खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन

भारतमा बन्दै गरेको कोभिसिल्ड नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने
मकर श्रेष्ठ

काठमाडौँ — सरकारले भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप उत्तम हुन सक्ने भन्दै छलफल अघि बढाएको छ । भारतीय खोप सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा खोप उत्पादन गरिरहेको छ । कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि सिरमले सरकारसँग अनुमति माग गरिसकेको छ ।

खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन

उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा छलफल गर्न शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् । ‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो,’ पोखरेलले भने, ‘त्यसबाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्‍यौं ।’

उक्त छलफलमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले भारतमा उत्पादन हुने खोप ल्याउन सहज, सस्तो र भण्डारण गर्नसमेत सजिलो हुने जानकारी गराएका छन् । ९० प्रतिशतसम्म प्रभावकारिता भएको कोभिसिल्ड नाम दिइएको खोप २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने कम्पनीले दाबी गरेको छ । बेलायतले आकस्मिक प्रयोग गर्न अनुमति दिएको फाइजरको खोप भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।

‘अरू मुलुकमा बनेको खोप महँगो र भण्डारण गर्न नसकिने भएकाले भारतमा उत्पादन भइरहेको खोप भण्डारण गर्न सकिने र सस्तोमा पाइनेबारे जानकारी गराइएको हो,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘भ्याक्सिन खरिद गर्न भारतसहित अरू मुलुकमा कूटनीतिक रूपमा पहल भइसकेको छ । उत्पादक कम्पनीसँग पनि छलफल भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको छ । ‘भारतमा ३ डलरमा उपलब्ध हुने भए पनि ढुवानी र अन्य प्रक्रिया पूरा गर्दा ७ डलर पर्न सक्ने देखियो,’ ती मन्त्रीले भने । सरकारले १० डलरका दरले ५२ प्रतिशत नागरिकलाई खोप किन्नुपर्ने भन्दै ४२ अर्ब बजेट आवश्यक पर्ने आकलन गरेको छ ।

खोपको ‘कोल्ड चेन’ गृहकार्य खोइ ?

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सिरमलाई इमेल गरेर खोप आउँदा नेपाललाई पनि सहयोग गर्न पत्राचार गरिसकेको छ । ‘सिरमले उत्पादन गरेका भ्याक्सिनहरू हामीले प्रयोग गरिरहेका छौं । अहिले पनि कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेको छ । खोपको अनुमति पाएपछि हामीले सहयोग पाउने अपेक्षा गरेका छौं,’ महाशाखाले सिरमलाई लेखेको पत्रमा भनिएको छ । सिरमले उत्पादन गरेको बीसीजीको खोप नेपालमा प्रयोग भइरहेको छ । ‘सिरमसँगको हाम्रो पुरानो सम्बन्ध हो,’ महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने, ‘कम्पनीले बनाएको भ्याक्सिन प्रयोगको अनुमति पाएपछि सहयोग गर्न आग्रहसहितको इमेल गरेका थियौं । सकारात्मक जवाफ आएको छ ।’

सरकारले भारतबाहेक चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया र रसियामा पनि कूटनीतिक नोट पठाइसकेको छ । ‘भारतको जस्तो सस्तो र भण्डारण गर्न सकिने अहिलेसम्म अरू भ्याक्सिन बनेको छैन भनेर स्वास्थ्य मन्त्रालयले बैठकमा जानकारी गराएको छ,’ बैठकमा सहभागी एक मन्त्रीले भने ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च ‘आईसीएमआर’ को निगरानीमा कोभिसिल्ड खोपको परीक्षण चलिरहेको छ । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने उक्त खोप नेपालमा भण्डारण गर्न सकिने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप खरिद गर्न सरकारले निश्चित मापदण्ड तय गरेको बताए । ‘विश्व स्वास्थ्य संगठन र मान्यता प्राप्त निकायबाट अनुमति पाएका, प्रभावकारी, आवश्यक जति उपलब्ध गराउन सक्ने, भण्डारण गर्न मिल्नेमात्रै खोप नेपालले खरिद गर्नेछ,’ उनले भने ।

औषधि अध्यादेश जारी गरी विश्व स्वास्थ्य संगठन र मान्यता प्राप्त निकाय वा उत्पादन गर्ने सम्बन्धित देशले मान्यता दिएको खोप नेपालमा पनि आकस्मिक रूपमा प्रयोग गर्न अनुमति दिन सकिने व्यवस्था गरिएको छ । एसआईआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले केही खास अवस्थामा ९० प्रतिशत प्रभावकारी देखिएको कोभिसिल्डको १० करोड डोज जनवरीबाट उपलब्ध हुने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर २७, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?