निजामती सपना बोकेर ठेलीका–ठेली पुस्तक पढेरै दिन बताइरहेका योगेन्द्र न्यौपाने (रोशन) त्यस दिन अचानक माइतीघर–बानेश्वर सडकमा निस्किए ।
What you should know
सिन्धुली — ८ सेप्टेम्बर, देशमा उज्यालो छर्ने अभिप्सा साँचेर सडकमा ओर्लिएका ३४ जेन–जी सदाका लागि निभेको दिन । उनीहरूसँगै परिवारको खुसी, भरोसा धेरैथोक निभेको दिन । निजामती सपना बोकेर ठेलीका–ठेली पुस्तक पढेरै दिन बताइरहेका योगेन्द्र न्यौपाने (रोशन) त्यस दिन अचानक माइतीघर–बानेश्वर सडकमा निस्किए ।
उनीसँगै देशमा व्याप्त बेथिति र भ्रष्टाचार निर्मूल गर्ने जोसका साथ जेन–जी पुस्ता आन्दोलनमा उत्रिएको थियो । तर, त्यही आन्दोलनमा राज्यको गोलीले उनको शरीर छेड्यो । उनी कहिल्यै नउठ्ने गरी ढले ।
सिन्धुलीस्थित योगेन्द्रको गाउँ यतिबेला शोकमग्न छ । आमा लक्ष्मीका आँसु अझै रोकिन सकेका छैनन् । बा युवराजले आफूलाई सम्हाल्न प्रयत्न गर्दै तत्काल गाडी रिजर्भ गरेर काठमाडौं हिँडे । यता भाइ सुजनलाई त्यो बज्रपात सहन सक्ने सामर्थ्य थिएन । तैपनि आमा र दिदी सम्हाल्ने दायित्वले उनलाई कमजोर बनाउन दिएन ।
कहिल्यै कुनै आन्दोलन त के, कार्यक्रम र माहोलमा सरिक नहुने दाइको एक्कासि त्यो खबर पाउँदा अहिले पनि सपना भइदिए हुन्थ्यो झैं लागिरहेछ सुजनलाई । ‘कहिल्यै त्यसरी नहिँड्ने मान्छे कसरी गए ? पत्याउनै मुस्किल परिरहेको छ,’ सुजन भावविह्वल स्वरमा भन्छन् । योगेन्द्र २३ वर्षका थिए, सुजन २१ ।
उनीहरूको चाँगुनारायण नगरपालिका, दुवाकोटमा पनि घर थियो । दाजुभाइले त्यतै बसेर पढे । उनीहरूले चाँगुनारायण माध्यमिक विद्यालयबाट एसईई दिएका थिए । योगेन्द्रका स्कुलका शिक्षक सुरेश ढुंगाना यो खबरले विद्यालय नै यतिबेला शोकमा डुबेको बताउँछन् । ‘उनी स्कुल पढ्दा असल र ज्ञानी थिए । उनको भविष्य पनि हामीले उज्ज्वल देखेका थियौं । हामीलाई साह्रै दुःख लागेको छ,’ सुरेश भन्छन् ।
त्रिचन्द्र कलेजमा सामाजिक कार्य पढिरेहका योगेन्द्र ८ वर्षदेखि लोक सेवाको तयारी गरिरहेका थिए । यता सुजन रोमानिया जाने तयारीमा थिए । मेनपावरबाट वर्क पर्मिट आएका बेला २ महिनाअघि अन्तिम पटक दाजुभाइको भेट भएको थियो । भाइलाई भन्थे, ‘म यहीं बसेर केही गर्छु । तँ जा । मैले घरलाई र तँलाई के–के गर्नुपर्छ, सबै गर्छु ।’
खराब संगत योगेन्द्र कहिल्यै रुचाउन्न थिए । भाइलाई पनि असल संगत गर्न जोड दिन्थे । मोबाइलमा समस्या आएका कारण परिवारसँग योगेन्द्रको केही दिनदेखि बातचित भएको थिएन । घटना भएको दिन उनले भाइको मोबाइलमा आईपीओका सबै डिटेल्स पठाइदिएका थिए ।
‘मैले यताबाट मेसेज रिप्लाई गर्दा सिन मात्र भयो । डेलिभर भएन । उसले हेरेन । ऊ सायद निस्किसकेको थियो,’ सुजन पीडायुक्त आवाजमा भन्छन्, ‘उसको रिप्लाइ पर्खेर बसें । तर कहिल्यै आएन ।’
- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।
सम्बन्धित समाचार
हामीले नगरे कसले गर्छ भन्थे अभिषेक
