देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

घर निर्माणमा मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका दिलनारायण (४२) सधैं देशको चिन्ता लिने स्वभावको भएको र आखिर देशकै लागि गोली खाएर मरेको श्रीमती मायाले बताइन्।

भाद्र २९, २०८२

ज्योती श्रेष्ठ

Dil Narayan is ready to put a bullet in his chest to change the face of the country

काभ्रे — सोमबारको दिन, ३ बजेको आसपास माया तामाङको मोबाइलमा श्रीमान्् दिलनारायण तामाङको नामबाट फोन आयो । तर फोनमा एभरेस्ट अस्पतालकी नर्स बोलिन् । ‘दिलनारायण तामाङको तपाईं को हुनुहुन्छ ?’ नर्सले सोधेपछि मायाले सम्बन्ध खुलाइन् ।

‘ए, तपाईंको श्रीमान् अहिले एभरेस्ट हस्पिटल बानेश्वरमा हुनुहुन्छ, तपाईं तुरुन्तै आउनुहोस्,’ नर्सले अचानक यसो भनेपछि मायाको जीउज्यान पूरै गल्यो । त्यति बेला उनी पाटनस्थित एक कार्यालयमा सरसफाइको काम गर्दै थिइन् । उनी हस्पिटलतिर कुदिन् । 

जेन–जी आन्दोलनका कारण पाटनबाट बानेश्वर पुग्न उनलाई सहज भएन । कर्फ्यु लगाइएकाले यातायातका साधन ठप्प थिए । उनी दौडेरै पुगिन् । सामान्य चोटपटक मात्र लागेको भइदिओस् भन्दै पुकारा गर्दै अस्पताल पुगेकी मायाले जे नहोस् ठानेको, त्यही सुन्नुपर्‍यो ।

उनी हुर्रेर श्रीमान् भएको ठाउँमा पुगिन् । गोली लागेर रगताम्मे भएको श्रीमान्को शव उनकै अघि लमतन्न थियो । उनी छाँगाबाट झरेझैं भइन् । बोल्ने केही शब्द निस्किएनन् । आँखाबाट आँसु मात्रै झारिरहिन् । 

जेन–जीको आन्दोलनबारे तामाङ दम्पतीले अघिल्लो दिन नै सामाजिक सञ्जालबाट थाहा पाएका थिए । दिलनारायण घर बनाउने काम (लेबर) गर्थे । यतिबेला काम नभएकाले त्यस दिन उनी कोठामै थिए । देशका बारेमा चिन्ता गरिरहने, देशमा परिवर्तन भएको देख्ने इच्छा राख्ने, देशको मुहार फेर्नुपर्छ भन्ने सोच राख्ने गर्थे ।

उनको यही सोचले मायालाई चिन्तित बनाइरहेको थियो । बानेश्वरमा जेन–जी आन्दोलन चर्किन थालेपछि मध्याह्न १२ बजेतिर उनले श्रीमान्लाई फोन गरेर भनिन्, ‘कतै नजानु, आन्दोलन चर्किंदै छ रे, बालबच्चा सानै छन्, कोठामै बस्नु है ।’

फोनमा कुरा भएपछि माया ढुक्क भएर काममा लागिन् । ‘छरछिमेकले भनेअनुसार २ बजेसम्म पनि उहाँ कोठामै हुनुहुथ्यो रे, कुन बेला निस्किनुभएछ, थाहै भएन,’ उनले भनिन्, ‘मैले उहाँलाई सम्झाउँदा पनि मान्नुभएन, सायद उहाँलाई देशको मायाले रोक्न सकेनछ ।’ उनका अनुसार कुनै राजनीतिक दलप्रति आस्था नराखे पनि श्रीमान् पहिला–पहिला पनि आन्दोलन भएको ठाउँमा हेर्न जान्थे ।

‘पछिल्लो समय देशमा भइरहेको स्थितिबारेमा धेरै चिन्ता गर्नुहुन्थ्यो, त्यस्तै प्रसंगका समाचारहरू बढी हेर्नुहुन्थ्यो,’ मायाले भनिन्, ‘टिकटक पनि त्यस्तै विषयका मात्रै बनाउनुहुन्थ्यो, देशका बारेमा मात्रै होइन, आफ्नो र परिवारका बारेमा पनि सोच्नुपर्छ भनेर सम्झाउँदा जहिल्यै पनि देशका लागि केही गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ, देशका लागि मर्न पनि तयार छु, छातीमै गोली थाप्न पनि तयार छु भन्नुहुन्थ्यो ।’

अन्तत ः दिलनारायण आन्दोलनमा छातीमै गोली लागेर ढले । ‘प्रहरीले चलाएको गोली देब्रे कुम हुँदै छातीमै पुगेको डाक्टरहरूले बताएका छन्, डाक्टरले भनेअनुसार छातीमै गोली लागेको रहेछ,’ उनले भनिन्, ‘अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको रहेछ, छातीमा अझै गोली बाँकी छ भनेर डाक्टरहरूले भनेका छन् ।’ 

दिलनारायणको शव अहिले महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको मायाले बताइन् । उनी देशका लागि छातीमा गोली थापेर रगतको खोला बगाएकाहरूलाई सरकारले सहिद घोषणा गर्नुपर्ने ठान्छिन् । सरकारले सहिद घोषणा गरेपछि र क्षतिपूर्तिको व्यवस्था गरेपछि मात्रै शव बुझ्ने उनले बताइन् । 

४२ वर्षीय दिलनारायण र ४४ वर्षीया माया १० वर्षदेखि ललितपुरको पाटनमा डेरा गरी बस्दै आएका हुन् । उनीहरूको १५ वर्ष र १३ वर्षका दुई छोरा छन् । सहरमा काम नभएका बेलामा दिलनारायण गाउँ (काभ्रेको तेमाल गाउँपालिका–७, कल्धारा) जान्थे र ६५ वर्षीय बुबा (ज्ञानबहादुर) र ६४ वर्षीया आमा (चिनीमाया) लाई खेतीपातीमा सघाउँथे । जेठो छोरा भएकाले पनि घर व्यवहारको जिम्मेवारी उनीमाथि नै थियो । 

दिलनारायणका दुई भाइ र एक बहिनी छन् । एउटा भाइ काठमाडौंमै बस्छन् र अर्को विदेशमा छन्् । घटना हुनु एक साताअघि मात्रै दिलनारायण गाउँ पुगेका थिए । भाइ मिलन (ठूलो बुबाका छोरा) ले देशमा परिवर्तन देख्न खोज्ने दाइले देशकै लागि छातीमा गोली थापेको बताए ।

साथै उनले दाइको योगदानलाई सरकारले कदर गर्नेछ भन्ने अपेक्षा गरिएको बताए । उनका अनुसार आन्दोलनमा मारिएकाहरूलाई सरकारले सहिद घोषणा गर्नुपर्छ र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । - विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

छिनभरमै ढल्यो सहारा

बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए

सामाजिक सञ्जालबाट खुल्यो छत्रमानको पहिचान

जसले जेन-जी आन्दोलनमा ज्यान गुमाए

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully