युद्धभूमिका नेपाली : 'गरिबीले घर फर्कन दिएन, बाँचे अर्को साल दसैं मनाऔंला'

दसैंको माहोलले मातृभूमिमा उमंग छाइरहँदा रुस-युक्रेन युद्धभूमिमा रहेका नेपाली जीवन दाउमा लगाइरहेका छन् । भन्छन्- 'यसपालि पनि यस्तै भो । घर, सहर, चाडपर्व र रहर सबै उतै छुटे ।'

आश्विन १६, २०८२

होम कार्की

Nepalese from the battlefield: 'Poverty did not allow them to return home, if they survive, let's celebrate Dasain next year'

What you should know

काठमाडौँ — दसैंको माहोलले मातृभूमिमा उमंग छाइरहँदा हजारौं किलोमिटर टाढा रुस-युक्रेन युद्धभूमिमा रहेका नेपाली भने बन्दुक र बंकरबीच जीवन दाउमा लगाइरहेका छन् । रुसी सेनामा भर्ती भएका नेपालीहरू आफ्नो घर–परिवारभन्दा टाढा, जीवन–मृत्युको दोसाँधमा छन् । 

कसैले बंकरमा ५० दिन बिताएको अनुभव सुनाउँछन्, कसैले जंगलमा ड्रोन छलेर ड्युटी गरेको कथा । तर उनीहरू भन्छन्, 'दसैं फेरि युद्धमै बित्ने भयो ।'

तीन वर्षदेखि रुसी सेनामा भर्ती भएका जनम राई रुसले कब्जा गरेको युक्रेनको भूमिमा तैनाथ छन् । अहिले उनको दैनिकी जंगलमा नै बितिरहेको छ । रुसले कब्जा गरेको भूमिलाई सुरक्षा दिनु उनको ड्युटी हो । ‘अहिले म ६ महिनादेखि अगाडि (फ्रन्टलाइन) नै छु । हामी जमिनबाट लडाइँ गरेर युक्रेनको जमिन कब्जा गर्न जान्छौं । वार भइरहेको समयमा ड्युटी गर्न जाने हो,’ बुधवार ईकान्तिपुरको सर्म्पकमा आएका राईले भने, ‘वार जोनमै छु ।’

चाडपर्वले उमंग छाइरहँदा उनको मन खिन्न छ । ‘दसैं आएपछि यो मन झन आत्तिन्छ । महान् चाड दसैं नमनाएको धेरै भयो । छोराबिनाको घरको दसैं र ज्वाइँबिनाको ससुरालीको दसैं कस्तो होला ?,’ उनले भने, ‘यसपालि पनि युद्धभूमिबाट निस्कन सकिएन ।' 

अहिले उनी खटिएको गाउको नाम थाहा छैन । ‘हामी कुन ठाउमा छौं भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘कमान्डरको आदेशमा अगाडि बढ्छौं ।’

हालै मात्रै रूसले डोनेस्क क्षेत्रको सिवर्स्क नजिकको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसले ससाना भुभागलाई कब्जा गर्दै अगाडि बढिरहेको छ । 

२०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरे यतारुसले युक्रेनको डोनेक्स, लुहान्स्क, खेरसोन र जापोरिज्जियालाई कब्जा गरी आफ्नो प्रदेशमा रहेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा त्यसलाई मान्यता दिइएको छैन । रुसी सेनामा भर्ती भएकाहरु यी चार क्षेत्रमा छरिएका छन् । 

Nepalese from the battlefield: 'Poverty did not allow them to return home, if they survive, let's celebrate Dasain next year'

‘हामी अगाडि बढ्दै गइरहेका छौं ।  युक्रेनले पनि प्रतिकार र पुनः कब्जा गर्न ड्रोनहरु व्यापक पठाउने गर्छ । यसबाट आफूलाई जोगाउनुपर्छ,’ राईले भने,‘कब्जा गरिसकेपछि हामीलाई कमान्डरले ड्युटीको लोकेसन दिन्छ । त्यहाँ जानै कठिन हुन्छ । त्यहाँ गएर पछि आउनेका लागि बाटो बनाइदिन्छौं ।'

