आमालाई दसैंमा चाँडै घर आउछु भनेका योगेन्द्र उतै अस्ताए

निजामती सपना बोकेर ठेलीका–ठेली पुस्तक पढेरै दिन बताइरहेका योगेन्द्र न्यौपाने (रोशन) त्यस दिन अचानक माइतीघर–बानेश्वर सडकमा निस्किए ।

भाद्र ३१, २०८२

राजकुमार कार्की

Yogendra told his mother that he would come home soon on Dasain and stayed there

What you should know

सिन्धुली — ८ सेप्टेम्बर, देशमा उज्यालो छर्ने अभिप्सा साँचेर सडकमा ओर्लिएका ३४ जेन–जी सदाका लागि निभेको दिन । उनीहरूसँगै परिवारको खुसी, भरोसा धेरैथोक निभेको दिन । निजामती सपना बोकेर ठेलीका–ठेली पुस्तक पढेरै दिन बताइरहेका योगेन्द्र न्यौपाने (रोशन) त्यस दिन अचानक माइतीघर–बानेश्वर सडकमा निस्किए ।

उनीसँगै देशमा व्याप्त बेथिति र भ्रष्टाचार निर्मूल गर्ने जोसका साथ जेन–जी पुस्ता आन्दोलनमा उत्रिएको थियो । तर, त्यही आन्दोलनमा राज्यको गोलीले उनको शरीर छेड्यो । उनी कहिल्यै नउठ्ने गरी ढले । 

सिन्धुलीस्थित योगेन्द्रको गाउँ यतिबेला शोकमग्न छ । आमा लक्ष्मीका आँसु अझै रोकिन सकेका छैनन् । बा युवराजले आफूलाई सम्हाल्न प्रयत्न गर्दै तत्काल गाडी रिजर्भ गरेर काठमाडौं हिँडे । यता भाइ सुजनलाई त्यो बज्रपात सहन सक्ने सामर्थ्य थिएन । तैपनि आमा र दिदी सम्हाल्ने दायित्वले उनलाई कमजोर बनाउन दिएन ।

कहिल्यै कुनै आन्दोलन त के, कार्यक्रम र माहोलमा सरिक नहुने दाइको एक्कासि त्यो खबर पाउँदा अहिले पनि सपना भइदिए हुन्थ्यो झैं लागिरहेछ सुजनलाई । ‘कहिल्यै त्यसरी नहिँड्ने मान्छे कसरी गए ? पत्याउनै मुस्किल परिरहेको छ,’ सुजन भावविह्वल स्वरमा भन्छन् । योगेन्द्र २३ वर्षका थिए, सुजन २१ ।

उनीहरूको चाँगुनारायण नगरपालिका, दुवाकोटमा पनि घर थियो । दाजुभाइले त्यतै बसेर पढे । उनीहरूले चाँगुनारायण माध्यमिक विद्यालयबाट एसईई दिएका थिए । योगेन्द्रका स्कुलका शिक्षक सुरेश ढुंगाना यो खबरले विद्यालय नै यतिबेला शोकमा डुबेको बताउँछन् । ‘उनी स्कुल पढ्दा असल र ज्ञानी थिए । उनको भविष्य पनि हामीले उज्ज्वल देखेका थियौं । हामीलाई साह्रै दुःख लागेको छ,’ सुरेश भन्छन् ।

त्रिचन्द्र कलेजमा सामाजिक कार्य पढिरेहका योगेन्द्र ८ वर्षदेखि लोक सेवाको तयारी गरिरहेका थिए । यता सुजन रोमानिया जाने तयारीमा थिए । मेनपावरबाट वर्क पर्मिट आएका बेला २ महिनाअघि अन्तिम पटक दाजुभाइको भेट भएको थियो । भाइलाई भन्थे, ‘म यहीं बसेर केही गर्छु । तँ जा । मैले घरलाई र तँलाई के–के गर्नुपर्छ, सबै गर्छु ।’

खराब संगत योगेन्द्र कहिल्यै रुचाउन्न थिए । भाइलाई पनि असल संगत गर्न जोड दिन्थे । मोबाइलमा समस्या आएका कारण परिवारसँग योगेन्द्रको केही दिनदेखि बातचित भएको थिएन । घटना भएको दिन उनले भाइको मोबाइलमा आईपीओका सबै डिटेल्स पठाइदिएका थिए ।

‘मैले यताबाट मेसेज रिप्लाई गर्दा सिन मात्र भयो । डेलिभर भएन । उसले हेरेन । ऊ सायद निस्किसकेको थियो,’ सुजन पीडायुक्त आवाजमा भन्छन्, ‘उसको रिप्लाइ पर्खेर बसें । तर कहिल्यै आएन ।’

- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully