छिनभरमै ढल्यो सहारा

झोलामा बिस्कुट, चाउचाउ बोकेर जेन–जीको आन्दोलनका लागि घरबाट हिँडेका सौरन किशोर श्रेष्ठ जहिले पनि भ्रष्टाचार र कुरीतिविरुद्ध खरो उत्रन्थे । विकृति र विसंगतिविरुद्ध लाग्नेलाई उनी सधैं साथ दिन्थे ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Sahara fell in a moment

What you should know

काठमाडौँ — भदौ २३ को सोमबार वनस्थली ढुंगेधाराका ३८ वर्षीय सौरन किशोर श्रेष्ठ सबेरै झोलामा बिस्कुट, चाउचाउ बोकेर जेन–जीको आन्दोलनका लागि घरबाट हिँडे । बागलुङ बजार पुरानो घर भएका उनी जहिले पनि भ्रष्टाचार, कुरीतिविरुद्ध खरो उत्रन्थे ।

विकृति र विसंगतिविरुद्ध लाग्नेलाई उनी सधैं साथ दिन्थे । सहयोग गर्थे । त्यसैले जेन–जीले अघि सारेका एजेन्डा मन परेरै उनी आन्दोलनमा सहभागी हुन घरबाट निस्किएका थिए ।

घरमा श्रीमती र ६ वर्षका छोरा थिए । बुबा बसन्त किशोर (६३) र आमा निरु (६०) भने बैनीलाई भेट्न साढे तीन महिनादेखि अमेरिकामा थिए । बुबाले हामी छैनौं, आन्दोलनमा किन जान्छौं भन्दा उनी जवाफ फर्काउँथे, ड्याडी तपाईं पनि नेपालमा भएको भए जानुहुन्थ्यो, यो मुलुक परिवर्तनको आन्दोलन हो ड्याडी ।’

सौरन सबेरै आन्दोलनमा पुगे । नयाँ बानेश्वरको संसद् भवन अघिल्तिर जेन–जीको भीड थियो । चर्का नारा लागिरहेका थिए । यही बेला आँखै अगाडि गोली लागेर युवाहरू एकपछि अर्को गर्दे ढलेको देखेपछि उपचारका लागि लग्नुपर्छ भन्दै उठाउन खोज्दा उनलाई लगातार जस्तै छातीको दाहिने भागतिर दुई गोली लाग्यो । उनी त्यहीं ढले । रगताम्मे बने । घाँटीमा पनि गोलीको छर्रा लाग्यो ।

उनलाई आन्दोलनमा सहभागीहरूले उठाएर नजिकैको सिभिल अस्पताल पुर्‍याए । त्यो बेलासम्म उनको सास थियो । उनले श्रीमतीको नम्बरसमेत भन्न भ्याएका थिए, त्यसपछि उनी अचेत बने ।

सिभिलले अवस्था जटिल रहेकाले थप उपचार गर्न नसक्ने भएपछि केएमसी रेफर गरिदियो, त्यहाँ पुर्‍याएको दुई घण्टामा अस्पतालले उनलाई मृत घोषणा गर्‍यो । सिभिल अस्तपातलका चिकित्सकले उनकी श्रीमतीलाई खबर गरिदियो ।

आफन्त सबै अस्पतालमा जम्मा भए । अमेरिकामा रहेका बुबालाई पनि खबर गरियो । खबर सुनेर बसन्त किशोर भक्कानिए । तर श्रीमती निरुलाई सुनाएनन् । तुरुन्त नेपाल जानुपर्ने भयो भनेर टिकट काट्नतिर लागे ।

श्रीमतीलाई साथ लिएर बुधबार नेपालतिर प्रस्थान गरे । यो बेलासम्म उनले छोरा बितेको खबर श्रीमतीलाई सुनाउने हिम्मत गरेका थिएनन् । जब बिहीबार बेलुका दम्पती त्रिभुवन अन्ताष्ट्रिय विमानस्थल ओर्लिए । रुवाबासी गर्दै आफन्तले उनीहरूलाई घेरे । निरुले थाहा पाउनसाथ मुर्छित बनिन् । काठमाडौंमा प्लसटु पढ्दै गर्दा सौरन कोरिया गए । ५ वर्ष कोरिया बसेर फर्किएपछि ०७५ सालमा विवाह गरेका थिए ।

‘फेरि कोरिया जान्न भनेर बसेको थियो, नेपालमा जागिर खाए पनि तलबले पुग्ने अवस्था थिएन, फेरि जाने भनेर कुरा गर्दै थियो,’ बुबा बसन्त किशोर भन्छन्, ‘हामी त्यही बेला अमेरिका थियौं, नभन्दै हाम्रो बुढेसकालको सहारा सधैंका लागि अस्ताएर गयो ।’

‘आँखामा राख्दा पनि नबिझाउने थियो, गाउँलेको सेवा गर्न पाउँदा एकदमै खुसी हुन्थ्यो,’ उनले भने । सौरनको टोलमा अहिले रुवाबासी छ । सबै टोलबासी भावविह्वल छन् । उनले भक्कानिँदै भने, ‘हामी नभएको बेला आन्दोलनमा गयो, सकुशल देख्न भेट्न नपाई हाम्रो साथ छाडेर गयो, अब उसको हत्याराले उन्मुक्ति नपाओस् ।’ 

‘पैसाका लागि आन्दोलन गर्न खोजेको थिएन, सहिद घोषणा गर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘अब परिवर्तनका लागि हिँडेका निहत्याको हत्या गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ, भ्रष्टाचारी र तस्करविरुद्ध कारबाही हुनुपर्छ, ०४६ सालयता सम्पत्ति अपचलन गर्नेको छानबिन गरिनुपर्छ, त्यसपछि मात्र हाम्रो छोराहरूले न्याय पाउनेछन् ।’ श्रेष्ठ दम्पतीका एक छोरा र एक छोरी मात्र हुन् । 

सम्बन्धित समाचार 

सानैदेखि निडर अनि हक्की थिए विनोद

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

छिनभरमै ढल्यो सहारा

प्रहरी परिवारमा चोटमाथि चोट

आयुषको फ्रान्सको यात्रा अधुरै

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

कान्तिपुर

Link copied successfully