प्रधानमन्त्री निवासमा कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने विषयमा सहमति जुटाएर सांसदहरूसँग हस्ताक्षर संकलन गरेका छन्।
काठमाडौँ — कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरे पनि कांग्रेसभित्रै विवाद देखिएपछि गठबन्धन अन्योलमा देखिएको छ । कांग्रेसमा शेखर कोइराला पक्ष र नाउपामा समेत अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबाहेकका सांसद असन्तुष्ट देखिएपछि गठबन्धनमा अन्योल देखिएको हो ।
नाउपा अध्यक्ष श्रेष्ठले भने उपसभामुख रानाविरुद्ध प्रस्ताव पेस गर्ने विषयमा निर्णय नभएको बताएकी छन् । उनले संसदीय दलमा यसबारे निर्णय लिइने बताइन् । उपसभामुख राना यतिबेला अमेरिका भ्रमणमा छिन् । उनी भदौ १३ गते मात्रै फर्कने कार्यतालिका छ ।
प्रतिनिधिसभा नियमावलीअनुसार उनलाई हटाउनुअघि स्पष्टीकरण दिने मौका दिनुपर्छ । नियमावलीको दफा २१२ (२) को व्यवस्था अनुसार आरोप लागेको व्यक्तिले आफूमाथि लागेका आरोपका सम्बन्धमा जवाफ दिनेछ भन्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाका कारण रानालाई हटाउने प्रक्रिया अहिल्यै सुरु गर्ने कि फर्किएपछि गर्ने भन्ने विषयमा कांग्रेस-एमालेका नेताहरूबीच छलफल भइरहेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । त्यसका लागि कांग्रेस र एमालेका सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरी सकिएको छ ।
यो पनि पढ्नुहोस् :
उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल
उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी
कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक
