टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो ।
काठमाडौँ — जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका अर्का ४१ वर्षीय बुद्धिबहादुर तामाङ पनि अग्रपंक्तिमै थिए । १४ र १७ वर्षे छोराहरूका बुबा उनी पनि भ्रष्ट नेताहरूले देश बिगारेको भन्दै आन्दोलनमा सहभागी भएका थिए । गोली लागेर भदौ २३ गते उनको मृत्यु भएको थियो ।
टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो ।
गोली लागेको खबर सुनेर मृतकको बुबाको मुटु हल्लिएको थियो । यस्तो घटना घट्ला भनेर कल्पना पनि गरेका थिएनन् उनले । जिन्दगीमा एकाएक आकाश खसेजस्तै भयो उनको । घटना भएको बिहान बुद्धिबहादुरको अन्तिम भेट भएको थियो वृद्ध बुबासँग घरमै ।
बुद्धिबहादुर बेला–बेला ‘सहिदहरूले आफ्नो परिवारलाई भन्दा देशलाई सम्झेर ज्यान दिने गरेको’ कुरा झिक्थे । त्यस बिहान पनि उनले त्यही वाक्य दोहोर्याएर यस्तो भनेका थिए, ‘निरंकुश जहानिया राणा शासनविरुद्ध लागेकै कारण लखन थापा मगर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द सहिद भएका थिए । उनीहरू सहिद नभएको भए हाम्रो पुर्खाले प्रजातन्त्रको अनुभव गर्न पाउँदैनथे ।’
बुद्धिबहादुरका बुबाका अनुसार, छोरा राजनीतिक दलमा आबद्ध थिएनन् । राजनीतिक दलले गर्ने आन्दोलनमा सहभागी पनि हुँदैनथे । उनी पहिलो पटक जनताले गरेको आन्दोलनमा सहभागी भएका थिए । उनी कसैसँग झै–झगडा नगर्ने, राजनीतिक दलका प्रदर्शनमा सहभागी नहुने स्वभावका थिए ।
छोराले खोजेको परिर्वतन आउँला कि नआउँला भन्ने चिन्तामा अहिले उनका बुबा विष्णुबहादुर तामाङ छन् । भन्छन्, ‘अहिलेका नेताहरूले बुझेको लोकतन्त्र र युवाहरूले बुझेको लोकतन्त्र विल्कुलै फरक छ । छोराले मुलुकको आमूल परिवर्तन गर्नेक्रममा वीरगति प्राप्त गर्यो । राष्ट्रका निम्ति, राष्ट्रको परिवर्तनका लागि आफ्नो प्राण नै आहूति दियो । कुनै निजी स्वार्थ थिएन । तर, शहादत प्राप्त गरेको ५ दिन बितिसक्दा पनि राज्यका तर्फबाट कसैले सान्त्वनासमेत दिएको छैन ।’
उनले छोराको रगतको मूल्य चुकाउन आग्रह गरे । ‘आन्दोलन सफल भइसकेकाले मृतकको परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनी भावविह्वल हुन्छन् ।
‘हामी गरिब छौं, मजदुरी गर्छौं, तर पैसाका निम्ति आत्मा बेचेको छैन । कसैले पनि नबेचोस्’, बुद्धिबहादुरका बुबाले भने, ‘नातिहरूलाई डाक्टर इन्जिनियर बनाउने सपना चकनाचुर भयो ।’ अझै रोइरहेकी बुद्धिबहादुरकी श्रीमती एक्लै बरबराउँछिन्, बोल्न सकिरहेकी छैनन् । ‘अब दुःखका दिन सुरु भए,’ उनी बेलाबेला यस्तै भनिरहन्छिन् । - विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।
सम्बन्धित समाचार
हामीले नगरे कसले गर्छ भन्थे अभिषेक
वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक
