मुख्य नाकामा कडाइ गरिए पनि अन्य नाकाबाट भित्रिने र बाहिरिने क्रम उस्तै
सप्तरी, सर्लाही — भारतको बिहार प्रान्त मधुवनी, कजलीपट्टीका संजीवकुमार मण्डल नयाँदिल्लीको नोयडामा रोजगारी गर्छन् । कोरोना भाइरसको दोस्रो लहरले नयाँदिल्ली अक्रान्त बनेपछि साताअघि उनी बिहारस्थित घर फर्किए ।
फर्किंदा उनी बिरामी नै थिए । सप्तरीको छिन्नमस्ता मन्दिरमा भाकल गरे निको हुने भन्दै छिमेकीको सल्लाहअनुसार बुधार बिहानै घरबाट एउटा बोकासहित उनी नेपाल भित्रिन छिन्नमस्ता गाउँपालिकास्थित नाकामा पुगे ।
नाकाको प्रवेश मार्गमा तारबारको घेरा थियो । तर आउजाउ गर्नेले कुनाबाट बाटो बनाएका छन् । उनीहरू पनि त्यही चोर बाटोबाट सप्तरी पसे । दिउँसो भारतबाट नेपाल प्रवेश गरेका उनीसँग परिवारका अन्य १२ सदस्य पनि थिए । भारतबाट सीमा पार गरी नेपाल भित्रिँदै गर्दा गोविन्दपुर नाकामा न सुरक्षाकर्मी देखिए न उनीहरूको स्वास्थ्य जाँच गरिदिने कुनै हेल्थ डेस्क थियो । सप्तरीको छिनमस्ता नाका गत वर्ष कोरोना महामारी सुरु भएसँगै सिल गरिएको छ । सप्तरीको कुनौली नाका मात्रै आउजाउका लागि खुला छ ।
गत वर्ष कोरोना संक्रमणपछि नेपाल–भारत सीमा सिल गरिएको थियो । संक्रमण केही कम भएपछि सरकारले यहाँको कुनौली नाका मात्र आवतजावतका लागि खुला गरेको थियो । अन्य नाकाहरू सरकारी निर्णयअनुसार अझै पनि बन्द छन् । तर बुधबार बिहानदेखि दिउँसोसम्म बन्द रहेको गोविन्दपुर नाकाबाट मात्र सयौं जना नेपाल भित्रिए । अधिकांश भारतीय थिए । केही मन्दिरमा पूजा गर्न त कोही आफन्तकोमा विवाह लगायतमा सहभागी हुन आएका थिए । भारतका विभिन्न सहरमा रोजगारी गरी फर्किने नेपालीको संख्या भने न्यून थियो ।
गोविन्दपुर नाका रहेको स्थानभन्दा एक किलोमिटर उत्तर सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट छ । मूल नाकाबाट दुई किलोमिटरमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सखडा छ । तर मूल बोर्डरमै भने प्रहरीको उपस्थिति छैन । सशस्त्र प्रहरीको पोस्ट नजिक ड्युटीमा रहेका दुई जना सशस्त्र प्रहरीले पनि भारतबाट नेपाल प्रवेश गर्नेलाई कुनै रोकटोक गरिरहेका थिएनन् । ‘रोक्ने आदेश छैन । के गर्ने जान दिनैपर्यो,’ एक सशस्त्र प्रहरीले भने । नेपाल भित्रिनेमध्ये केही बिरामी समेत थिए ।
‘सीमामा स्वास्थ्य जाँचबिना भित्र्याउनु देशकै लागि खतरापूर्ण छ,’ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले भने, ‘यस्तै भइरह्यो भने सम्हाल्न मुस्किल हुन्छ ।’ पछिल्लो समय जिल्लामा संक्रमितहरूको कन्ट्र्याक्ट ट्रेसिङ गर्दा भारतको राजस्थान, पटनालगायतका स्थानबाट आएकाबाट कोरोना भित्रिएको देखिएको छ ।
सरकारले बन्द राखेको सप्तरीको गोविन्दपुर नाका हुँदै नेपाल प्रवेश गरेका भारतीयहरु । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर
केही दिनअघि राजस्थानबाट फर्किएका डाकनेश्वरी नगरपालिका तरहीका ६० वर्षीय पुरुषसँगै उनको घरका ११ जनामा संक्रमण पुष्टि भएको थियो । बिहारको राजधानी पटनामा परीक्षा दिएर फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । सशस्त्र प्रहरी सप्तरीका प्रमुख एसपी राजु श्रेष्ठले गोविन्दपुर नाका बन्द नै रहेको दाबी गरे । उनले सुरक्षाकर्मीको आँखा छलेर कोही भित्रिएको हुन सक्ने बताउँदै त्यसलाई रोक्ने बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बन्द रहेको नाकाबाट मानिस भित्रिन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको बताए ।
चोरबाटोबाट अझै आउजाउ
भारत रुसुलपुरका रविशंकर कुमार परिवारसहित बुधबार बिहान मोटरसाइकलमा सर्लाहीको नाका हुँदै नेपाल प्रवेश गरे । कविलासीमा आफन्तको बिहेमा आएका उनलाई सीमामा कसैले रोकटोक गरेन । सीमावर्ती गाउँबाट चोरबाटो हुँदै उनी नेपाल आएका हुन् । स्वास्थ्य जाँच हुन नसकेका उनी अहिले भीडभाडका बीच आफन्तको बिहेको तयारीमा जुटिसकेका छन् ।
सर्लाहीमा संक्रमण तीव्र रूपमा फैलिँदा सीमामा आउजाउ यथावत् छ । मुख्य नाका मलंगवामा कडाइ गरिए पनि अन्य नाकाबाट सर्वसाधारण भित्रिने र बाहिरिने क्रम रोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालयले सीमामा कडाइ गरिएको बताउँदै स्वास्थ्य जाँचबिना जोकोहीलाई नेपाल प्रवेशमा रोक लागाएको दाबी गरेको छ । तर सीमित साधनस्रोतका कारण खुला सीमाका हरेक स्थानमा प्रहरीको उपस्थिति कठिन हुने गरेको जनाइएको छ । सर्लाहीमा ५१ किलोमिटर खुला सीमा छ । जसको व्यवस्थापनका लागि सशस्त्र प्रहरीका ११ वटा बीओपी स्थापित छन् ।
