१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपालमा कहिले आउला कोरोना खोप ? [टिप्पणी]

सरकारले खोप प्राप्तिका लागि गरिरहेका प्रयासहरु फितलो प्रमाणित भइरहेका बेला निजी स्तरमा खोप ल्याउनका लागि चलखेल सुरु भइसकेको छ । त्यही चलखेलका कारण सरकारका प्रयासहरु फितलो भइरहेको हो भनेर आलोचना गर्नेहरुको स्वर पनि सुनिन थालेको छ ।
स्वरूप आचार्य

काठमाडौँ — भारतले दुईवटा कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै नेपालमा पनि छिट्टै खोप उपलब्ध हुनसक्ने आशा पलाएको छ । तर, त्यो आशा वास्तविकतामा परिणत हुनका लागि निकै समय लाग्ने देखिन्छ ।

नेपालमा कहिले आउला कोरोना खोप ? [टिप्पणी]

खोप प्राप्तिका लागि नेपाल सरकारले गरिरहेको प्रयासबारे जानकार स्रोतहरुका अनुसार अहिले नै नेपालीहरु खुसी भइहाल्नुपर्ने अवस्था छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त मन्त्री हृदयेश त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता कोभिड–१९ खोप नेपाल भित्र्याउने रहेको बताए पनि त्यसमा कुनै ठोस काम भएको पाइँदैन । यद्यपि अर्थ मन्त्रालयले खोप खरिदका लागि आवश्यक पर्ने रकम (करिब ४२ अर्ब रुपैयाँ)को प्रतिबद्धता भने जनाइसकेको छ । तर अहिलेको राजनीतिक तरलताको मार खोप प्राप्तिमा पर्ने देखिन्छ ।

पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले विभिन्न खोप निर्माता देशमा कुटनीतिक नोट पठाइएको र निर्माता कम्पनीहरुलाई पनि पत्राचार गरिएको दाबी गरेका थिए । उनले केही देशले नेपालको कुटनीतिक नोटप्रति सकारात्मक रहेको पनि बताएका थिए । तर, मन्त्रालयस्थित उच्च स्रोतका अनुसार कुनै पनि पक्षसँग औपचारिक रुपमा छलफल अगाडि बढेको छैन । सरकारीस्तरमा धेरै गहिरिएर खोपको विषयमा भारत र रुसका राजदूतहरुसँग मात्रै छलफल भएको छ । चीन पनि नेपालको खोपको आवश्यकतालाई पूरा गर्न कति तत्पर छ भन्ने भविष्यकै गर्भमा छ ।

रुसमा उत्पादन गरिएको खोप ‘स्पुत्निक ५’को प्रभावकारिता र विश्वनीयताबारे यकिन तथ्यांकहरु उपलब्ध नभएको अवस्थामा भारत पहिलो र सहज पहुँचको केन्द्र हो । त्यसमा पनि भारतमा रहेको विश्वकै ठूला मध्येको एक खोप निर्माण गर्ने केन्द्रमा कोभिड–१९ को खोप उत्पादन भएर भारतभर वितरण हुँदा त्यो नेपालसम्म ल्याउन अझ बढी सहज अवश्य नै हुन्छ ।

आइतबार भारतको औषधि नियन्त्रण महानिर्देशनालयले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वकिृति दिएको छ ।

यस अनुमतिसँगै भारतमा पहिलो चरणमा तीन करोड जनसंख्यालाई खोप दिने तयारी भएको छ । जसका लागि शनिबार भारतभर ‘ड्राइ रन’ पनि गरिएको थियो । भारतले आफैंले निर्माण गरेको खोप ‘कोभ्याक्सिन’ले तेस्रो चरणको ट्रायलमा कस्तो परिणाम देखायो भन्ने सार्वजनिक गरेको छैन । तर, अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको सहकार्यमा निर्माण तथा सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ले भने ७० प्रतिशतसम्म काम गर्ने तथ्यांक सार्वजनिक भइसकेको छ । यो खोपलाई बेलायतलगायत अन्य मुलुकले पनि प्रयोगको अनुमति दिइसकेको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा सिरमका एक उच्च अधिकारीले कम्पनीले खोपको आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको बताएका थिए । यस्तै अघिल्लो महिना भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल भ्रमणको क्रममा पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरुमध्ये नेपाल प्राथमिकतामा रहेको जनाएका थिए । गत बिहीबार बधाई दिन स्वास्थ्य मन्त्रालय पुगेका भारतीय राजदूत विनयमोहन क्वात्रालाई नवनियुक्त स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनौपचारिक रुपमै भए पनि खोपका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