२०२३ सेप्टेम्बरदेखि रुसी सेनामा रहेका सुर्खेतका अतीत क्षेत्रीले विदेशमा फौजीको जागिर खाएपछि आफूखुसी गर्न नपाउने बताउँछन् । उनले पहिलो करार समाप्त भइसकेपछि थपेर बसेका हुन् । उनको टोलीमा ४५ जना नेपाली थिए । त्यसमध्ये अधिकांश नेपाल फर्केका छन् ।

‘युद्ध लड्नुभन्दा ठूलो आफ्नो मिसन पूरा गरी सबै बाँचेर फर्किँदाको खुसी बेग्लै हुँदो रहेछ । दुई रात, तीन दिन भोकभोकै लडी सकुशल क्याम्प फर्किएको मेरो अनुभव छ । गुमाए जिन्दगी सान हुन्छ, फर्किआए जिन्दगी वरदान हुने रहेछ,’ उनले भने, ‘गरिबीले घर फर्केर आउन दिएन । बाँचे अवश्य अर्को साल दसैं मनाउन आउनेछु ।’

Nepalese from the battlefield: 'Poverty did not allow them to return home, if they survive, let's celebrate Dasain next year'

उनी ड्युटी गर्ने जंगलभरि स्याउ फलेका छन् । जंगलमा बम बारुद्ध नपड्केको दिन छैन । ‘छिनछिनमा रुसी सेनालाई खोज्न युक्रेनको ड्रोन आइराख्छ । कमान्डरको नजरमा राम्रो बन्न भए पनि नडराई काम गर्न खोजिरहेको छु । कामले नै सबैलाई जित्ने रहेछ,’ उनले भने, ‘सबै कुरा जिन्दगीमा एकैसाथ कहिले हुँदो रहेनछ । केही पाउनलाई आफ्ना धेरैथोक त्याग्नुपर्दो रहेछ ।’

२७ महिनादेखि रुसी सेनामा रहेका कृष्ण कँडेल युक्रेनको एउटा गाउँमा खटिएका छन् । त्यो गाउँ पूरै खाली छ  । उनका अनुसार हरेक घरमा फलफूल लटरम्म छ । तर त्यो खाने चराचुरङ्गी पनि छैनन् । ‘यहा रमणीय छ । दुर्भाग्य बस्ती सबै खाली छ,’ उनले भने, ‘मैले अधिकांश समय बंकरमा बिताएको छु । त्यस्ता बंकरका लागि जमिनबाट १५ फिटसम्म खनिएको हुन्छ । त्यसभित्र थप ५ फिट गहिरो ओडार छ । त्यसमा ५३ दिनसम्म लगतार बसेको छु ।’

Nepalese from the battlefield: 'Poverty did not allow them to return home, if they survive, let's celebrate Dasain next year'

फ्रन्टलाइनमा नै रहेका कैलाश ठकुरीले परिवारसग दसैं नमानएको ६ वर्ष पुग्यो । ‘यसपालि पनि यस्तै भो । घर, सहर र चाडपर्व, रहर सबै उतै छुटे । यहाँ त मेरो ज्यान छ । जसको काँधमा बस् जिम्मेवारी छ,’ उनले भने, ‘जसरी भए पनि मन बुझाउनुपर्ने रहेछ । मनको घाउ रोए पनि दुख्छ, नरोए पनि मन दुख्छ ।’

हाल रुसी सेनामा कार्यरत नेपालीको संख्या यकिन छैन । करार अवधि समाप्त भएकाहरु सबैजसो फर्किसकेका छन् । रुसको नागरिकता र राहदानी लिएकाहरुले सैन्य सेवालाई निरन्तरता दिइरहेका छन् । ‘हामीभन्दा पुरानो कोही पनि छैन । हामी नै सबैभन्दा सुरुमा आउने टोली हो,’ राईले भने, ‘पहिलाको जस्तो धेरै छैन । थोरै छौं । पुरानो फेरि पुनः भर्ना भएका छन् ।’

