काठमाडौँ — स्थानीय तह निर्वाचनमा २१ वर्षदेखि ९४ वर्षसम्मकाले उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धामा उत्रिएकामध्ये २१–४० वर्षका युवामात्रै ४१ प्रतिशत रहेका छन् । कुल उम्मेदवारी १ लाख ४४ हजार ८ सय ५९ जनाको परेकामा युवा ५९ हजार ४ सय २ जना छन् ।
निर्वाचन आयोगका अनुसार २१ वर्षका उम्मेदवारमात्रै ४ सय १२ जना छन् । उनीहरूमध्ये २६ जना पालिका प्रमुख वा अध्यक्षका प्रत्याशी हुन् । २१ वर्षे उम्मेदवारमा पुरुष (२०३) भन्दा महिला (२०९) बढी भए पनि प्रमुख वा अध्यक्षमा महिला उम्मेदवार छैनन् । प्रमुख वा अध्यक्षमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने २१ वर्षे युवा १८ जना छन् । तीमध्ये १२ जना मधेस प्रदेशका हुन् । राजनीतिक दलले पनि २१ वर्षका युवालाई पत्याएर प्रतिस्पर्धामा उतारेका छन् ।
एमालेले रूपन्देहीको कोटहीमाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय श्यामसुन्दर यादवलाई उम्मेदवार बनाएको छ । सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा माओवादीका रामकुमार रजक, बझाङको दुर्गाथली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका त्रिविक्रम सिंह पनि यही उमेरका उम्मेदवार हुन् । २१ वर्षकै उम्मेदवारमा नेपाल
सद्भावना पार्टीबाट बर्दिबास नगरपालिकामा नागेन्द्र सिंह, बहुजन समाज पार्टीबाट महोत्तरीको भँगहरा नगरपालिकामा रोहितकुमार सदा, जनमत पार्टीबाट सर्लाहीको बसबरिया नगरपालिकामा दीपेशकुमार यादव, जनता समाजबादी पार्टीबाट पर्साको कालिमाई गाउँपालिकाबाट वशिष्ट कुमार छन् ।
मौलिक जरोकिलो पार्टीले गोरखाको अजिरकोट गाउँपालिकामा वसन्त देवकोटालाई अध्यक्षमा उठाएको छ । उपप्रमुख र उपाध्यक्षमा २१ वर्षका २२ जना उम्मेदवार छन् । स्थानीय चुनावमा २१ वर्षभन्दा कम उमेरले उम्मेदवारी दिन पाउँदैनन् ।
२१–४० वर्ष उमेर समूहका पुरुष उम्मेदवार ३२ हजार २ सय ३५ जना छन् भने महिला २७ हजार १ सय ६७ जना छन् । उनीहरूमध्ये २ हजार २ सय ३८ जनाले पालिका प्रमुख/अध्यक्षमा दाबी गरेका छन् । वडाध्यक्षमा ११ हजार ७ सय ४७ जनाले उम्मेदवारी दिएका छन् । ३१–४० वर्ष उमेर समूहका ४३ हजार ४ सय ४२ र २१–३० वर्ष उमेर समूहका उम्मेदवार १५ हजार ९ सय ६० जना छन् । २१–३० वर्ष उमेर समूहबाट उम्मेदवारी दिनेमा महिला र पुरुष झन्डै बराबर छ अर्थात् पुरुष ८ हजार ५ सय ६७ जना र महिला ७ हजार ४ सय ९३ जना चुनावी मैदानमा छन् ।