मन्त्री त्रिपाठीले व्यक्तिगत रुपमा पनि भारतीय नेताहरुसँग नेपाललाई पनि खोप उपलब्ध गराइदिनका लागि कुराकानी गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार नेपालले अनौपचारिक रुपमा विभिन्न तहमा खोप प्राप्तिका लागि छलफल गरे पनि औपचारिक रुपमा ठोस पहल भने गर्न सकेको छैन ।

यद्यपि नेपालको पहिलो आशा भनेको गाभीअन्तर्गत विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने खोप नै बनेको छ । विश्वका गरिब मुलुकहरुमा पनि विभिन्न नयाँ खोप सर्वसुलभ तवरले पहुँच पुगोस् भनेर विभिन्न दातृ निकायको सहकार्यमा गाभी सुरु भएको हो । गाभीले केही खोप अंग्रेजी महिनाको मार्चबाट वितरण गर्ने लक्ष्य राखेको भए पनि त्यो खोप उत्पादन गर्ने कम्पनीले गाभीलाई उपलब्ध गराउने संख्या र प्राथमिकतामा भर पर्छ । नेपालले गाभीबाट खोप प्राप्त गर्नका लागि भने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको स्वास्थ्य सचिव लक्षण अर्याल दाबी गर्छन् । तर, कति संख्यामा र कुन खोप नेपाल आउँछ भन्ने यकिन जवाफ उनीसँग पनि छैन ।

कहिले आउँछ नेपालमा खोप ?

नेपालमा कोभिड–१९ विरुद्धको खोप कहिले आउँछ भन्ने प्रश्नको जवाफ नेपालमा कसैसँग पनि छैन । सरकारले खोप प्राप्तिका लागि गरिरहेका प्रयासहरु फितलो प्रमाणित भइरहेका बेला निजी स्तरमा खोप ल्याउनका लागि पनि चलखेल सुरु भइसकेको छ । त्यही चलखेलका कारण सरकारका प्रयासहरु फितलो भइरहेको हो भनेर आलोचना गर्नेहरुको स्वर पनि सुनिन थालेको छ ।

मन्त्रालयस्थित उच्च स्रोतका अनुसार मेडिकल क्षेत्रका पुराना खेलाडीहरुका साथै नेपालका घरानीया व्यापारीहरु पनि निजी तवरबाट खोप ल्याएर मोटो रकम कमाउन दौडधुपमा लागेका छन् । ती स्रोतले भने– ‘खोप त ल्याउलान् तर सरकारले बिक्री गर्न दिँदैन कि भन्ने डरले अहिले शक्तिकेन्द्रहरुको राय बुझ्न दौडिरहेका छन् ।’

ती स्रोतका अनुसार एक घरानीया व्यापारिक समूहले भारतको सिरमले उत्पादन गरेको खोप प्राप्त गर्न भारतीय पक्षलाई नै पनि राजी गराइसकेको छ । ‘एउटा ग्रुपले सिरमसँग कुरा मिलाइसक्यो भन्ने सुनेको छु । त्यसैले एस्ट्राजेनेकाका उच्च अधिकारीसँग अनलाइनमा वान टू वान छलफल गर्ने भनेर तय भएको कार्यक्रम रद्द गरेर मेल मात्र पठाउने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । यस्तै स्रोतका अनुसार सरकारले मोर्डेनाका उच्च अधिकारीसँग पनि खोप प्राप्तिका लागि ‌औपचारिक छलफलको प्रयास गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी अनौपचारिक कुराकानीमा बताएर अनुसार सरकार केही गरी आफ्नो पहलमा खोप ल्याउन सफल भएन भने निजी क्षेत्रलाई आयात गर्नका लागि दिने मानसिकतामा छ । तर, सो खोप सरकारले नै खरिद गरेर निशुल्क लगाउने छ । 'ल्याउन त जसले ल्याएपनि हुन्छ नि । लगाउन कसले पाउँछ भन्ने पो मुख्य कुरा हो,' ती अधिकारीले भनेका थिए ।

