बाँदर आतंक : मान्छे सहरतिर, बाँदर गाउँतिर

नेपालका पहाडी बस्तीहरू बाँदर आतंकको दोहोरो चपेटामा छन्– एकातिर बाली सखाप हुने चिन्ता, अर्कोतिर घरभित्रै पसेर आक्रमण गर्ने त्रास ! मान्छेहरू थातथलोबाट विस्थापित हुन बाध्य छन् ।

जेष्ठ ८, २०८३

रमेशचन्द्र अधिकारी, माधव अर्याल, डम्बरसिं राई, आनन्द गौतम, विनोद घिमिरे, रमेशकुमार पौडेल, केदार शिवाकोटी, सुमनजंग थापा, एलिना राई, सन्तोष महतारा, मोहन चन्द

Monkey terror: People head to the city, monkeys head to the village

What you should know

ताप्लेजुङ, खोटाङ, दोलखा, धरान, धनकुटा, चितवन, पर्वत, पाल्पा, गुल्मी र बैतडीबाट रिपोर्टिङ : — गएको प्रतिनिधिसभा निर्वाचनमा मध्यपहाडी जिल्लाका उम्मेदवारको सबैभन्दा ठूलो ‘चुनावी एजेन्डा’ थियो– बाँदर नियन्त्रण । वर्षौंदेखि बाँदरको सास्ती खेपिरहेका मतदाताको उम्मेदवारसमक्ष पहिलो माग नै यसको नियन्त्रण थियो । मतदातासितको वाचाअनुरूप ती जिल्लाका सांसदले अहिले सदनमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन् । तर, नियन्त्रण–विधिमा भने मत बाझिएको छ– केही सांसद बाँदर मारेरै भए पनि आतंक रोक्नुपर्ने पक्षमा उभिएका छन्, केहीले ‘मार्ने’ विषय अमानवीय भन्दै कडा आपत्ति जनाइरहेका छन् ।

मध्यपहाडी जिल्लामा बाँदर आतंक कसरी चुलिएको छ भने यसले बालीनाली मात्रै सखाप पारेको छैन, पुस्तौंदेखिको बस्ती नै उजाड बनाइरहेको छ । बाँदरको हैरानी सहन नसकेर झन्डै दुई दर्जनभन्दा बढी गाउँ पूर्ण रूपमा रित्तिएका छन् । पूर्वी पहाडको ताप्लेजुङदेखि सुदूरपश्चिमको बैतडीसम्मै बाँदरकै सन्त्रास छ, जसले मान्छेहरूलाई आफ्नै थातथलोबाट लखेटिरहेको छ ।

०००

ताप्लेजुङको फुङलिङ–३, कार्तिकेका लीलाराम पुरीको घर अचेल सुनसान छ । उनका पाँच छोरामध्ये चारजना तराईको झापा र मोरङ बसाइँ सरे, एक छोरा गाउँकै क्यानेम झरे । लीलारामका भाइ तुलारामको व्यथा पनि उस्तै छ । तुलारामका सातमध्ये ६ सन्तानले पनि जन्मथलो छाडिसके । बाँदर उपद्रोले गाउँमा बसिनसक्नुभएपछि दुई दाजुभाइका १० परिवारले पुस्तौंदेखिको थातथलो चटक्कै छाडे ।

लीलाराम र तुलारामका छिमेकी नेत्रप्रसाद भट्टराईका अनुसार, यो पलायनको मुख्य कारण नै रातो बाँदर र ढेडुको निरन्तर आतंक हो । ‘परिवारमा धेरैजना हुँदा झर्‍यापझुरुप भेला भएर बाँदर खेद्न जान्थे,’ भट्टराई भन्छन्, ‘धेरै सदस्य भएका परिवार हिँडेसँगै थप अन्य एक दर्जन परिवार पनि क्रमशः हिँडेपछि बस्ती नै रित्तियो ।’

र, यसरी बस्ती रित्तिएपछि कार्तिकेमा खेतीपाती हुन छाडेको छ । अहिले बस्तीमा बाँदर, ढेडु, दुम्सी र मृगको रजाइँ छ । घरहरू खण्डहर बन्दै छन्, हराभरा बस्ती वन बन्दै छ ।