एमालेका ३३ हजार १ सय ८६ उम्मेदवारमध्ये २१ देखि ४० वर्षमुनिका १३ हजार १ जना छन् । कांग्रेसका ३० हजार ७ सय ५० उम्मेदवारमध्ये १२ हजार १ सय ६१ जना त्यही समूहका छन् । माओवादीले २० हजार ७ सय ६९ जना उठाएकामा झन्डै आधा ९ हजार २ सय ४९ जना २१–४० वर्ष उमेर समूह छन् । जनता समाजवादी पार्टीका ९ हजार १ सय ५८ उम्मेदवारमध्ये ३ हजार ५ सय ४० जना युवा छन् । एकीकृत समाजवादीले ९ हजार ८ सय १८ जनालाई प्रतिस्पर्धामा उतारेकामा ३ हजार ९ सय ४१ जना युवा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका ४ हजार ७ उम्मेदवारमध्ये १ हजार ५ सय ६६ युवा छन् । स्वतन्त्रतर्फ ९ हजार ६ सय २९ उम्मेदवार रहेकामा ४ हजार ३ सय ४८ जना युवा छन् ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहको निर्वाचनमा युवा उम्मेदवार संख्याले राजनीतिमा युवाको सहभागिता बढेको संकेत गर्ने बताए । कुल जनसंख्याको ४० प्रतिशत युवालाई प्रतिनिधित्व गर्दै राजनीतिमा युवा अघि बढ्नु सकारात्मक भएको उनको भनाइ छ । ‘हामीले हरेक दललाई पत्र लेखेरै युवाको ४० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग गरेका थियौं,’ उनले भने, ‘राजनीतिक सुरुवाती बिन्दु स्थानीय तहमा युवाको सहभागिता आवश्यक थियो । अब कति निर्वाचित हुन्छन्, हेर्न बाँकी छ ।’
त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक लीला न्याइच्याइँले नियमित निर्वाचन हुन थालेपछि युवा नेतृत्वमा आउन थालेको बताइन् । ‘अहिले देखिएका बेथितिलाई हामीले नै हटाउने हो भनेर युवा आएका पनि हुन सक्छन्,’ उनले भनिन्, ‘केही व्यक्ति भने कमाउने थलो देखेर आएको पनि हुन सक्छ ।’
४१–९४ वर्षका उम्मेदवार ८५ हजार
यसपालिको निर्वाचनमा ९४ वर्षसम्मका उम्मेदवार छन् । ४१–९४ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ८५ हजार ४ सय ५७ छ । जसअन्तर्गत ४१–५० वर्षका ४२ हजार ९ सय १०, ५१–६० वर्षका २९ हजार ८ सय ४८, ६१–७० वर्षका १० हजार ८ सय ५१ जना छन् । वृद्धभत्ता बुझ्ने उमेर समूहका अर्थात् ७० वर्षमाथिका उम्मेदवार २ हजार ४ सय ३८ जना छन् । यसमा पुरुष १ हजार ८ सय ७७ र महिला ५ सय ६१ जना छन् ।
प्रमुख र अध्यक्षमा उम्मेदवारी दिने वृद्धवृद्धा १ सय ४८ जना छन् । यसमा महिला ३ जना छन् । काठमाडौं प्रमुखमा स्वतन्त्र रूपमा ७४ वर्षीया सूर्य थापा (श्रेष्ठ), पर्साको जगरनाथपुर नगरपालिका प्रमुखमा माओवादी केन्द्रबाट ७० वर्षीया मालती उपाध्याय र बाराको पचरौता नगरपालिका प्रमुखमा स्वतन्त्रबाट ७० वर्षीया जगपतिया मलाहिन प्रतिस्पर्धामा उत्रिएका हुन् । वृद्धवृद्धाअन्तर्गत ७१–८० वर्ष उमेर समूहका उम्मेदवार १ हजार ७ सय ४३ जना र ८१–९० वर्षका १ सय १ जना छन् ।
यसपटक निर्वाचनमा ९० वर्षमाथिका चार जना पनि चुनावी मैदानमा उत्रिएका छन् । झापाको मेची नगरपालिका १३ को वडा सदस्यमा राप्रपाले ९० वर्षका नेत्रप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । रौतहटको ईशनाथ नगरपालिका–६ मा एमालेले ९१ वर्षीय लक्ष्मण राउतलाई वडा सदस्यमा उठाएको छ । मोरङको जहदा गाउँपालिका–७ को सदस्यमा कांग्रेसबाट ९४ वर्षीय सूर्यनारायण मण्डल उम्मेदवार बनेका छन् । यस्तै, महोत्तरीको बलवा–१ को सदस्यमा पनि ९४ वर्षीय जीवछ नदाफलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
