काठमाडौँ — विनोद महर्जन,३५,पाटन दुपात टोल :n‘भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नै पर्छ । अहिले नलडे कहिले लड्ने ? मरिहालेछु भने राज्यले घोषणा गरे सहिद भइन्छ, नभए लास । म मारिएछु भने गणतन्त्रको दियो निभ्न नदिनू । भ्रष्टचारविरुद्ध सधैं लागिरहनू,’ जेनजी आन्दोलनमा होमिनुअघि पाटन दुपात टोलका ३५ वर्षीय विनोद महर्जनले साथीभाइलाई भनेको अन्तिम वाक्य हो यो ।
विनोद थिए— सानैदेखि अन्याय सहन नसक्ने, निडर अनि बिहे गर्न पटक्कै नरुचाउने छुट्टै स्वभावका । उनी थिए— लप्पनछप्पन नजान्ने, कसैको आलोचना गर्नुपरे लुकिछिपी होइन सिधै गर्ने खालका । जोसँग पनि स्ट्रेट फर्वाड भएर कुराकानी गर्थे । मुलुकको व्यवस्था परिवर्तन गर्न युवाहरूले सशक्त आन्दोलन गर्नुपर्ने विचारधारा राख्थे । बाक्लो दाह्री–जुंगा र लामो कपाल देखेर अनौठो मान्नेहरू उनको कुरा सुनेर प्रभावित हुन्थे । यस्तै स्वभावले उनी समाजमा बेग्लै–बेग्लै थिए ।
nभाद्र २३ गतेको जेन–जी आन्दोलनमा उनी अग्रपंक्तिमा थिए, जो नाराजुलुस गर्दै अघि बढिरहेका थिए । संसद् भवनअघि पुग्दा अचानक गोली चल्यो । प्रहरीले चलाएको पहिलो गोली, सिधै उनको टाउकोमै लाग्यो । उनी घटनास्थलमै ढले, कहिल्यै नउठ्ने गरी ।
nमृतकका दाइ काजीरत्न महर्जन भन्छन्, ‘समाज र साथीभाइमाझ मात्र नभई घरपरिवारमा पनि सिधासिधै कुरा गर्ने स्वभावको थियो ऊ । देशका लागि केही गर्छु भन्ने गर्दथ्यो । भाइले देशका लागि बलिदान दियो । अहिले हाम्रो मात्र नभई देशकै छोरा भएको छ ।’ उनका अनुसार, भाइलाई गोली लागेको जानकारी उनले ३ बजेतिर मात्रै पाए । ‘सुरुमा विश्वास नै लागेन, सामान्य चोटपटक लागेको ठानें । केही समयपछि मृत्यु भइसकेको खबर आयो । त्यसपछि मन आत्तियो अनि खोजीनितीमा लागें,’ उनले सुनाए, ‘सामाजिक सञ्जालमा राताम्मे भएकाले चिन्न सकिनँ । नयाँ बानेश्वरको एभरेस्ट अस्पताल पुग्दा गोली भाइको मुखको तल्लो ओठबाट छिरेर कन्चटबाट निस्केको थियो ।’ यस्तो आन्दोलन कहिल्यै दोहोर्याएर गर्नु नपारोस्— उनले कामना गरे ।
nघटना घटेको दिन ‘जेन—जीको आन्दोलन भ्रष्टाचारविरुद्ध पनि हो’ भनेपछि स्वतफूर्त रूपमा विनोद साथीहरुसँग सहभागी भएको मृतकका दाइ काजीरत्न महर्जनले सुनाए ।
nललितपुर महानगरपालिका–७ का विनोद ढलेसँगै ७५ वर्षीय उनकी आमाको सहारा पनि ढलेको छ । विनोदले आमाको स्याहारसुसार गर्दै आइरहेका थिए । मृतकका बुबा चालक थिए, जो २०६७ सालमा बिते । त्यसयता दाइसँग मिलेर घर सम्हाल्दै आएका थिए । उनको बुबाको पुर्ख्यौली पेसा खेतीकिसानी थियो । उनका दाइ अहिले पनि खेतीकिसानी गर्छन् ।
nछोराले आन्दोलनमा शहादत प्राप्त गरेको पीडामा उनकी आमाले ५ दिनदेखि खाना खाएकी छैनन्, छिनछिनमा आमा बेहोस भइरहन्छिन् । छोरा सम्झेर बेला–बेला बर्बराउँछिन् । उता लास कुहिइसक्यो, ५ दिनसम्म पनि शव सद्गत गर्न नपाएकोमा मृतकका फुपू रत्नमाया महर्जन दुःख व्यक्त गर्छिन् ।
nविनोद कुनै पनि राजनीतिक दलमा आबद्ध थिएनन् । राजनितिक दलको बेलाबेला भइरहने जुलुसमा पनि जाँदैनथे । साथीभाइलाई पनि राजनीतिक दलको आन्दोलनमा भाग नलिन आग्रह गर्थे ।
nविनोद बहुप्रतिभाशाली थिए । मूर्ति बनाउन मैनको ओरजिनल कपी बनाउनेदेखि मूर्ति ढाल्ने, सुन लेपन गर्ने, मुहार चित्रकला भर्ने काममा निपुण थिए । महादेवका भक्त उनी बाँसुरी र धिमे बाजामा पनि निपुण थिए । घरका भित्ताभरी विभिन्न मूर्ति र पोन्टिङले सजाउँथे ।
nविनोदको पाहुना सत्कार राम्रो बानी भएको फुपू रत्नमाया महर्जन सम्झिन्छन् । भन्छिन्, ‘मनमा लुकिछिपी केही नराख्ने स्वभावका थिए ।’
nशुक्रबार मृतकको परिवार भेट्दा उनीहरू भक्कानो फुटाएर रोइरहेका थिए । बोल्न नसकेर धेरैबेरसम्म घोप्टो परेर बसे । ‘जीवनमा दुःखले रुन नपरोस् भन्ने इच्छा भए पनि समय–परिस्थितिले रुवाउने रैछ,’ विनोदकी दिदी बिना महर्जनले भनिन् ।
nविनोदका एक दाजु र तीन दिदीबहिनी छन् ।
