कांग्रेस नेता कोइरालाले उपसभामुख हटाउने प्रस्तावलाई अनावश्यक भन्दै सांसदहरूले विवेक प्रयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस-एमालेले अघि सारेको उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्तावलाई ‘बेमौसमी बाजा’ भएको बताएका छन् । दुई दलले गरेको उपभामुख राना मगरलाई हटाउने हतारोबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै आफ्नो पूर्ववत अडान कायम रहेको बताए ।
‘अहिले उपभामुखलाई हटाउने प्रस्ताव बेमौसमी बाजा हो,’ उनले इकान्तिपुरसँग भने, ‘मेरो पहिलेकै अडान कायम छ ।’ उनले मुलुकमा धेरै समस्या समाधान गर्नुको साटो उपसभामुख हटाउने हतारोमा लागेको आरोप लगाए । ‘उपसभामुख हटाउने हतारो किन पर्यो ? मैले बुझेको छैन ,’ उनले भने ।
कांग्रेस संसदीय दलबाट हस्ताक्षर गर्न आफूलाई टेलिफोन आएको उल्लेख गर्दै हस्ताक्षर गर्नुपर्ने ठोस प्रस्तावसमेत नभनिएको बताए । ‘किन हस्ताक्षर गर्नुपर्यो भनेर मैले सोधेँ,’ उनले भने, ‘ठोस जवाफ आएन ।’ उनले यसबारे हस्ताक्षर गर्ने विषयमा कांग्रेसका सांसदले विवेक प्रयोग गर्ने बताए ।
‘कांग्रेसका सांसदले विवेक प्रयोग गर्लान्,’ उनले थपे, ‘मैले कुनै पनि सांसदलाई केही भनेको छैन ।’
सम्बन्धित समाचारहरु
उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल
