प्रहरी परिवारमा चोटमाथि चोट

जेन–जीले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापा तथा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका हुन्।

आश्विन १, २०८२

विवेक पोख्रेल

Injury upon injury to the police family

What you should know

काठमाडौँ — जेन–जीले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा तीन प्रहरीले ज्यान गुमाए । उनीहरूमा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापा तथा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ छन् ।

प्रहरी सहायक निरीक्षक मिलन रायको दरबन्दी रामेछापमा हो तर उनी प्रहरी वृत्त महाराजगन्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत थिए । २४ भदौमा उनी सिभिल पोसाकमा काममै थिए । 

प्रदर्शनकारीको हूल आएर प्रहरी वृत्त महाराजगन्ज आगो लगाउने क्रममा उनीमाथि कुटपिट भयो । त्यही क्रममा उनको ज्यान गयो । मिलनलाई सडकमा घिसारेर, लात्तीले हानेर मारेको फोटो भिडियो सामाजिक सञ्जालमै छ । 

‘मैले २ बजे छोरा मिलनलाई फोन गरेको थिएँ । उसले सुरक्षित छु, सटर भित्र बसेको छु भनेको थियो,’ मिलनका काका केशव रायले भने, ‘त्यसको केहीबेरमा ऊ नै नरहेको खबर आयो ।’

सिन्धुलीको दुधौली नगरपालिका ८ का मिलन डेढ वर्षकै उमेरमा टुहुरा भएका थिए । ब्लड क्यान्सरले बुबाको मृत्यु भएपछि उनकी आमा विक्षिप्त भएकी थिइन्, केही महिनामै प्राण त्यागिन् । काका केशवले अभिभावकको जिम्मेवारी लिए । मिलनले एसएसलसी प्रथम श्रेणीमा पास गरे, व्यवस्थापनमा स्नातक सके ।

मिलन २०७४ सालमा प्रहरी सहायक निरीक्षक पदमा भर्ती भएका थिए । उनको बिहे एक वर्षअघि मात्र भएको थियो । उनकी श्रीमती अध्ययनका लागि ४ महिनाअघि मात्र जापान पुगेकी थिइन् । ३० वर्षीय मिलनलाई चिन्नेहरू उनी इमानदार प्रहरी भएको बताउँछन् ।

...

प्रहरी प्रभाग कोटेश्वरमा सेवामा रहेकै समयमा ३२ वर्षीय प्रहरी सहायक हवल्दार अमृत गुरुङ २५ भदौमा प्रदर्शनकारीको आक्रमणमा परे । उनी भाग्न खोज्दा पनि जोगिएनन् । कुटपिटबाट सख्त घाइते भएका उनलाई दिउँसो १ः३० मा बीएन्डबी अस्पताल पुर्‍याइएको थियो । अस्पतालले ४ः४५ मा मृत घोषणा गर्‍यो । कास्की रूपा गाउँपालिका ५ का अमृत परिवारको एक्लो छोरा थिए । 

उनी १५ असोज २०७० मा प्रहरी सेवामा प्रवेश गरेका थिए । सेवाकै क्रममा पाल्पा, मुगु, सुर्खेत हुँदै २ वर्षअघि उनी काठमाडौं आइपुगेका थिए । अमृतकी आमाको ९ महिना अघिमात्र ब्रेन ह्यामरेजबाट मृत्यु भएको छ । परिवारजनका अनुसार आमाको उपचार गर्दा लागेको समेत गरेर २३ लाख जति ऋणमा अमृत थिए ।

उनको गाउँमा आफ्नै घरसमेत छैन । उनी आफन्तको घरमा बस्छन् । एक दिदी र एक बहिनीको बिहे भइसकेको छ । अहिले घरमा बाजे, बुबा, श्रीमती र एक वर्षको छोरा छन् ।

...

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाले २४ भदौमा प्रदर्शनकारीको आक्रमणमा परी ज्यान गुमाए । उनका भाइ ७ महिनाअघि मात्र घाँसदाउरा गर्दा भीरबाट खसेर बितेका थिए ।

दुई सन्तानकी आमा अहिले गाउँमा एक्ली भएकी छन् । उत्तमका बुबाको मधुमेहका कारण पहिले नै मृत्यु भएको थियो । उत्तमकै जागिरले उनको घर चल्दै आएको थियो । दार्चुला लेकम गाउँपालिका ३, गुमाखोली घर भएको थापा परिवारमा उब्जनीले पुग्ने जमिनसमेत छैन ।

३० वर्षीय उत्तम ९ वर्षदेखि प्रहरी सेवामा थिए । ‘४ दिनपछि घर आउँछु भनेर खबर गरेका रहेछन्,’ उनको वडाका अध्यक्ष सुरेश थापाले भने, ‘आन्दोलनकै दिन पनि साथीभाइसँग आफू सुरक्षित रहेको भनेर फोन गरेका थिए रे, पछि मृत्युको खबर आयो ।’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully