गोरखा — एकै गाउँका २५ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि भीमसेन थापा गाउँपालिका–७ को क्यामुनटार गाउँ सिल गरिएको छ । मंगलबार क्यामुनटारका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘३१ जनाको नमुना परीक्षण गर्दा मंगलबार मात्र २५ जनाको पोजिटिभ रिपोर्ट आयो,’ गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले भने, ‘संक्रमणको जोखिमलाई ध्यान दिएर बुधबारबाट क्यामुनटार गाउँ सिल गरेका छौँ ।’ अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्थानीयलाई सूचित गरिएको उनले बताए । औषधि तथा खाद्यान्न पसलबाहेक अन्य पसल बन्द गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
‘अन्य क्षेत्रका मान्छे क्यामुनटार नजान र क्यामुनटारका मान्छे बाहिर पनि नजान भनेका छौँ,’ पाण्डेले भने, ‘क्यामुनटारको सडक भएर चल्ने यात्रुवाहक बसलाई त्यो ठाउँमा यात्रु ओराल्न र नचढाउन भनेका छौँ ।’ बुधबार क्यामुनटारमा कन्ट्याक्ट ट्रेसिङ गरी स्थानीयको स्वाबको नमुना लिएको गाउँपालिकाले जनाएको छ । झन्डै एक सय ५० जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाउने गापाले जनाएको छ ।
क्यामुनटारका ४ स्कुले विद्यार्थी र २१ स्थानीयमा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । जिल्लामा मंगबार एकै दिन ४६ जना कोरोना संक्रमित थपिएका थिए । यसैगरी जिल्ला अस्पतालले बिहीबारदेखि ओपीडी सेवा बन्द गर्ने भएको छ । अत्यावश्यक सेवा र फिबर क्लिनिक भने खुल्नेछन् ।
