१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सधैं एकैखाले चुनावी मुद्दा

विराटनगरलाई पुरानै लयमा फर्काएर आधुनिक सहर निर्माण गर्ने, सुकुम्बासीलाई घरसहितको स्वामित्व हस्तान्तरण गर्नेलगायत
विनोद भण्डारी

विराटनगर — विराटनगरको भावी नेतृत्व सम्हाल्न चुनावी मैदानमा उत्रिएका गठबन्धनबाट कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा अलग राजनीतिक दल र अलग विचार भए पनि समान चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा छन् ।कोइराला र थापाका चुनावी मुद्दामा अत्यधिक समानता देखिन्छ ।

सधैं एकैखाले चुनावी मुद्दा

यति मात्र होइन, जनता समाजवादी पार्टीबाट प्रमुखमा बागी उम्मेदवार दिएका उमेश यादवका चुनावी प्रतिबद्धता पनि कांग्रेस र एमालेका भन्दा भिन्न छैनन् । कोइराला र थापाले विराटनगरको गुम्दै गएको साखलाई पुरानै लयमा फर्काएर आधुनिक सहर निर्माण गर्ने, डुबान समस्याबाट मुक्त गर्ने र महानगरभित्रका करिब १२ हजार सुकुम्बासीलाई घरसहितको स्वामित्व हस्तान्तरण गर्नेलगायत एकैखाले चुनावी मुद्दालाई प्राथमिकता दिएका छन् ।

पछिल्लो समय विराटनगर सामाजिक, राजनीतिक, औद्योगिक र सुरक्षाका दृष्टिकोणले पछि पर्दै गएको दुवै उम्मेदवारको ठहर छ । औद्योगिक क्षेत्रका नाममा विगतमा एक नम्बरमा थियो । अहिले छैटौं स्थानमा पुगेको छ । पुराना उद्योगीलाई सहुलियत दिएर उनीहरूलाई उद्योग स्थापनाका लागि आकर्षित गर्ने, रोजगारीका अवसरको सिर्जना गर्ने गरी विराटनगरको औद्योगिक अवस्थालाई पुरानै अवस्थामा फर्काएर चलायमान बनाउने कोइराला र थापाको समान एजेन्डा छन् ।

पुनः एक नम्बरमा फर्काउन संघीय सरकारसँग समन्वय गरी स्थानीय तहबाट उद्योग व्यवसायलाई संरक्षण गर्ने र स्थानीय निकायमा करिब दुई दशकसम्म जनप्रतिनिधिको ग्याप हुनु र नगरवासी सचेत नभएका कारण पनि विराटनगरले साख गुमाउँदै गएको दुई फरक दलका उम्मेदवारको बुझाइ छ । दुवैले विराटनगरलाई पुरानो अवस्थामा ल्याउँदै प्रिमोर्डनबाट पोस्टमोडर्नका रूपमा विकास गर्ने भनेका छन् । नीतिगत समस्याका कारण उद्योगीहरू पलायन भएको दुवैको समान बुझाइ छ ।

संघीय सरकारले औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने र स्थानीय सरकारले संरक्षण गर्नुपर्ने उनीहरूको तर्क छ । उद्योगीका समस्या बुझेर स्थानीयस्तरमा औद्योगिक नीति बनाएर यस क्षेत्रलाई संरक्षण गर्ने कोइराला र थापाका साझा एजेन्डा छन् । पूर्वको सिंघिया खोलामा दुवैतर्फ तटबन्ध बनाएर सिंघिया र केसलियालाई करिडोर बनाए डुबान समस्या समाधान गर्ने र बजारको ट्राफिक जामलाई न्यूनीकरण गर्ने दुवै उम्मेदवारको प्रतिबद्धता छ । यसका लागि स्थानीय स्रोत र सधानले मात्र सम्भव नहुने उनीहरूको बुझाइ छ । त्यसका लागि दातृ निकायको खोजी गर्दै संघीय, प्रदेश सरकार र स्थानीय निकायको पहलमा काम सुरु गर्ने उनीहरूको लक्ष्य छ ।

