वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

परिवार अहिले शोकमा डुबेको मात्रै छैन, आशाको उज्यालो पनि निभेको छ ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Abhishek was preparing for foreign employment

What you should know

सुनसरी — इटहरी (सुनसरी) का अभिषेक श्रेष्ठ परिवारको आर्थिक अवस्था सुधार गर्न संघर्ष गरिरहेका थिए । तर परिवारमा उज्यालो ल्याउने उनको सपना त्यसै चुँडियो । भदौ २४ को प्रदर्शनले रणमैदान बनेको इटहरीमा प्रहरीको गोली लागेर उनीहरू ढले ।

उनीहरूको परिवार अहिले शोकमा डुबेको मात्रै छैन, आशाको उज्यालो पनि निभेको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ वैदेशिक रोजागरीमा जाने अन्तिम तयारीमा थिए । सुनसरीको रामधुनी नगरपालिकाको तित्रिबना स्थायी घर भएका श्रेष्ठ साउदी अरब जान केहीअघि मात्र काठमाडौंमा कागजपत्र बुझाएर आएका थिए ।

भिसासमेत आइसकेको श्रेष्ठको परिवारले जानकारी दिएको छ । भदौ २४ को प्रदर्शनमा सहभागी श्रेष्ठलाई प्रहरीले सिधै हानेको गोली कुममा लाग्यो । उनी नगरपालिका अगाडिको सडकमा ढले । अत्यधिक रक्तस्राव भयो । उनको घटनास्थलमै ज्यान गयो ।

इटहरी–५ भाडामा बस्दै आएका श्रेष्ठ इटहरीकै एक होटलमा पार्टटाइम फोटोग्राफीको काम गर्थे । नेपालको आम्दानीले परिवार चलाउन गाह्रो भएपछि उनी वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगेको परिवारले जानकारी दिएको छ ।

विदेश जानकै लागि उनले केही समयअघि काठमाडौंमा वारिष्टाको तालिम लिएका थिए । तालिम सकेर म्यानपावरमा कागजपत्र बुझाएर घर फर्किएका उनी साउदी उड्ने अन्तिम तयारीमा थिए । तर साउदी उड्नुअघि उनको चोला उड्यो ।

प्रहरीले ताकेरै गोली हानी हत्या गरेको श्रेष्ठकी आमा दाबी गर्छिन् । छोराले ज्यान गुमाउँदा काख रिक्तिएको भन्दै अरु कसैलाई पनि यस्तो बज्रपात नपरोस्, उनकी आमा भन्छिन् । देशका लागि ज्यान गुमाउने आफ्नो छोराको सालिक बनाएर इटहरीको मुख्य चोकमा राख्नुपर्ने श्रेष्ठको परिवारको माग छ ।

सम्बन्धित समाचार

जसका सपना सडकमै छुटे

उच्च शिक्षा अध्ययन गरिरहेका ओजन अस्ताए

सानैदेखि निडर अनि हक्की थिए विनोद

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

छिनभरमै ढल्यो सहारा

प्रहरी परिवारमा चोटमाथि चोट

आयुषको फ्रान्सको यात्रा अधुरै

छिनभरमै ढल्यो सहारा

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

कान्तिपुर

Link copied successfully