नेपालगन्जको एन्जल्स स्कुलबाट एसईई उत्तीर्ण गरेका आयुषले कक्षा १२ को पढाइ आदर्श उच्च माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । मिहिनेती, हँसिला र मिलनसार आयुष पढाइसँगै खेलकुदमा पनि सक्रिय थिए ।
नेपालगन्ज — हजुरआमा मुटुको बिरामी छिन् । परिवार र आफन्तले उनलाई आयुषको मृत्युको खबर दिन सकेका छैनन् । हजुरआमा अझै आयुष आउँछन् भन्ने आशमा पर्खिरहेकी छन् ।
छिमेकी र आफन्तको भीड देखेर उनलाई अनौठो लागिरहेको छ । यति भीड कहिल्यै नहुने घरमा पछिल्ला दिन आवतजावत बढेको देख्दा उनलाई शंका पनि लागिरहेको छ ।
सबै कुरा थाहा पाइसकेका ७० वर्षीय हजुरबुबा तोपबहादुर थापा भने आफूलाई सम्हाल्दै बसिरहेका छन् । आफ्नै काखमा हुर्किएको नाति अब छैन भन्ने सत्यलाई उनले स्वीकार गर्न सकिरहेका छैनन् । आँखा ओभानो भए पनि मन भने अशान्त छ । बाहिरबाट आउने आफन्तलाई भेट्दै उनी नातिको शव कुरिरहेका छन् ।
१९ वर्षको कलिलो उमेरमै आयुष थापाको जीवनयात्रा टुंगिएको छ । नेपालगन्ज–१ धम्बोझीका आयुष घरका एक्ला छोरा थिए । उनकी दिदीको भने बिहे भइसकेको छ । आयुष हजुरबुबा–हजुरआमाको प्यारो नाति थिए ।
नेपालगन्जको एन्जल्स स्कुलबाट एसईई उत्तीर्ण गरेका आयुषले कक्षा १२ को पढाइ आदर्श उच्च माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । मिहिनेती, हँसिला र मिलनसार आयुष पढाइसँगै खेलकुदमा पनि सक्रिय थिए । परिवारको सैन्य पृष्ठभूमि (हजुरबुबा इन्डियन लाहुरे) पछ्याउँदै आयुषले पनि ब्रिटिस आर्मीमा भर्ती हुन निकै प्रयास गरे । तर दाँत नमिलेपछि त्यो सपना अधुरै रह्यो । यस घटनाले उनलाई केही समय विरक्तिए पनि उनले हार मानेनन् ।
आयुषले ‘जीवनमा अर्को बाटो रोजेर पनि सफल हुन सकिन्छ’ भन्ने अठोट गरे । उनले विदेशमा उच्च शिक्षा लिने योजना बनाए । फ्रान्स पढ्न जाने तयारी स्वरूप केही महिनादेखि काठमाडौंमा फ्रान्सेली भाषा सिकिरहेका थिए ।
सोमबारको आन्दोलनमा सहभागी हुन गएकै बेला गोली लागेर आयुष ढले, कहिल्यै नउठ्ने गरेर । एउटा परिवारको गर्व, हजुरआमाको आशा, आमाबुबाको भविष्य–कल्पना र आफन्तको गर्व एकैपटक टुटेको छ । आयुषको असामयिक मृत्युले घर शोकमग्न छ । बुबा सुशील थापा मगर र आमा पुनम थापा मंगलबार बिहानै हवाई मार्ग हुँदै काठमाडौं पुगेका छन् ।
- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।
सम्बन्धित समाचार
हामीले नगरे कसले गर्छ भन्थे अभिषेक
वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक
गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए
अधुरै रह्यो गौरवको यूके जाने सपना