Monkey terror: People head to the city, monkeys head to the village

वनको क्षेत्र बढ्न थालेपछि र जंगलमा खानेकुरा पाउन छाडेपछि बाँदर बाली अनि बस्तीमा छिर्दै छन् । फुङलिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको तमोर नदीदेखि माथिल्लो साप्तेल, भेडाबारी, गुहेंली, आगेदिम, भाटे, ल्याङ्वा, खोदम्बु, बेजम्बुदेखि नाफेल्याङ्का बासिन्दाहरू बाँदरको ‘रजगज’ ले आजित छन् । बाँदरले दिएको सास्तीबारे आगेदिमका स्थानीय चेतराज घिमिरे भन्छन्, ‘धेरै मानिस बसाइँ हिँडेको कारण यही हो । हामीले चाहिँ यतै बसेर केही गरौं भन्ने प्रयास गरेका छौं । तर, अब हिँड्नुको विकल्प नै भएन । जे बाली लगाए पनि सुख नहुने भयो ।’

धनकुटाबाट बसाइँ सरेका गाउँमध्ये अग्रपंक्तिमा आउँछ– चौबिसे गाउँपालिकाको ४ नम्बर वडा । यो वडाका ९० घरबाट २ सय ७६ जना बसाइँ हिँडेका छन् । केही वर्षअघिसम्म ३५ घर रहेको यहाँको ठूलागाउँ टोलमा अहिले एउटा मात्रै घर बाँकी छ– टंक देवानको । पहिले–पहिले शिक्षा, स्वास्थ्य, बाटोघाटो, बिजुलीजस्ता पूर्वाधारका खोजीमा स्थानीयहरू गाउँ छाड्थे । तर, बिस्तारै गाउँमा विकास पुगे पनि अहिले बाँदरको बिज्याइँ थाम्न नसकेर मान्छेहरू बसाइँ सरिरहेका छन् । ‘अहिलेको मुख्य समस्या बाँदरकै हो,’ वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र मगर भन्छन्, ‘बाँदरकै कारण समथरतिरको लर्को बढेको छ ।’

बसाइँ सराइकै कारण यहाँको बाजथला, बाँसपानी, ठूलागाउँ, गैरीगाउँ, खानी गाउँ, कटवाल गाउँ, मानेडाँडा लगायतका स्थान खाली बन्दै गएको वडाध्यक्ष लोकेन्द्र मगर बताउँछन् । यहाँबाट हिँडेकाहरू झापा, मोरङ र सुनसरीमा थुप्रिएका छन् । स्वाँरा, सुरुंगी, बिष्टगाउँ र भैंसेटारको पातलो बस्ती पनि बाँदर आतंकले रित्तिँदै छ । र, स्थानीयहरू बसाइँ हिँड्ने मानसिकतामा छन् ।

धनकुटाको साविक तेलिया गाविस वडा नम्बर ६ को मार्से, फुर्केसल्ला, तित्रीबोटे गाउँमा मात्रै ७० परिवारको बस्ती थियो । अहिले ती गाउँमा जम्मा १३ घर बाँकी छन् । सामुदायिक वनले घेरिएका भन्ज्याङ डाँडा, रमिते, मार्से खाँमडाँडा, रातमाटेको यो पातलो बस्तीमा बाँदर आतंककै कारण किसानले गरिखाने अवस्था छैन । छेउछाउका धेरै किसान बाँदरको पिरलो सहन नसकेर बसाइँ हिँडिरहेको बताउँछन्– छथर जोरपाटी– ४ का वडाध्यक्ष टेकबहादुर घिसिङ । ‘बसाइँ सर्नेहरू अधिकांशले बाँदरकै उपद्रो सहन नसकेर थातथलो छोडेको बताउने गरेका छन्’, घिसिङ भन्छन्, ‘अहिले बाँदरको प्रकोप बढेर खाँमडाँडा, मार्से, फँडिरे, कर्कले, पिप्ले हुँदै पाथीभरासम्मै फैलिएको छ ।’