महानगरभित्र १२ हजारभन्दा बढी सुकुम्बासी छन् । उनीहरूलाई जग्गासहितको घरको व्यवस्था गर्ने कोइराला र थापाको उस्तैउस्तै एजेन्डा छन् । वास्तविक सुकुम्बासीको पहिचान गरेर दुई वर्षभित्रमा घरसहितको लालपुर्जाको व्यवस्था गर्ने कोइरालाको चुनावी मुद्दा हुँदा थापाले सुकुम्बासीलाई घरजग्गाको व्यवस्था नगरेसम्म आफू पनि घर नबनाउने घोषणा गरेका छन् । ‘डेरामा बस्छु,’ आफूलाई भुइँमान्छे बताउँदै थापाले भने, ‘महानगरभित्रका वास्तविक सुकुम्बासीको पहिचान गरेर उनीहरूलाई घरसहितको लालपुर्जा वितरण नगरेसम्म आफ्नो घर बनाउँदिनँ ।’

दुई वर्षभित्रमा महानगरमा करिब ५० करोडको नगर स्तरीय अस्पताल निर्माण गरेर ज्येष्ठ नागरिकका निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने कोइरालको चुनावी एजेन्डा हुँदा थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै विपन्न वर्गको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने मुद्दा उठाएका छन् ।

विराटनगरको औद्योगिक क्षेत्रका लागि प्रर्दशनी स्थलको व्यवस्था गर्ने र त्यसका लागि जग्गाको व्यवस्था गरी संघीय सरकारको बजेट कार्यान्वयन गर्ने दुवैको चुनावी अठोट छ । नगरभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने, बाल केन्द्रलाई मन्टेश्वरीमा परिणत गर्ने, निमावि र माविलाई त्यहीअनुसार रूपान्तरण गरेर विपन्न वर्गका लागि अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी छ । पोषणको व्यवस्था गर्ने, निःशुल्क किताब र पोसाकको व्यवस्था गरेर ड्रपआउटको समस्या रोक्ने उनीहरूले पूर्वसल्लाह नै गरेझैं चुनावी मुद्दा छन् ।

तारे होटल र कम्तीमा सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट दिने बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गरिने र विराटनगरको मध्य भागमा रहेको सिँचाइको नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने, निर्यात तथा रोजगारीका प्रवर्द्धन गर्ने उद्योगलाई करमा छुट दिनेलगायत मुद्दालाई उनले प्राथमिकता दिएका छन् ।

एमालेका थापाले केन्द्रसँग समन्वय गरेर पाँच वर्षभित्रमा चत्रपथ निर्माण सम्पन्न गर्ने, महानगरभित्र पर्ने सुनसरी–मोरङ सिँचाइ योजनाअन्तर्गतका नहरलाई बाइपासका रूपमा विकास गर्ने, सीमा नाकादेखि ढाँटसम्मको कोसी राजमार्गको पूर्वपश्चिमका सडक एक वर्षभित्रमा कालोपत्रे गर्दै कोसी मार्गको रानीदेखि ढाँटसम्म ब्युटिफिकेसन गर्ने भनेका छन् ।

विराटनगर प्रदेश १ को राजधानी भएकाले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणकालागि जग्गाको व्यवस्थापन गर्ने, मेघा हल निर्माण गर्न केन्द्रीय सरकारलाई जग्गाको व्यवस्था गर्ने, वडा १९ को क्रिकेट मैदानलाई दुई वर्षभित्रमा निर्माण तयार गरेर अन्तर्रार्ष्ट्रियस्तरका म्याच खेल्ने लायकको बनाउने र यहाँ मल्टी प्रपोचको कभर्ड हलको निर्माण गर्ने मुद्दा थापाले मतदातासामु राखेका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?