दसैंको माहोलले मातृभूमिमा उमंग छाइरहँदा रुस-युक्रेन युद्धभूमिमा रहेका नेपाली जीवन दाउमा लगाइरहेका छन् । भन्छन्- 'यसपालि पनि यस्तै भो । घर, सहर, चाडपर्व र रहर सबै उतै छुटे ।'
What you should know
काठमाडौँ — दसैंको माहोलले मातृभूमिमा उमंग छाइरहँदा हजारौं किलोमिटर टाढा रुस-युक्रेन युद्धभूमिमा रहेका नेपाली भने बन्दुक र बंकरबीच जीवन दाउमा लगाइरहेका छन् । रुसी सेनामा भर्ती भएका नेपालीहरू आफ्नो घर–परिवारभन्दा टाढा, जीवन–मृत्युको दोसाँधमा छन् ।
कसैले बंकरमा ५० दिन बिताएको अनुभव सुनाउँछन्, कसैले जंगलमा ड्रोन छलेर ड्युटी गरेको कथा । तर उनीहरू भन्छन्, 'दसैं फेरि युद्धमै बित्ने भयो ।'
तीन वर्षदेखि रुसी सेनामा भर्ती भएका जनम राई रुसले कब्जा गरेको युक्रेनको भूमिमा तैनाथ छन् । अहिले उनको दैनिकी जंगलमा नै बितिरहेको छ । रुसले कब्जा गरेको भूमिलाई सुरक्षा दिनु उनको ड्युटी हो । ‘अहिले म ६ महिनादेखि अगाडि (फ्रन्टलाइन) नै छु । हामी जमिनबाट लडाइँ गरेर युक्रेनको जमिन कब्जा गर्न जान्छौं । वार भइरहेको समयमा ड्युटी गर्न जाने हो,’ बुधवार ईकान्तिपुरको सर्म्पकमा आएका राईले भने, ‘वार जोनमै छु ।’
चाडपर्वले उमंग छाइरहँदा उनको मन खिन्न छ । ‘दसैं आएपछि यो मन झन आत्तिन्छ । महान् चाड दसैं नमनाएको धेरै भयो । छोराबिनाको घरको दसैं र ज्वाइँबिनाको ससुरालीको दसैं कस्तो होला ?,’ उनले भने, ‘यसपालि पनि युद्धभूमिबाट निस्कन सकिएन ।'
अहिले उनी खटिएको गाउको नाम थाहा छैन । ‘हामी कुन ठाउमा छौं भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘कमान्डरको आदेशमा अगाडि बढ्छौं ।’
हालै मात्रै रूसले डोनेस्क क्षेत्रको सिवर्स्क नजिकको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसले ससाना भुभागलाई कब्जा गर्दै अगाडि बढिरहेको छ ।
२०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरे यतारुसले युक्रेनको डोनेक्स, लुहान्स्क, खेरसोन र जापोरिज्जियालाई कब्जा गरी आफ्नो प्रदेशमा रहेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा त्यसलाई मान्यता दिइएको छैन । रुसी सेनामा भर्ती भएकाहरु यी चार क्षेत्रमा छरिएका छन् ।
‘हामी अगाडि बढ्दै गइरहेका छौं । युक्रेनले पनि प्रतिकार र पुनः कब्जा गर्न ड्रोनहरु व्यापक पठाउने गर्छ । यसबाट आफूलाई जोगाउनुपर्छ,’ राईले भने,‘कब्जा गरिसकेपछि हामीलाई कमान्डरले ड्युटीको लोकेसन दिन्छ । त्यहाँ जानै कठिन हुन्छ । त्यहाँ गएर पछि आउनेका लागि बाटो बनाइदिन्छौं ।'
२०२३ सेप्टेम्बरदेखि रुसी सेनामा रहेका सुर्खेतका अतीत क्षेत्रीले विदेशमा फौजीको जागिर खाएपछि आफूखुसी गर्न नपाउने बताउँछन् । उनले पहिलो करार समाप्त भइसकेपछि थपेर बसेका हुन् । उनको टोलीमा ४५ जना नेपाली थिए । त्यसमध्ये अधिकांश नेपाल फर्केका छन् ।
‘युद्ध लड्नुभन्दा ठूलो आफ्नो मिसन पूरा गरी सबै बाँचेर फर्किँदाको खुसी बेग्लै हुँदो रहेछ । दुई रात, तीन दिन भोकभोकै लडी सकुशल क्याम्प फर्किएको मेरो अनुभव छ । गुमाए जिन्दगी सान हुन्छ, फर्किआए जिन्दगी वरदान हुने रहेछ,’ उनले भने, ‘गरिबीले घर फर्केर आउन दिएन । बाँचे अवश्य अर्को साल दसैं मनाउन आउनेछु ।’
उनी ड्युटी गर्ने जंगलभरि स्याउ फलेका छन् । जंगलमा बम बारुद्ध नपड्केको दिन छैन । ‘छिनछिनमा रुसी सेनालाई खोज्न युक्रेनको ड्रोन आइराख्छ । कमान्डरको नजरमा राम्रो बन्न भए पनि नडराई काम गर्न खोजिरहेको छु । कामले नै सबैलाई जित्ने रहेछ,’ उनले भने, ‘सबै कुरा जिन्दगीमा एकैसाथ कहिले हुँदो रहेनछ । केही पाउनलाई आफ्ना धेरैथोक त्याग्नुपर्दो रहेछ ।’