Monkey terror: People head to the city, monkeys head to the village

पूर्वी पहाडी जिल्लामा मात्रै होइन– मध्य, मध्यपश्चिम र सुदूरपहाडका जिल्लामा पनि बाँदरले बालीनाली मास्न थालेपछि गाउँलेहरू वैकल्पिक व्यवस्था र पेसा अँगाल्न जन्मथलो छाडिरहेका छन् । सिन्धुली, रामेछाप, दोलखा, स्याङ्जा, पर्वत, बागलुङ, अर्घाखाँची, गुल्मी, दैलेख र बैतडीका बाँदर प्रभावितहरू धमाधम गाउँ छाडिरहेका छन् । यसले गर्दा गाउँहरू अब रित्तिँदै छ ।

उदयपुरको विकट पहाडी क्षेत्र, ताप्ली गाउँपालिका–५ भदौरेका चक्रबहादुर मंग्रातीले जीवनैभर पसिना बगाएर जोतेका खेतबारी अनि आफू जन्मेको पुर्ख्यौली घर अन्ततः चटक्कै छाड्नुपर्‍यो । हरेक वर्ष मिहिनेतले लगाएको धान, मकै, कोदो, फलफूल र तरकारी बाँदरले आँखैअघि सखाप पारिदिन थालेपछि उनी निरीह बने । बाँदर भगाउन अनेक जुक्ति र उपाय अपनाउँदा पनि खेती जोगाउन नसकेपछि विकल्पहीन भएर चक्रबहादुर काठमाडौंको कीर्तिपुर बसाइँ सरेका छन् ।

हिजो आफ्नै खेतका मालिक मंग्राती अहिले कीर्तिपुरका गल्लीमा दैनिक ज्याला–मजदुरी गरेर परिवार चलाइरहेका छन् । बाँदर आतंकले उनलाई जन्मथलोबाटै विस्थापित गर्‍यो, एक किसानलाई मजदुर पनि बनायो । ‘खेती नै हाम्रो जीवन थियो, तर बाँदरले उत्पादन भित्र्याउनै दिएन,’ मंग्राती भन्छन्, ‘महिनौंको दुःख बाँदरले एक्कैछिनमा सखाप पारिदिएपछि गाउँ छाड्नुको विकल्प रहेन ।’

बाँदर आतंक सहनै नसकेपछि दोलखा भीमेश्वर–८, बाह्रकोचेका स्थानीयहरू २०७४ सालदेखि नै बसाइँ सरिरहेका छन् । घरभित्रै पसेर परिवारका सदस्यमाथि आक्रमण गरेपछि बाह्रकोचेका १५ परिवारले बस्ती छाडी सुरक्षित ठाउँमा बसाइँ सर्नुपरेको हो ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको ख्याहा, देउराली, कुसुमखोला, ठिमुरेमा, बगनासकाली गाउँपालिकाको चापपानी, दर्लमडाँडा, यम्घा, खानीगाउँमा र रामपुर नगरपालिकाको गाडाकोट माथागढीको चिदीपानीमा पनि बाँदरले असाध्यै सताएको किसानको गुनासो छ । पाल्पाकै तानसेन नगरपालिकाको धरमपानी, तेल्घा, बौघापोखराथोक, बोघागुम्हामा, रैनादेवी छहराको भुवनपोखरी सिद्देश्वर, सोमादी, सत्यवती लगायतका गाउँमा पनि बाँदरले सताएको छ ।

Monkey terror: People head to the city, monkeys head to the village

बैतडीको दशरथचन्द नगरपालिका–५ का पलचौडाँली, औला, कुमाली, बस्कोट, रिचपला, सिलाली, मार्कन्डगाउँ कोटिला, कर्पत, सिमली सिमतला, नौहाट दमरखोली, आइतभट्टगाउँ, सेल्लौटी बस्तीका ३ सयभन्दा बढी परिवार बाँदरकै कारण खेती हुने जमिन र घर छाडेर तराई बसाइँ सरेको वडाध्यक्ष केशवराज लेखक बताउँछन् ।

