काठमाडौँ — भारतमा लगातार ८औं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ७९ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।
जुन महामारी फैलिएयताकै धेरै हो । मंगलबार भने भारतमा३ लाख ६० हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ६ सय ४५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ४ हजार ८ सय ३२ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ८३ लाख ७६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५० लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८४ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १७ लाख ६८ हजार १ सय ९० नमुना परीक्षण भएको थियो ।
India reports 3,79,257 new #COVID19 cases, 3645 deaths and 2,69,507 discharges in the last 24 hours, as per Union Health Ministry
— ANI (@ANI) April 29, 2021
Total cases: 1,83,76,524
Total recoveries: 1,50,86,878
Death toll: 2,04,832
Active cases: 30,84,814
Total vaccination: 15,00,20,648 pic.twitter.com/ak1MKYUW7R
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६१ हजार १ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३५ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २० हजार ४ सय ५८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ६८ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३५ हजार ९ सय ३ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ११ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने ७७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ भने ८४ जनाको मृत्यु भएको छ ।
भारतमा बुधबारसम्ममा १५ करोड भन्दा बढीले खोप लगाएका छन् ।