रुसले रोकिएको भर्ना अभियान फेरि सुरु गरेको छ । रुसले थप एक लाख ३५ हजार सेना भर्ती गर्ने भनेको छ । जसमा नेपालीलाई भर्ना गरे/नगरेको स्पष्ट खुलेको छैन । तर, राईका अनुसार नयाँ नेपालीलाई पनि लिइरहेको देखिन्छ । 

Nepalese from the battlefield: 'Poverty did not allow them to return home, if they survive, let's celebrate Dasain next year'

रुसी सेनामा नै रहेका शंकर श्रेष्ठले भने रुसको पीआर पाएका नेपालीलाई मात्रै भर्ना लिइरहेको दाबी गरे । ‘यहाँ नआउँदा नै राम्रो हो । माहोल एकदमै खराब छ । भर्ना खुलेको छ । नेपालीलाई पनि लिइरहेको देखिन्छ ।  उचाइ, तौल, दौड केही हेर्दैन । भर्ना भएर करारमा हस्ताक्षर गरेपछि एक-डेढ महिनामा २० लाख रुबेलदेखि ३२ लाख रुबेल पाउने गरेको छ । त्यसपछाडि कम समयको तालिममा पठाउँछ,’ राईले भने,‘सिधै भर्ना गर्ने ठाउँमा जाने हो । महिनाको तलब दुई लाख रुबेलभन्दा माथि छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार गत वैशाखसम्म रुसी सेनामा भर्ती भएर युक्रेनसग युद्ध मोर्चामा मारिने नेपालीको संख्या ७३ पुगेको छ । त्यसपछिको अपडेट सार्वजनिक गरिएको छैन । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘अन्तिम रिपोर्ट’ आउन बाँकी छ ।

यो युद्धले हालसम्म करिब ५० हजार युक्रेनीको ज्यान लिइसकेको छ । करिब ३ लाख ८० हजार घाइते भएको रिपोर्ट छ । रिपोर्टअनुसार, करिब १० लाख रुसी सैनिक मारिएका वा घाइते भएका छन् । जसमा अढाई लाखभन्दा बढीको मृत्यु पुष्टि भएको छ । यति ठूलो संख्यामा भएको क्षतिपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नियमित सेनाबाहेक अन्य विकल्प प्रयोग गरी सैनिक भर्ती गर्ने प्रयास गरेका छन् ।

रुसले सबैभन्दा पहिले ठूलो संख्यामा कैदीहरूलाई कारागारबाट मुक्त गरेर युद्धमा पठाएको थियो । सन् २०२३ को अक्टोबरमा कारागारमा कैदीहरूको संख्या ४ लाख २० हजारबाट २ लाख ६६ हजारमा झरेको थियो । जसको प्रमुख कारण कैदीहरूको भर्ती गरिएको मानिन्छ ।

सन् २०२४ को अन्त्यतिर, युक्रेनी र अमेरिकी सुरक्षा अधिकारीहरूले करिब १२ हजार उत्तर कोरियाली सैनिकहरूलाई रुसी सेनामा तैनाथ गरिएको बताएका थिए । सन् २०२५ को जनवरीमा, डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले करिब ४ हजार उत्तर कोरियाली मारिएको बताएका थिए ।

सन् २०२२ को नोभेम्बरमा भ्लादिमिर पुटिनले एउटा आदेश जारी गरेका थिए, जसअनुसार (रिपोर्टअनुसार रूस र युक्रेनमा) विदेशीहरूलाई रुसी सेनामा सामेल हुन दिने र बदलामा छिटो प्रक्रियामा रुसी नागरिकता दिने व्यवस्था गरिएको थियो । यही नागरिकताको आशमा धेरै नेपाली रुसी सेनामा भर्ना हुन गएका थिए । त्यसरी जानेमा अधिकांस खाडीमा कार्यरत नेपाली श्रमिक थिए । 

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully