अधुरै रह्यो गौरवको यूके जाने सपना

गौरवले १२ कक्षा पास गरेपछि अस्ट्रेलिया जान खोजेका थिए, सम्भव नभएपछि यूके जाने तयारीमा थिए । जेन—जी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुबाको सहाराको टेको नै ढलेको छ ।

भाद्र २८, २०८२

रञ्जना बिसी

Gaurav's dream of going to UK was not fulfilled

कैलाली — सोमबार बिहान सुरु भएको जेन–जीको आन्दोलनले दिउँसोदेखि उग्ररूप लिन पुग्यो । दिनभर प्रहरीले चलाएको गोलीबाट १९ विद्यार्थीको मृत्युका खबर छ्याप्छ्याप्ती भइसकेका थिए । धनगढी उपमहागर–५ तारानगरकी सोनिया जोशीले राति ९ बजेतिर टिकटकमा काठमाडौंमा भएको आन्दोलनका भिडियो हेरिरहेकी थिइन् ।

यत्तिकैमा उनले एक युवालाई गोली लागेको भिडियो हेर्न पुगिन् । सोनिया त्यसै पनि त्रसित भइरहेकी थिइन्, तर जब एक जनाले कमेन्टमा गोली लाग्नेको फोटो पोस्ट गरे, तब उनी विछिप्त बन्न पुगिन् । उनको मुटुले ठाउँ छोड्यो ।

सोनियालाई विश्वास नै गर्न गाह्रो भयो, त्यो फोटो उनकै काका गौरव जोशीको थियो । अत्ताल्लिएर उनले काठमाडौंमा रहेका भाइ प्रवीनलाई फोन गरेर फोटो पठाइन् । रगतले लतपतिएको अनुहार प्रस्ट चिनिएको थिएन ।

प्रवीनले गौरवलाई कपडा र झोलाबाट चिने । गौरवले त्यो दिन प्रवीनसँगै किनेको कपडा लगाएका थिए । यत्तिकैमा अस्पतालमा मृत्यु भएका एक जनाको एटीएम कार्ड भेटिएको समाचार आयो । जसमा उही नाम थियो गौरव जोशी । सोनिया र प्रवीनले गौरवको मृत्यु भएको खबर तत्काल कसैलाई सुनाउन सकेनन् ।

गौरव वृद्ध आमाबुबाको एक मात्र भरोसा थिए । रातभरि निदाउन नसकेकी सोनियाले बिहान ४ बजे यो कुरा आफ्ना आमाबुबालाई सुनाइन् । घरमा रुवाबासी चल्यो । उनको घर नजिकै गौरवको घर छ । बिहान ६ बजे आमाबुबा सँगै उनी गौरवको घर पुगिन् ।

एकाबिहानै सबै घरमा आएको देख्दा ७८ वर्षीय बुबा बासुदेव र वृद्ध आमा आश्चर्यमा परे । धेरैपटक दुःखद खबर सुनाउन प्रयास गरे पनि बूढो अनुहारका आमाबुबा देखेर सुनाउन कसैले साहस गरेनन् । २४ गते साँझ ६ बजे मात्रै उनका आमाबुबालाई गौरव गोली लागेर घाइते भई टिचिङ अस्पतालको आईसीयूमा उपचाररत रहेको कुरा सुनाइयो । 

सोनियाका अनुसार गौरवका दुई आमामध्ये जेठी आमा र बुबा धनगढीमा नै बस्छन् । उनी भने तीन वर्षदेखि आमा माया र दिदी आयुशासँग काठमाडौं बस्दै आएका थिए । काठमाडौंमै भए पनि गौरवको गोली लागेर मृत्यु भएको खबर आमा र दिदीलाई भदौ २४ गते साँझ ५ बजे मात्रै सुनाइयो ।

बिहान कन्सल्टेन्सी गएर आएपछि खाना खान्छु भन्दै गएका गौरव त्यसपछि कहिल्यै नफर्किने गरी अस्ताए । दिदी आयुशाले आन्दोलन भएकाले नजान सुझाएकी थिइन् । तर उनी आन्दोलनमा नजाने भन्दै कोटेश्वरस्थित डेराबाट निस्केका थिए । 

२७ वर्षीय गौरव ३ वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लसटु सकेर काठमाडौं गएका थिए । ‘सोझो, मिलनसार हुनुहुन्थ्यो अंकल । कहीँकतै नजाने, डराउने,’ उनी भन्छिन् ।

गौरवले १२ कक्षा पास गरेपछि अस्ट्रेलिया जान खोजेका थिए, सम्भव नभएपछि यूके जाने तयारीमा थिए । जेन—जी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुबाको सहाराको टेको नै ढलेको छ । मृतकका आफन्तले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गौरवलाई सहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । - विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

छिनभरमै ढल्यो सहारा

जसले जेन-जी आन्दोलनमा ज्यान गुमाए

रञ्जना

Link copied successfully