दार्चुलाबाट ठगुन्नाको तेस्रो संसदीय यात्रा

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Thagunna's third parliamentary trip from Darchula

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार ठगुन्ना १८ हजार ८९१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका ठगुन्नाले कांग्रेसका धर्मानन्द जोशीलाई पराजित गरेका हुन् । जोशीले १५ हजार ८३६ मत ल्याए । यो निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गरे भने नेकपाका लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गरे । दार्चुलाबाट राप्रपाका राजेश चन्दले ६ सय ६६ मत प्राप्त गर्दा नेकपा (माओवादी)का नवराज भट्टले २ सय ९८ मत ल्याए ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गणेशसिंह ठगुन्नाको यो तेस्रो संसदीय यात्रा हो । उनी दोस्रो संविधानसभा निर्वाचन, २०७० मा पहिलोपटक केन्द्रीय संसद्‍मा निर्वाचित भएका थिए । त्यसपछि उनी २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा भने ठगुन्नाले जित हासिल गरे ।

ठगुन्ना २०५४ सालमा जिल्ला विकास समिति दार्चुलाको सभापति बनेका थिए । २०४५ सालमा अनेरास्ववियु दार्चुला-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनेसँगै उनी एमालेको राजनीतिमा सक्रिय भएका थिए । उनी २०४७ मा नेकपा (माले)को जिल्ला कमिटी सदस्य बनेका थिए ।

ठगुन्ना २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका थिए । 

कान्तिपुर

Link copied successfully