जिल्लाकै दोगडाकेदार गाउँपालिका–४ का जजला, साइखेतगाउँ, खालीगडा, चौडा, बसालीका एक सय ८० परिवार बाँदरकै कारण विस्थापित भएको दोगडाकेदारका पूर्वअध्यक्ष सुरेन्द्र भट्ट बताउँछन् । भन्छन्, ‘गाउँमा स्थानीयले खेतीपाती गर्न छाडेपछि र खानेकुरा नपाएपछि बाँदर घरभित्रै पस्न थाले र थुप्रै घरपरिवार विस्थापित भए ।’

०००

बालीनाली सखाप पार्ने, बिज्याइँ गर्ने अनि अन्नपात नष्ट गर्ने मात्रै होइन, बाँदर आक्रमणले बस्ती नै त्रसित बनेको छ । बाँदरको हूल घरभित्रै पस्ने र धपाउन खोज्दा उल्टै झम्टिने गरेको नमिठो अनुभव सुनाउँछिन्– धरानकी पञ्चमाया राई । घरभित्रै पसेर खानेकुरा जुठो हालिदिने, सरसामान च्यात्ने र फुटाउनेजस्ता बाँदरको उपद्रोले सर्वसाधारण हत्तुहैरान भएका छन् ।

‘गल्ली, बजार, घर र विद्यालयमा देखिने हूलका हूल बाँदरले सर्वसाधारण आतंकित छन्,’ राई भन्छिन्, ‘छतमा सुकाइएका खानेकुरा सुरक्षित राख्न कठिन छ । छतमा केही सुकायो कि बाँदरले खाइदिइहाल्छ । खेदाउँदा उल्टै झम्टिन्छ । आफैं लखतरान पनि भइन्छ, रुँगेरै बस्नुपर्छ ।’ आफूले सुकाएको लुगासमेत बाँदरले च्यातिदिने, लगिदिने र फोहोर पारिदिने गरेको दुःखेसो सुनाइन् पञ्चमायाले । भनिन्, ‘खानेकुरा त खायो खायो, अब लुगासमेत बिगार्न बाँकी राखेन ।’

बाँदरले खानेकुरा चोरी गर्ने मात्रै नभई कहिलेकाहीं आक्रमण नै गर्ने गरेको स्थानीय मनीषा देवान बताउँछिन् । उनका अनुसार, करिब ६ महिनाअघि उनी र उनकी ८ वर्षे छोरी बाल्कोनीमा बसिरहेका बेला अचानक बाँदरको हूलले आक्रमण गरेको थियो । ‘धपाउन खोज्दा झम्टिएर छोरीलाई चिथोर्‍यो,’ मनीषा भन्छिन्, ‘रेविजको भ्याक्सिन लगाउनुपर्‍यो ।’

Monkey terror: People head to the city, monkeys head to the village

धरानका बासिन्दाले २०७० सालमा ‘बाँदरपीडित संघर्ष समिति’ नै गठन गरेर तीनै तहका सरकारको ध्यानाकर्षण पनि गराएका थिए । स्थानीय, प्रदेश तथा संघीय सरकारले यसमा गम्भीरता नदेखाएको धरान–१२ की शान्त राई बताउँछिन् । ‘पटक–पटक ध्यानाकर्षण गराए पनि बाँदर आतंक समाधान भएन,’ शान्त भन्छिन्, ‘सबैले मजाक सम्झेका छन् । हामीलाई बसिनसक्नुछ । अहिले सामाजिक सञ्जालमा हेर्दा त मजा लाग्ला, भोग्नेलाई मात्रै थाहा हुन्छ पीडा ।’

त्यस्तै, पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानकी जमुना पौडेलले पनि बाँदर आतंकका कारण ज्यानै जोगाउन मुस्किल भइरहेको गुनासो पोखिन् । ‘बूढी मान्छे छु, घरमा कोही नभएको मौका छोपेर बाँदरका हूल घरमा छिर्छन्,’ जमुनाले भनिन्, ‘भातको भाँडै बोकेर लैजान्छन्, धपाउन खोज्यो उल्टै चिथोर्न आउँछन् ।’