एकातर्फ गाभीका लागि सबैभन्दा धेरै खोप दिनका लागि प्रतिबद्धता जनाएको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले मार्च–अप्रिलमा मात्रै त्यो सम्भव हुने बताइसकेका छन् । भारतीय सञ्चार माध्यमलाई उनले दिएको प्रतिक्रियाअनुसार भारतीय सरकारले त्यहाँको जनसंख्यालाई पुग्ने खोप उत्पादन भएपछि मात्रै बाहिर निर्यात गर्ने सर्तमा सो खोपलाई अनुमति दिइएको हो ।

उनको यो प्रतिक्रियापछि नेपालले गाभीबाट खोप पाउने समय थप लम्बिने निश्चित भएको छ । नेपाल सरकारले भारतीय सरकारलाई मनाउन सकेमात्रै केही मात्रामा खोप प्राप्त गर्न सकिन्छ । नभए सिरमसँग खोप नै किन्ने बाटो पनि अहिलेका लागि बन्द भएको छ ।

अर्कोतर्फ भारत सरकारले बिना कुनै ठोस प्रमाण सार्वजनिक हुनुपूर्व नै अनुमतिदिएको ‘कोभ्याक्सिन’ खोप नेपाललाई दिने प्रप्ताव गरे लिने कि नलिने भन्ने गम्भीर प्रश्न पनि छ । त्यसतर्फ पनि नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञहरुले ध्यान पुर्‍याउनुपर्छ ।

कुन खोप नेपालका लागि उपयुक्त ?

नेपालका लागि कुन खोप सबैभन्दा बढी उपयुक्त हुन्छ भन्ने प्रश्नको जवाफ हालसम्म पनि स्वास्थ्य मन्त्रालयसँग भए जस्तो देखिन्न । मोडर्ना, फाइजर – बयोएनटेक, एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय, रुस र चीन आदिले निर्माण गरेका खोपहरु विभिन्न देशमा अनुमति प्राप्त गर्दै प्रयोगमा आउन थालिसकेका छन् । तर, यी खोपहरुमध्ये नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेमा भने बहस जारी नै छ ।

हालसम्म विभिन्न देशका सरकारी निकायहरुबाट प्रमाणित भएका खोपहरु कोभिड–१९ विरुद्ध प्रभावकारी भए पनि उपयुक्त भने नहुने देखिन्छ । किनभने एस्ट्राजेनेकाले विकास गरेको खोप बाहेक अधिकांश खोपहरुलाई भण्डारण गरेर राख्नका लागि थोरैमा पनि माइनस २० डिग्रीको युनिट आवश्यकता पर्छ । जसका कारण ती खोप प्राप्त भए पनि व्यवस्थापनमा ठूलो चुनौती आइपर्छ । नेपालमा कोल्डचेनमा उचित तवरले राख्न र ढुवानी गर्नका लागि आवश्यक पूर्वाधार नै छैन । सिरमले उत्पादन गरिरहेको एस्ट्राजेनेकाको खोप भने समान्य फ्रिजमै सजिलै भण्डारण गर्न सकिन्छ ।

नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीले कुनै पनि भ्याक्सिन आएकै खण्डमा पनि त्यसलाई उचित तवरले भण्डारण गर्ने व्यवस्था नभएका कारण आफूले सो पूर्वाधार खडा गर्न निर्देशन दिएको बताएका छन् । ‘मैले कोल्डस्टोर, गाडी लगायतका अन्य पूवाधार लगायतका आवश्यक व्यवस्थाहरु गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘कोल्डस्टोर समयमा बनाउन नसक्ने हो भने यो काम पनि सेनाकै जिम्मा लगाइदिन्छु भनेर पनि भनेको छु ।’

यद्यपि कुन खोप नेपालका लागि बढी उपयुक्त हुन्छ भन्‍ने विषयमा विशेषज्ञहरूले नै स्पष्ट पार्न उचित हुन्छ ।

प्रकाशित : पुस २०, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?