हे जिङ अतिरिक्त अक्सिजनबिना विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो महिला हुन् ।
What you should know
काठमाडौं — अतिरिक्त अक्सिजनबिना विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हे जिङले पर्वतारोहणका २० बर्से प्रेरणादायी अनुभव सुनाएकी छन् । बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित 'एभरेष्ट समिटर्स समिट'मा सहभागी विश्वभरका सगरमाथा आरोहीबीच चिनियाँ आरोही हे जिङले हिमाल आरोहणमा कसरी मोह जाग्यो भनेर सुनाइन् ।
कार्यक्रममा उनले सन् २००६ मा चीनको क्विलिङ पर्वतमालामा पहिलो पटक पुगेपछि हिमालप्रति मोह जागेको सुनाइन् । त्यही पर्वतमाला आरोहणपछि संसारको 'छानो' भनेर चिनिने विश्वको सर्वोच्च शिखर सगरमाथा उक्लिने सपना जन्मिएको उनको भनाइ छ ।
औपचारिक रूपमा उनले सन् २०१२ मा उच्च हिमाल आरोहण यात्रा सुरु गरिन् । एक सामान्य आरोहीको रूपमा सुरु भएको उनको आरोहण यात्रा कीर्तिमानी आरोहीका रुपमा परिचय बन्यो । सफलता हासिल गर्न कुनै छोटो बाटो नभएको र केवल अनुशासन, समर्पण तथा दृढ इच्छाशक्तिले अगाडि बढाएको उनले उल्लेख गरिन् ।
सन् २०१६ देखि २०२५ सम्मको ९ वर्षमा उनले 'अतिरिक्त अक्सिजन' बिना विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण सफलतापूर्वक पूरा गरिन् । यस उपलब्धिसँगै उनी सबै १४ उच्च शिखरमा अतिरिक्त अक्सिजनबिना आरोहण गर्ने पहिलो महिला बनिन् । उनलाई गिनिज वर्ल्ड रेकर्डले पनि सन् २०२५ मा कीर्तिमानको लागि प्रमाणपत्र दिएको छ ।
सम्बोधनका क्रममा उनले पर्वतारोहण प्रकृतिमाथि विजय हासिल गर्ने विषय नभई मानवको सीमा र आत्मबोध बुझ्ने यात्रा भएको बताइन् । 'हामीले हिमाललाई जित्न सक्दैनौं । वास्तविक चुनौती भनेको हिमालले तय गरेको सीमाभित्र आफूलाई बुझ्नु हो,' उनले भनिन् ।
हे जिङले उच्च हिमाली क्षेत्रको एकान्त, मानसिक दबाब र कठिन परिस्थितिले आफूलाई अझ बलियो बनाएको बताइन् । प्रत्येक सफलतापछि फेरि नयाँ सुरुवात गर्नुपर्ने भन्दै उनले कार्यक्रममा सहभागी नयाँ आरोहीहरूलाई 'इम्टी कप माइन्डसेट' अर्थात् नम्रता र सिक्ने भावनासहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिन् ।
विशेषगरी युवा र महिलालाई सम्बोधन गर्दै उनले उमेर, लिंग वा डरले सपना सीमित गर्न नहुने सन्देश दिइन् । उनले भनिन्, 'साहसको कुनै लिंग हुँदैन ।'
सम्बोधनको अन्त्यमा उनले नेपाली पर्वतारोही तथा व्यवसायी, सरकारलाई विश्वभरका एभरेस्ट आरोहीहरूलाई एकै ठाउँमा भेला गराई अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिइन् । सम्मेलनमा नेपालसहित २० देशका सगरमाथा आरोही सहभागी छन् । यस वर्षको वसन्तकालीन हिमाल आरोहण सिजनको उत्तरार्धमा पर्यटन मन्त्रालय, एभरेष्ट अलायन्सले एभरेष्ट समिटर्स समिट आयोजना गरेको हो ।
मन्त्रालयले निजी क्षेत्रसँगको सहकार्यमा यो दोस्रो सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा पर्वतारोहण क्षेत्रका चुनौती, जलवायु परिवर्तन, हिमाली समुदाय, आरोहणमा भइरहेका प्राविधिक परिवर्तनलगायतका विषयमा कार्यपत्र र सत्रहरू राखिएको आयोजक संस्था अलायन्सका अध्यक्ष सुर्दशन नेपालले बताए ।