०००

बाँदर–आतंक सहन नसकेर थातथलो नै छाड्नेहरूको संख्या बढ्दो छ भने गाउँमै बसेर खेतीपाती गर्नेहरूले पनि उत्तिकै सास्ती भोग्नुपरेको छ । खेतबारीमा जे लगाए पनि बाँदरले सखाप पारिदिने हुनाले अहिले किसानहरू गाउँ नै छाड्ने मनस्थितिमा पुगेका छन् ।

फुङलिङ–८, भेडाबारीका चैतन्य घिमिरे पनि हुन् एक बाँदरपीडित किसान । उनले मकै, धान खेतीदेखि फलफूल, तरकारी र रुखका बिरुवासम्म लगाए । तर, न कुनै बाली जोगाउन सके, न भरपर्दो रोकथामको उपाय नै भेटे । बाँदरले सबै बाली सखाप पारेपछि विकल्पका रूपमा लामपातेका रुख पनि रोपे । त्यो पनि जोगाउन सकेनन् । घिमिरे भन्छन्, ‘बिरुवामा बाँदर चढ्छ र सोइसोइला खेल्छ । त्यसको टुप्पो किरिक्क भाँचिदिन्छ । टुप्पो भाँचिदिएपछि रुख अग्लो नहुने रहेछ । टुप्पो भाँचिएपछि त्यहींबाट बाङ्गो हुने रहेछ । केही उपाय लागेन । अरू त अरू, बाँसको तामा पनि भाँचिदिएर नयाँ तामा हुर्कनै पाएन । अबको पाँच–सात वर्षमा बाँस पूरै मासिने भो । हामीचाहिँ यतै केही गरौं भनेर बसिराखेका छौं । बाँदर आतंक नरोकिने हो भने हामी पनि हिँड्नुको विकल्प भएन ।’

धनकुटाको छथरजोरपाटी गाउँपालिका तेलियास्थित मार्से टोलका योगेन्द्रप्रसाद घिमिरेको दैनिकी हो– बिहान मिर्मिरे उज्यालो खसेदेखि झमक्क साँझ परेसम्मै बारीमा उपद्रो मच्चाउने बाँदरको रुँगालो बन्नु । बिहानदेखि साँझसम्मै गोठालो नलागे बारीमा लगाइएका अन्न, तरकारी र फलफूल एकछिनमै सखाप पार्छ– बाँदरले । घरमा उमेरले ६३ वर्ष कटेका घिमिरे दम्पती मात्रै छन् । बारीमा पसेका बाँदर धपाइदिने न अरू परिवारका सदस्य छन्, न छिमेकी नै । ‘बाँदरले केही बाँकी राख्दैन,’ घिमिरे भन्छन्, ‘उहिले लसुन, प्याज, काँचो केरा बाँदरले छुँदैनथ्यो, अहिले केही राख्दैन ।’ फलफूल र अन्न जोगाउनै नसक्ने अवस्था उनको छ । तर, समाधानको उपाय केही छैन ।

मार्सेकै मेघराज खतिवडालाई पनि बाँदरले रुनु न हाँस्नुको अवस्थामा पुर्‍याएको छ । भन्छन्, ‘बारीमा बाली लाउने उपाय छैन । बाँदरको आतंकले भात खाने र सास फेर्ने फुर्सदसमेत छैन ।’ वरिपरिका बस्ती उठेपछि बाँदरले बाँकी रहेका पातला बस्तीमा पनि खेदोपाइलो गरेको उनको गुनासो छ । भन्छन्, ‘फलाएर, पकाएर केही खान पाइँदैन, सबै बाँदरकै लागि हुन्छ ।’

