोराेना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एकल महिला समूहले सरकारलाई छहारी भवनहरु उपलब्ध गराउने भएकाे छ ।
मानव अधिकारको लागि महिला, एकल महिलाको समूहका तर्फबाट संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा भेटि क्वारेन्टाइन सेवाका लागि एकल महिला समूहको छहारी भवन उपलब्ध हुने बताएकी हुन् ।
विभिन्न जिल्लामा एकल महिला समूहका निम्ति बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइएको जानकारी दिँदै संस्थापक अध्यक्ष थापाले ती भवनमा ३ सय ६५ जनालाई राख्न सक्ने क्षमता रहेको बताइन् ।
समूहले सुनसरी, झापा, धनकुटा, संखुवासभा, काठमाडौं, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलालीमा रहेका भवनका विवरणसहित सरकारलाई उपलब्ध गराएको छ । समूहले क्वारेन्टाइन सेवाका लागि आवश्यक समयसम्म ती भवनहरु प्रयोग गर्न आग्रह गरेको छ ।
