कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जीबी राईसहित चारविरुद्ध डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीको आग्रह

सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा विचाराधीन
मातृका दाहाल

काठमाडौँ — पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको अभियोगमा फरार सोही सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित चार जनाविरुद्ध डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ । राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।

जीबी राईसहित चारविरुद्ध डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा आरोपित चारै जनाविरुद्ध इन्टरपोलमार्फत खोजी गर्ने गरी डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । सहकारीका करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले अनुसन्धान अघि बढाएसँगै राई फरार छन् ।

यसैगरी संस्थापक अध्यक्ष राईसहित चार जनाविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजी प्रक्रिया अघि बढाएको छ । चार जनासहित १९ विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की अदालतमा मुद्दा विचाराधीन छ । तर, मुद्दाका मुख्य अभियुक्त नै भेटिएका छैनन् । प्रहरी स्रोतका अनुसार आरोपितहरू मलेसिया, सिंगापुर, दुबई र हङकङ भागेको आशंका छ ।

कास्की प्रहरीको आग्रह अनुसार प्रहरीले प्रतिवादीमध्येका चारलाई इन्टरपोलमा आबद्ध राष्ट्रका प्रहरीको सूचीमा फरार राखेर डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको हो । गत असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सहकारीको रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनिसकेका थिए ।

प्रहरीले रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा कास्की अदालतबाट साउन ४, असोज २ र असोज ७ मा पक्राउ अनुमति लिएको थियो ।

अदालतबाट अनुमति पाएका बखत आरोपितहरू काठमाडौंलगायत जिल्लामा लुकेर बसेको र पक्राउ गरी बुझाइदिन कास्की प्रहरीले कात्तिक १० मा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदा अभियुक्तहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा लुकेर बसेको आशंका गरेको थियो ।

तर, कुमार रम्तेलबाहेक कोही पनि आरोपित पक्राउ पर्न सकेका छैनन् । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले सहकारी ठगी प्रकरणमा प्रतिवादी बनेका १९ मध्ये हालसम्म रम्तेल मात्रै पक्राउ परेर अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएको बताए ।

‘जिल्ला प्रहरी कार्यालयहरूको सहयोगमा खोजबिन गर्दा नभेटिएपछि आरोपितमध्येका चार जनालाई इन्टरपोलमार्फत खोज्न अनुरोधसहितको पत्र प्रहरी प्रधान कार्यालय पठाएका हौं,’ उनले भने, ‘ठगीबारे पहिलो चरणको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर भइसकेको छ । दोस्रो चरणको अनुसन्धान पनि अघि बढाइसकिएको छ ।’

प्रहरी प्रधान कार्यालयका एक अधिकारीले कास्की प्रहरीबाट फरार अभियुक्तविरुद्ध डिफ्युजन नोटिसका लागि अनुरोध भई आएको बताए । केही दिनभित्रै यसबारे निर्णय गरेर इन्टरपोललाई पत्र पठाइने ती अधिकारीले जनाए । सामान्यतः धर्म, राजनीतिक र सैनिक मामिलाको हकमा ससर्त र बाँकी कसुरको हकमा अनुसन्धान र अदालतमा मुद्दा दायर भइसकेपछि फरार देशभित्र नभेटिएमा सदस्य राष्ट्रका प्रहरीमार्फत खोजबिन गर्न इन्टरपोलले नोटिस जारी गर्न सक्छ ।

अनुसन्धान चरण र अदालतमा विचाराधीन मुद्दाका फरार प्रतिवादी देशभित्र फेला नपरेमा इन्टरपोलमार्फत खोजबिनका लागि डिफ्युजन नोटिस जारी गरिँदै आएको छ ।

फरारमध्येका जीबी राई गोरखा मिडिया नेटवर्कमार्फत सञ्चालित ग्यालेक्सी टेलिभिजनका अध्यक्ष पनि हुन् । ठगी अभियोगमा उनीसहित कैलाशकुमार दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । सूर्यदर्शनसहित अन्य जिल्लामा खोलिएका आधा दर्जन सहकारीको रकम हिनामिना प्रकरणमा समेत जीबी राईसहितका व्यक्ति जोडिएका छन् ।

राईले पोखराको सूर्यदर्शन र चितवनको साहारामा जस्तै वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर दसौं हजार सर्वसाधारणबाट बचत संकलन रकम हिनामिना गरेको पाइएको छ ।

प्रकाशित : पुस ११, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?