बाँदरले किसानलाई कतिसम्म पिरोलेको छ ? त्यो बुझ्न कटारी नगरपालिका–२ गुराँसका उद्धव खत्रीको अनुभव पर्याप्त छ । गत फागुनमा बाँदरले बोटमै आँपका चिचिला सखाप पारिदिएपछि उनी निकै चिन्तित छन् । फूल लाग्न थालेदेखि नै बाँदरको रजाइँ चल्ने भएकाले आफ्नो सम्पूर्ण मिहिनेत खेर गइरहेको उनको दुखेसो छ । भन्छन्, ‘फूल खेलेदेखि नै बाँदरले हैरान बनाउँछ । पक्दासम्म त केही बाँकी राख्दैन । फलफूल मात्रै होइन, रोपेका मकै वा अरू बाली पनि खोस्रेर खान्छन् ।’

Monkey terror: People head to the city, monkeys head to the village

स्थानीयका अनुसार, वनजंगल विनाश हुँदै जाँदा र जंगलमा पर्याप्त आहारा नपाउँदा बाँदर बस्ती पस्न थालेका हुन् । उदयपुरगढी गाउँपालिका–४ ढुंगेका बाँदरपीडित कटकबहादुर मगर भन्छन्, ‘दिनभर त पहरा दिएकै हुन्छौं । कतिबेला हूल आएर सबै नष्ट गरेर जान्छ ।’

बाँदरले करेसाबारीका तरकारी, फलफूल मात्रै होइन– घरको बार्दलीमा राखिएका सामानहरू पनि नष्ट गर्न थालेको स्थानीय बताउँछन् । दोलखा शैलुङ गाउँपालिका–७, फस्कुका स्थानीयको दैनिकी पनि बारीको डिलमा बाँदर कुरेरै बित्छ ।

‘वर्षैभरि मिहिनेत गरेर लगाएको अन्नबाली छिनमै बाँदरले तहसनहस बनाउँछ,’ गोमा विक भन्छिन्, ‘कतिबेला कताबाट हूलका हूल बाँदर बारीमा पस्छ ? पत्तै हुँदैन ।’ बाँदर आतंकका कारण बर्सेनि जीविकोपार्जन गर्ने किसान बारी बाँझै छाड्न थालेका छन् । ‘पहिले त दिनमा मात्रै दुःख दिन्थ्यो बाँदरले,’ उनले भनिन्, ‘अहिले त रातिसमेत आउने गरेको छ । कहिलेकाहीं अन्न जोगाउन बारीको डिलमै रात बित्छ ।’ हूलका हूल बाँदरबाट मान्छे असुरक्षित हुँदै गएको उनी बताउँछिन् ।

गुल्मी, रेसुंगा–१२ का खिमबहादुर थापाका अनुसार, बाँदर र बँदेल आतंक नै किसानको मुख्य समस्या हो । ‘खेतीपाती गर्न पाइँदैन,’ खिमबहादुर भन्छन्, ‘बाँदर–बँदेलका कारण बसाइँसराइ तीव्र छ । आयआर्जनको मेलो नै खेती हो । बाँदरले गर्दा खेती गर्न पाइएको छैन, अनि कसरी बाँच्नु ?’

पाल्पाका किसानहरू पनि १० वर्षदेखि बाँदरबाट पीडित छन् । वर्षैभरिको खेती हूलका हूल आउने बाँदरले एकैछिनमा सखाप पारिदिने उनीहरू बताउँछन् । विगतका वर्षमा वन्यजन्तु नियन्त्रणका नीति तथा कार्यक्रम ल्याउने, तर बजेट विनियोजन नगर्दा किसान झन् पीडित भएको गुनासो रिब्दीकोट–३ का कृष्ण नेपालको छ ।

गाउँबाट मानिसहरू सहर पसेपछि अहिले गाउँमा बाँदरकै ‘राज’ चल्ने गरेको किसानको गुनासो छ । बाँदरले घरमा थन्क्याएको अन्नपात मात्रै होइन– बारीमा लगाएका मकै, गहुँ, तोरी र सागसब्जीसमेत उखेलेर हैरान पारेको छ । पाकेको बाली भित्र्याउनै नदिने, खाइदिने र उखेलेर सखाप पार्ने समस्याले आफूहरू आजित भएको बगनासकाली गाउँपालिका–९, चापपानीका किसान कृष्णप्रसाद भुसाल बताउँछन् ।

डिभिजन वन कार्यालय, पाल्पाले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न अम्रिसो, टिमुर, तेजपातलगायत खेती लगाउन सिफारिस गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार, किसानलाई वैकल्पिक खेतीमा जान सल्लाह दिने गरिएको छ ।

बैतडीमा पनि बाँदरको हैरानीले खेतीपाती हुने उर्वर भूमि बाँझो छ । दशरथचन्द नगरपालिका–५ का सुनित भट्ट भन्छन्, ‘स्थानीयले खेतीपाती गर्न छाडेपछि बाँदर घरभित्रै राखेको खानेकुरा खान झ्यालढोका तोडेरै भित्र जाने गरेको छ ।’ दशरथचन्द–४ का गणेश बोगटीका अनुसार, स्थानीयले खेती गर्न छाडेकै सात वर्षभन्दा बढी हुन थालिसक्यो, जसकारण खेतबारी अहिले झाडी बनिसकेको छ । भन्छन्, ‘मानामुरी फल्ने खेत छाडेर कति गाउँले हिँडे, कतिले बाँझै छाडिदिए । र, ती जग्गा अब जंगल भइसके ।’

०००

बाँदरको बढ्दो सास्ती अन्त्य गर्न विभिन्न पालिकाले बजेट विनियोजनै गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । पालिकाहरूले ५ देखि १० लाख रुपैयाँसम्म बजेट विनियोजन गरेका छन् । कतै हेरालुका लागि त कतै बन्दुक (बाँदर तर्साउने) खरिद गर्न, कतै बाँदर पक्रन खर्च गरिएको छ । तर, स्थानीय भने बाँदर नियन्त्रणका लागि पालिकाको प्रयास केही समय प्रभावकारी बने पनि दीर्घकालीन हुन नसकेको बताउँछन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाले जेठ १ गते बाँदर धपाउन सार्वजनिक बिदा नै दियो । अत्यावश्यक सेवा बन्द गरेर नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि किसानसँगै बाँदर धपाउन भीरपाखा कुदिरहेका थिए । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ भन्छन्, ‘गाउँघरको खेतीबालीमा बाँदरले चलाइरहेको साम्यबादबारे राज्यको ध्यानाकर्षणका लागि सार्वजनिक बिदा दिएर अभियान चलाइरहेका छौं ।’

धनकुटा नगरपालिकाले १० लाख बजेट नै विनियोजन गरेर बाँदर पक्रिन सिपालु जनशक्ति ल्याई अभियान थालेको थियो, तर उक्त प्रयास निरर्थक सावित भएको स्थानीयको भनाइ छ । धनकुटाबाट ६ सय बाँदर स्थानान्तरण गरिएको बताइए पनि पछिल्लो समय आतंक कायमै रहेको स्थानीयको गुनासो छ ।

सहिदभूमि गाउँपालिकाले जंगल तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ । ‘वन वातावरण, जलवायु अनुकूलन’ शीर्षकमा बाँदर नियन्त्रणका लागि जंगलमै फलफूल, बिरुवा वृक्षरोपण गर्न थालेको पालिका अध्यक्ष मनोज राई बताउँछन् ।

Monkey terror: People head to the city, monkeys head to the village

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा बाँदर हेरालुका लागि ५ लाख विनियोजन गरिएको छ । त्यहाँ वार्षिक ३० मेट्रिक टन सुन्तला उत्पादन हुने गर्छ । बगैंचा गोडमेल र अन्य आवश्यक काममा भने ज्यामीका लागि वार्षिक ३५ लाख खर्च हुने गरेको जनाइएको छ ।

बालीनाली क्षति पुर्‍याउन थालेपछि पाख्रीबासले बाँदर नियन्त्रणका लागि दैनिक ज्यालादारीमा दुई जना हेरालु नियुक्त गरी परिचालन गरेको छ । गत वर्ष पर्वतको पैयुँ गाउँपालिकाले ३५ जना र पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाले वडाभर ९ जना बाँदर हेरालु नियुक्त गरेको थियो । यसपालि पनि हेरालु राख्ने योजना पालिकाको छ ।