२७ महिनादेखि रुसी सेनामा रहेका कृष्ण कँडेल युक्रेनको एउटा गाउँमा खटिएका छन् । त्यो गाउँ पूरै खाली छ । उनका अनुसार हरेक घरमा फलफूल लटरम्म छ । तर त्यो खाने चराचुरङ्गी पनि छैनन् । ‘यहा रमणीय छ । दुर्भाग्य बस्ती सबै खाली छ,’ उनले भने, ‘मैले अधिकांश समय बंकरमा बिताएको छु । त्यस्ता बंकरका लागि जमिनबाट १५ फिटसम्म खनिएको हुन्छ । त्यसभित्र थप ५ फिट गहिरो ओडार छ । त्यसमा ५३ दिनसम्म लगतार बसेको छु ।’
फ्रन्टलाइनमा नै रहेका कैलाश ठकुरीले परिवारसग दसैं नमानएको ६ वर्ष पुग्यो । ‘यसपालि पनि यस्तै भो । घर, सहर र चाडपर्व, रहर सबै उतै छुटे । यहाँ त मेरो ज्यान छ । जसको काँधमा बस् जिम्मेवारी छ,’ उनले भने, ‘जसरी भए पनि मन बुझाउनुपर्ने रहेछ । मनको घाउ रोए पनि दुख्छ, नरोए पनि मन दुख्छ ।’
हाल रुसी सेनामा कार्यरत नेपालीको संख्या यकिन छैन । करार अवधि समाप्त भएकाहरु सबैजसो फर्किसकेका छन् । रुसको नागरिकता र राहदानी लिएकाहरुले सैन्य सेवालाई निरन्तरता दिइरहेका छन् । ‘हामीभन्दा पुरानो कोही पनि छैन । हामी नै सबैभन्दा सुरुमा आउने टोली हो,’ राईले भने, ‘पहिलाको जस्तो धेरै छैन । थोरै छौं । पुरानो फेरि पुनः भर्ना भएका छन् ।’
रुसले रोकिएको भर्ना अभियान फेरि सुरु गरेको छ । रुसले थप एक लाख ३५ हजार सेना भर्ती गर्ने भनेको छ । जसमा नेपालीलाई भर्ना गरे/नगरेको स्पष्ट खुलेको छैन । तर, राईका अनुसार नयाँ नेपालीलाई पनि लिइरहेको देखिन्छ ।
रुसी सेनामा नै रहेका शंकर श्रेष्ठले भने रुसको पीआर पाएका नेपालीलाई मात्रै भर्ना लिइरहेको दाबी गरे । ‘यहाँ नआउँदा नै राम्रो हो । माहोल एकदमै खराब छ । भर्ना खुलेको छ । नेपालीलाई पनि लिइरहेको देखिन्छ । उचाइ, तौल, दौड केही हेर्दैन । भर्ना भएर करारमा हस्ताक्षर गरेपछि एक-डेढ महिनामा २० लाख रुबेलदेखि ३२ लाख रुबेल पाउने गरेको छ । त्यसपछाडि कम समयको तालिममा पठाउँछ,’ राईले भने,‘सिधै भर्ना गर्ने ठाउँमा जाने हो । महिनाको तलब दुई लाख रुबेलभन्दा माथि छ ।’
परराष्ट्र मन्त्रालयका अनुसार गत वैशाखसम्म रुसी सेनामा भर्ती भएर युक्रेनसग युद्ध मोर्चामा मारिने नेपालीको संख्या ७३ पुगेको छ । त्यसपछिको अपडेट सार्वजनिक गरिएको छैन । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘अन्तिम रिपोर्ट’ आउन बाँकी छ ।
यो युद्धले हालसम्म करिब ५० हजार युक्रेनीको ज्यान लिइसकेको छ । करिब ३ लाख ८० हजार घाइते भएको रिपोर्ट छ । रिपोर्टअनुसार, करिब १० लाख रुसी सैनिक मारिएका वा घाइते भएका छन् । जसमा अढाई लाखभन्दा बढीको मृत्यु पुष्टि भएको छ । यति ठूलो संख्यामा भएको क्षतिपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नियमित सेनाबाहेक अन्य विकल्प प्रयोग गरी सैनिक भर्ती गर्ने प्रयास गरेका छन् ।
रुसले सबैभन्दा पहिले ठूलो संख्यामा कैदीहरूलाई कारागारबाट मुक्त गरेर युद्धमा पठाएको थियो । सन् २०२३ को अक्टोबरमा कारागारमा कैदीहरूको संख्या ४ लाख २० हजारबाट २ लाख ६६ हजारमा झरेको थियो । जसको प्रमुख कारण कैदीहरूको भर्ती गरिएको मानिन्छ ।
सन् २०२४ को अन्त्यतिर, युक्रेनी र अमेरिकी सुरक्षा अधिकारीहरूले करिब १२ हजार उत्तर कोरियाली सैनिकहरूलाई रुसी सेनामा तैनाथ गरिएको बताएका थिए । सन् २०२५ को जनवरीमा, डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले करिब ४ हजार उत्तर कोरियाली मारिएको बताएका थिए ।
सन् २०२२ को नोभेम्बरमा भ्लादिमिर पुटिनले एउटा आदेश जारी गरेका थिए, जसअनुसार (रिपोर्टअनुसार रूस र युक्रेनमा) विदेशीहरूलाई रुसी सेनामा सामेल हुन दिने र बदलामा छिटो प्रक्रियामा रुसी नागरिकता दिने व्यवस्था गरिएको थियो । यही नागरिकताको आशमा धेरै नेपाली रुसी सेनामा भर्ना हुन गएका थिए । त्यसरी जानेमा अधिकांस खाडीमा कार्यरत नेपाली श्रमिक थिए ।
