दाङ–१ बाहेक अन्य दुईजना त ४० वर्षमुनिका युवा निर्वाचित भएका छन् । दाङ–१ बाट ६० वर्षीय देवराज पाठक विजयी भएका छन् भने दाङ–२ बाट ३९ वर्षीय विपिन कुमार आचार्य र दाङ–३ बाट ३८ वर्षीय कमल सुवेदी निर्वाचित भएका छन् । उनीहरु सबैका प्रतिस्पर्धी पूर्वमन्त्री, सांसद् र स्थानीय तहका प्रमुखहरु थिए ।
दाङ — दाङका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । संयोग के भएको छ भने तीनै क्षेत्रका विजेता पहिलोपटक सांसद् बनेका छन् । उनीहरुले यसअघि पटक–पटक सांसद् बनेका प्रतिस्पर्धीलाई पराजित गरी दोहोरिने प्रवृतिमा ब्रेक लगाएका छन् ।
दाङ–१ बाहेक अन्य दुईजना त ४० वर्षमुनिका युवा निर्वाचित भएका छन् । दाङ–१ बाट ६० वर्षीय देवराज पाठक विजयी भएका छन् भने दाङ–२ बाट ३९ वर्षीय विपिन कुमार आचार्य र दाङ–३ बाट ३८ वर्षीय कमल सुवेदी निर्वाचित भएका छन् । उनीहरु सबैका प्रतिस्पर्धी पूर्वमन्त्री, सांसद् र स्थानीय तहका प्रमुखहरु थिए ।
दाङ–१ बाट निर्वाचित पाठक दाङकै अर्को उपत्यका देउखुरी क्षेत्रका पुराना शैक्षिक व्यक्तित्व हुन् । चारदशक शिक्षणमा रमाएका पाठक कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्व शहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी र लुम्विनी प्रदेशका पूर्व सांसद् रेवतीरमण शर्मा घिमिरेलाई पराजित गर्दै सांसद् निर्वाचित भएका छन् ।
पाठकले मुख्य प्रतिस्पर्धीभन्दा २७ हजार ३ सय २२ बढी मत प्राप्त गरी जीत हासिल गरेका हुन् । पाठकले ४२ हजार ६ सय २ मत पाएका छन् भने मुख्य प्रतिस्पर्धी कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २ सय ८० मत पाएका छन् ।
यस्तै एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ र नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४ हजार ९ सय ६५ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३ सय ८४ मत पाएका छन् ।
दाङ–२ बाट आचार्यले एमाले महासचिव शंकर पोख्रेललाई २८ हजार २ सय ७२ मतान्तरले पराजित गर्दै पहिलोपटक संसदीय यात्रा तय गरेका छन् । उनले ४३ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् भने मुख्य प्रतिस्पर्धी पोख्रेलले १५ हजार २ सय ८७ मत प्राप्त गरेका छन् ।
कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५ सय ५८ र नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८३ मत प्राप्त गरेका छन् । ईञ्जिनियरिङ र व्यवस्थापन पढेका आचार्यले मिडिया व्यवस्थापनको जिम्मेवारीबाट राजनीतिक यात्रा हुँदै संसद्को बाटो तय गरेका छन् ।
दाङ–३ बाट निर्वाचित सुवेदीले शक्तिशाली नेताहरुलाई पछि पार्दै जीत निकालेका छन् । उनले छैटौंपटक चुनावी मैदानमा भएका पूर्व सिँचाइ मन्त्री दिपक गिरी, लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धन बहादुर मास्की र तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेलाई पराजित गरेका छन् ।
उनका मुख्य प्रतिस्पर्धीका रुपमा २०७९ मा उनलाई पराजित गर्ने कांग्रेसका दिपक गिरी थिए । गिरी २०५१, २०६४ र २०७४ मा यही क्षेत्रमा पराजित भएका थिए । गिरी २०७० मा निर्वाचित भएपछि सिँचाइ मन्त्री भएका थिए । अहिले सुवेदीले २०७९ को बदला लिँदै गिरीलाई पराजित गरेका छन् ।
उनले मुख्य प्रतिस्पर्धी गिरीलाई २७ हजार ७ सय ९५ मतान्तरले पछि पार्दै जीत हासिल गरेका छन् । सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त गरेका छन् भने गिरीले १६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् ।
यसैगरी एमालेका उम्मेदवार पाण्डेले १२ हजार १ सय ९५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मास्कीले ९ हजार ३ सय २८ मत प्राप्त गरेका छन् । मास्की लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।
यो परिणामबाट जनताले नयाँ अनुहारलाई नेता बनाउन खोजेको देखिन्छ । निर्वाचित उम्मेदवारहरुले पनि जनतामा परिवर्तनको तीव्र आकांक्षा भएको र यसलाई सम्बोधन गर्ने ठूलो चुनौती रहेको बताएका छन् । दाङ–२ बाट निर्वाचित रास्वपा सहमहामन्त्री आचार्यले भने,‘जनताले अलि धेरै विश्वास गर्नुभएको छ । बढी नै भरोसा गर्नुभएको छ । परिवर्तनको तीव्र आकांक्षा छ । त्यसलाई सम्बोधन गर्नु नै हाम्रो मुख्य जिम्मेवारी र चुनौती हो ।’
