बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए

टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो ।

भाद्र २९, २०८२

प्रशान्त माली

Buddhi Bahadur had two sons and an elderly father

काठमाडौँ — जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका अर्का ४१ वर्षीय बुद्धिबहादुर तामाङ पनि अग्रपंक्तिमै थिए । १४ र १७ वर्षे छोराहरूका बुबा उनी पनि भ्रष्ट नेताहरूले देश बिगारेको भन्दै आन्दोलनमा सहभागी भएका थिए । गोली लागेर भदौ २३ गते उनको मृत्यु भएको थियो ।

टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो । 

गोली लागेको खबर सुनेर मृतकको बुबाको मुटु हल्लिएको थियो । यस्तो घटना घट्ला भनेर कल्पना पनि गरेका थिएनन् उनले । जिन्दगीमा एकाएक आकाश खसेजस्तै भयो उनको । घटना भएको बिहान बुद्धिबहादुरको अन्तिम भेट भएको थियो वृद्ध बुबासँग घरमै ।

बुद्धिबहादुर बेला–बेला ‘सहिदहरूले आफ्नो परिवारलाई भन्दा देशलाई सम्झेर ज्यान दिने गरेको’ कुरा झिक्थे । त्यस बिहान पनि उनले त्यही वाक्य दोहोर्‍याएर यस्तो भनेका थिए, ‘निरंकुश जहानिया राणा शासनविरुद्ध लागेकै कारण लखन थापा मगर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द सहिद भएका थिए । उनीहरू सहिद नभएको भए हाम्रो पुर्खाले प्रजातन्त्रको अनुभव गर्न पाउँदैनथे ।’

बुद्धिबहादुरका बुबाका अनुसार, छोरा राजनीतिक दलमा आबद्ध थिएनन् । राजनीतिक दलले गर्ने आन्दोलनमा सहभागी पनि हुँदैनथे । उनी पहिलो पटक जनताले गरेको आन्दोलनमा सहभागी भएका थिए । उनी कसैसँग झै–झगडा नगर्ने, राजनीतिक दलका प्रदर्शनमा सहभागी नहुने स्वभावका थिए । 

छोराले खोजेको परिर्वतन आउँला कि नआउँला भन्ने चिन्तामा अहिले उनका बुबा विष्णुबहादुर तामाङ छन् । भन्छन्, ‘अहिलेका नेताहरूले बुझेको लोकतन्त्र र युवाहरूले बुझेको लोकतन्त्र विल्कुलै फरक छ । छोराले मुलुकको आमूल परिवर्तन गर्नेक्रममा वीरगति प्राप्त गर्‍यो । राष्ट्रका निम्ति, राष्ट्रको परिवर्तनका लागि आफ्नो प्राण नै आहूति दियो । कुनै निजी स्वार्थ थिएन । तर, शहादत प्राप्त गरेको ५ दिन बितिसक्दा पनि राज्यका तर्फबाट कसैले सान्त्वनासमेत दिएको छैन ।’ 

उनले छोराको रगतको मूल्य चुकाउन आग्रह गरे । ‘आन्दोलन सफल भइसकेकाले मृतकको परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनी भावविह्वल हुन्छन् । 

‘हामी गरिब छौं, मजदुरी गर्छौं, तर पैसाका निम्ति आत्मा बेचेको छैन । कसैले पनि नबेचोस्’, बुद्धिबहादुरका बुबाले भने, ‘नातिहरूलाई डाक्टर इन्जिनियर बनाउने सपना चकनाचुर भयो ।’ अझै रोइरहेकी बुद्धिबहादुरकी श्रीमती एक्लै बरबराउँछिन्, बोल्न सकिरहेकी छैनन् । ‘अब दुःखका दिन सुरु भए,’ उनी बेलाबेला यस्तै भनिरहन्छिन् । - विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

छिनभरमै ढल्यो सहारा

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

प्रशान्त

Link copied successfully