भारतमा कोरोना खोप प्रयोगका लागि सिरम इन्स्टिच्युटले सरकारसँग माग्यो अनुमति- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा कोरोना खोप प्रयोगका लागि सिरम इन्स्टिच्युटले सरकारसँग माग्यो अनुमति

२ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिने कोरोना खोप 'कोभिसिल्ड' सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा उत्पादन गरिरहेको छ ।
इकान्तिपुर डेस्क

काठमाडौँ — भारतीय खोप सिरम इन्स्टिच्युट अफ् इन्डिया(एसआईआई)ले सरकारसँगको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ । डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको एसआईआईले कोरोना खोपको आपत्कालीन प्रयोगको अनुमति मागेको हो ।

एसआईआईले भारतमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना खोप विकास गरिरहेको छ । भारतीय औषधि महानियन्त्रक(डीसीजीआई) सँग यसअघि अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग संयुक्त रुपमा विकास गरेको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिसकेको छ । फाइजरको कोरोना खोपको प्रयोगका लागि बेलायत र बहराइनले अनुमति दिइसकेका छन् ।

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा भारतमा कोभिसिल्ड नामक कोरोना खोप उत्पादन गरिरहेको छ । यसअघि कम्पनीले सन् २०२० अन्त्यसम्ममा कोरोना खोप उत्पादन हुने बताएको थियो । शुक्रबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्तामै भारतका कोरोना खोप उपलब्ध हुने बताएका थिए । मोदीले एसआईआईलगायत विभिन्न औषधि र खोप निर्माण गर्ने कम्पनीको भ्रमणपछि केही हप्तामै कोरोना खोप उपलब्ध हुने बताएका थिए ।

एसआईआईका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अदार पुनावालाले वाचागरेअनुरुप नै कम्पनीले सरकारसँग कोभिसिल्डको आपत्कालीन प्रयोग अनुमति माग गरेको बताएका छन् । साथै उनले भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना खोपको विकासमा महत्वपूर्ण साथ दिएको उल्लेख गर्दै यसले लाखौंलाई बचाउन सकिने बताएका छन् । सीईओ पुनावालाका अनुसार एसआईआईले पहिलो ब्याचअन्तर्गत एक सय करोड डोज उत्पादन गर्नेछ । उक्त परिमाणको खोप सन् २०२१ पहिलो र दोस्रो त्रैमासिकसम्म उत्पादन भइसक्ने उनले बताएका छन् ।

एसआईआईले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) को निगरानीमा भारतका विभिन्न ठाउँमा कोरोना खोपको तेस्रो चरणको चिकित्सकीय परीक्षण गरेको थियो । एसआईआइले परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै कोभिसिल्ड सुरक्षित रहेको र लक्षित व्यक्तिमा प्रभावकारी देखिएको दाबी गरेको थियो ।

केही हप्ताअघि अक्सफोर्ड र एस्ट्राजेनेकाले आफूले विकास गरेको कोरोना खोप औसतमा ७० प्रतिशत प्रभावकारी भएको बताएको थियो । कोरोना खोपको मात्रा र संक्रमितको अवस्थाअनुसार ९० प्रतिशतसम्म प्रभावकारी देखिएको एस्ट्राजेनेकाले दाबी गरेको थियो । कोभिसिल्ड पाका उमेरका व्यक्तिमा पनि प्रभावकारी देखिएको एसआईआईको दाबी छ ।

कोभिसिल्ड २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ । फाइजरको कोरोना खोपको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।

नेपालले पनि कोरोनाविरुद्धको खोप ल्याउन एसआईआईसँग छलफल गरिरहेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर २२, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

'डान्स मास्टर लिटिल च्याम्प्स' आयोजना हुने 

सारंगा श्रेष्ठ 'सुपर जज', सुशान्त खत्री र टेरिया मगरलगायत 'जज'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा बालबालिकाको डान्सिङ रियालिटी सो आयोजना हुने भएको छ । 'कमेडी च्याम्पियन'का निर्देशक विशाल भण्डारीले 'डान्स मास्टर लिटिल च्याम्प्स' सुरु गर्ने भएका हुन् ।

'थ्रि प्रोडक्सन' र 'नेपा प्रोडक्सन'सँगको सहकार्यममा निर्माण हुने सोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माता रहेका छन् ।

सोमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने बताइएको छ । सोको 'सुपर जज'मा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । 'डान्स इन्डिया डान्स-लिटिल च्याम्प्स'की विजेता टेरिया मगर, 'डान्स प्लस सिजन-२' का प्रतियोगी सुशान्त खत्री र बुगी बिगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन सोका निर्णायकमा तय भएका छन् ।

सोको प्रस्तोतामा रीमा र सुमन कोइराला रहने भएका छन् । निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई अवसर दिन यो सो सुरु गरेको बताउँछन् । 'राम्रो नृत्य गर्ने बालबालिकाले प्लेटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान टेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौं,' उनले भने ।

'कमेडी च्याम्पियन सिजन २' समाप्त भएको दुई महिनापछि यो सो सुरु हुने निर्देशक भण्डारीले जनाए । सोको पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्माण टिमले जनाएको छ ।

सोका विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

प्रकाशित : मंसिर २२, २०७७ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×