नेपाली सेनाका पूर्वमेजर ईश्वरबहादुर अधिकारी र अन्जना थापाका २६ वर्षीय छोरा ईश्वत गत सोमबार बुबालाई भनेरै जेन—जी आन्दोलनमा सरिक हुन घरबाट निस्केका थिए ।
तनहुँ — तनहुँको भानु नगरपालिका–१२ कवाजित पुर्ख्यौली घर भई काठमाडौंमा बसोबास गर्दै आएका ईश्वत अधिकारीको पनि काठमाडौंको भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको छ ।
नेपाली सेनाका पूर्वमेजर ईश्वरबहादुर अधिकारी र अन्जना थापाका २६ वर्षीय छोरा ईश्वत गत सोमबार बुबालाई भनेरै जेन—जी आन्दोलनमा सरिक हुन घरबाट निस्केका थिए । बुबा ईश्वरले भने, ‘म सँग जान्छु भनेर गएको हो । म पनि जान्छु भन्दा यो जेन—जीको आन्दोलन हो, यो हाम्रा लागि हो भनेर मलाई रोकेर आफू गएको थियो ।’
देशलाई भ्रष्टाचारमुक्त बनाउँछु, देशमा परिवर्तन ल्याउछु भनी प्रदर्शनीमा गएको छोरा सहिद भएको उनी बताउँछन् । ‘हामी दुःखी छौं । प्रदर्शनीमा गएको जवान छोरा घर नफर्किदा कसलाई दुःख हुन्न र ?’ उनले भने, ‘अहिले दुःख मलाई मात्र होइन सबैलाई परेको छ । देश नै रोएको छ । छोरा सहिद भयो । देशले जे चाहेको छ, म पनि त्यही चाहन्छु ।’
ईश्वत अर्थ मन्त्रालयका पूर्व सहसचिव एवं गाउँसेवा कोषका संस्थापक भीमबहादुर अधिकारीका नाति हुन् । ईश्वत अंग्रेजी र मनोविज्ञानमा स्नातकोत्तर सकेर व्यवस्थापन पढिरहेका थिए । अध्ययनका लागि यूके जाने तयारीमा रहेका उनको पासपोर्ट नवीकरणका लागि जिल्ला प्रशासन काठमाडौंमै रहेको परिवारजनले सुनाए ।
अधिकारी परिवार हाल काठमाडौं–१६ बालाजुमा बसोबास गर्दै आएको छ । ईश्वतको पुर्ख्यौली घर तनहुँ भए पनि उनको परिवार लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएको छ । अनुशासित र जिम्मेवार वातावरणमा हुर्केका ईश्वत परिवारको आशा र गौरबका प्रतीक थिए । - विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।
सम्बन्धित समाचार
