कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

खोपको ‘कोल्ड चेन’ गृहकार्य खोइ ?

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन ‘कोल्ड चेन’ व्यवस्था गर्न र उचित वितरणको व्यवस्था मिलाउन सरकारको तयारी देखिएको छैन । खोप बनेपछि त्यसलाई आमनागरिकसम्म पुर्‍याउन एकै पटक अभियान चलाए मुलुकमा भएको संरचना अपुग हुन सक्ने देखिएको छ ।

खोपको ‘कोल्ड चेन’ गृहकार्य खोइ ?

कोभिड खोप अभियान सुरु भएपछि नियमित खोप कार्यक्रम र स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न विशेष तयारी आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । त्यसका लागि ‘कोल्ड चेन’ प्रणालीलाई बलियो बनाउन सरकारले खासै तयारी गरेको छैन । ‘हामीलाई तत्काल खोपको वितरण अर्थात् लजिस्टिकमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘यसअन्तर्गत पनि मुख्य रूपले कोल्ड चेनमा ध्यान दिनुपर्छ । जसले कोभिड खोपको गुणस्तर कायम राख्न सघाउ पुग्नेछ ।’

खोपलाई निर्धारित तापक्रममा नराख्दा यो असरहीन हुन्छ । खोपमा रहेको गुण र यसको प्रभावकारिता कायम गर्न खोप उत्पादनदेखि लगाउने बेलासम्म तोकिएको तापक्रममा राख्नुपर्छ । खोपलाई परिवहन, भण्डारण, वितरण र लगाउने बेलासम्म एउटा खास तापक्रम कायम राख्ने प्रणालीलाई ‘कोल्ड चेन’ भनिन्छ ।

एकै पटक ठूलो मात्रामा खोप आयो भने भण्डारण गर्न समस्या रहेको औंल्याउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘एक महिनाभित्रै दुई मात्रा दिनुपर्ने कोभिडको खोप करोड मात्रा चाहियो भने हामी राख्नै सक्दैनौं । हामीसँग भण्डारण क्षमता नै छैन ।’

हाल बालबालिकाको खोपका लागि वार्षिक करिब ५० देखि ६० लाख डोज खोप भण्डारण गर्नुपर्ने स्थिति रहेको जनाउँदै उनले भने, ‘बच्चाको खोप र कोभिडको खोप सँगै आयो भने भण्डारण गर्नै सकिँदैन । तुरुन्त छुट्टै भण्डारणका लागि कोल्ड चेन निर्माण आवश्यक छ ।’

खोपसँग सम्बन्धित सरकारी निकायका पदाधिकारीहरूले मुलुकले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्ने कोभिडको खोप धान्न सकिने बताउँदै आएका छन् । कोभिडका लागि तयार गरी राखिएका केही ‘एम आरएनए’ खोप माइनस २० डिग्री सेन्टिग्रेड वा माइनस ७० डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्ने देखिएको छ । शून्यभन्दा ७० डिग्री सेल्सियस तल (माइनस ९४ डिग्री फरेनहाइट) को तापक्रम आवश्यक भएको कोभिड खोपका लागि कोल्ड चेन कायम राख्नु चुनौती छ ।

यस्तो खोप उपयोग गर्दा वितरण लागत र परिचालन जटिलतालाई बढाउने औंल्याउँदै विज्ञहरू अत्यन्त चिसोमा राख्नुपर्ने खोपको वितरण २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने खोपको दाँजोमा ३ देखि ६ गुणा महँगो रहेको बताउँछन् । हाल मुलुकमा काठमाडौं र पथलैया गरी दुईवटा केन्द्रीयसहित ७७ वटै जिल्लामा भ्याक्सिन स्टोर छन् ।

डा. मरासिनीका अनुसार बच्चालाई खोप दिन बनाइएको यो पूर्वाधारलाई अझ अद्यावधिक नगरिए कोभिडको खोप लगाउन सहज हुने छैन । हाल मुलुकमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् । ती केन्द्रबाट नियमित प्रभावकारी तरिकाले खोप सेवा सञ्चालन गरिँदै आएको छ ।

यो संरचनाबाट कोभिडको खोपसमेत दिन थाल्दा यसलाई चापअनुसार थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी भन्छन्, ‘कोभाक्सबाट सुरुमा आउने भनिएको ३ प्रतिशत जनसंख्या (९ लाख जना) लाई पुग्ने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने गरी आयो भने भएकै संरचनाबाट पनि जे जसरी गरेर दिन सकिने हामीले प्रारम्भिक आकलन गरेका छौं ।’

कोभिड खोप लगाउनेको संख्या बढ्दा भण्डारणदेखि लजिस्टिकलगायत सबै क्षमता बढाउनुको विकल्प नरहेको ती स्वास्थ्य पदाधिकारीले बताए । उनले सरकारले यसबारे खासै ध्यान नदिएको गुनासोसमेत गरे ।

प्रकाशित : मंसिर २७, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?