उदयपुर ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेर बाँदर धपाउने बन्दुक खरिद गरेको थियो । ४२ वटा टोल विकास संस्थालाई एक–एक थानका दरले बन्दुक वितरण पनि गरिएको थियो । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार, सुरुसुरुमा बन्दुकको आवाजले बाँदर भाग्ने गरेका थिए । ‘पहिले आवाज सुन्नासाथ भाग्थे,’ अध्यक्ष विश्वकर्माले भन्छन्, ‘अहिले त बन्दुक पड्किँदा पनि वास्ता गर्न छाडिसके । कानुनी रूपमा मार्न नपाइने भएकाले नियन्त्रणका अन्य उपाय पनि प्रभावकारी हुन सकेका छैनन् ।’

दोलखाको स्थानीय तहले बाँदर नियन्त्रणका लागि पड्काउनेदेखि विभिन्न कार्यक्रमसम्म ल्याए । तर, कुनै प्रयास सार्थक हुन सकेको छैन । कालिञ्चोक गाउँपालिकाले ‘एक घर, एक बाँदर’ पाल्ने योजनासमेत ल्यायो, तर कानुनका कारण कार्यान्वयन हुन सकेन ।

०००

बाँदरको विषयमा विद्यावारिधि (पीएचडी) गरेका मुकेश चालिसे नेपालमा रातो, पहरे र ढेंडु गरी तीन प्रजातिका बाँदर पाइने, अनि तीमध्ये रातो बाँदरले धेरै दुःख दिने गरेको बताउँछन् । हालै पाँचथरको घटनामा मारिएका बाँदर पहरे हुन्, जुन नेपालका संरक्षित जनावरभित्र पर्ने उनले बताए ।

‘बाँदरले दुःख दियो भन्दैमा सबैखाले बाँदरप्रति नकारात्मक भावना बढेको पाँचथरको घटनाले देखाउँछ’ भन्छन् चालिसे । ‘बाँदरहरू कस्ता हुन् ? लखेट्न वा पक्रन आवश्यक बाँदर कुन हो ? यी विषयमा स्थानीय तहले समुदायलाई सचेत बनाउनुपर्ने देखियो,’ चालिसेको सुझाव छ ।

Monkey terror: People head to the city, monkeys head to the village

दुःख दिने रातो बाँदर नियन्त्रण गर्न दीर्घकालीन र प्रभावकारी उपाय खोज्नुपर्ने उनको सुझाव छ । जंगलमा खाने फलफूल, मुना र पालुवा नहुँदा बाँदर बाहिर आउने गरेको उनको बुझाइ छ । ‘गाउँमा बाँदरले बिगार नगर्ने बाली लगाउनुपर्छ र जंगलमा बाँदरका लागि उपयुक्त आहारा हुने बोटबिरुवा हुर्काउनुपर्छ । ठूला रुख हुने सालको वनले मात्रै भएन,’ चालिसे भन्छन्, ‘प्रदेश सरकारले हरेक प्रदेशमा अनुसन्धानशाला खोलेर, खोप–औषधि बनाएर बाँदरमा परीक्षण गर्नुपर्छ । बाँदरको बन्ध्याकरण गरेर संख्या नियन्त्रण गर्न सकिने कुरा चाहिँ असम्भव छ ।’

वन्यजन्तु संरक्षण अभियानमा संलग्न अवकाशप्राप्त प्राध्यापक करण शाह चितुवाको प्रमुख आहारा बाँदर भएको बताउँछन् । ‘अहिले बाँदर र चितुवा दुवैले दुःख दियो भन्ने घटना ठाउँठाउँबाट आउँछन्,’ शाह भन्छन्, ‘समस्या साँच्चिकै कसरी आयो ? त्यो हेर्नुपर्छ । दीर्घकालीन रूपमै प्रभावकारी हुने गरी व्यवस्थापन गर्नुपर्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी बाँदर नियन्त्रण गरिनुपर्छ ।’

फिचर

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

केदार

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

सन्तोष

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully