सामाजिक सेवा, जनसहभागिता र स्थानीय विकासलाई प्राथमिकता दिने नेतृत्वका रूपमा चिनिएका गुप्ताले यस पटक प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
परासी — पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ता प्रतिनिधि सभामा निर्वाचित भएका छन् । सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय ४८ वर्षीय गुप्ताले लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
गुप्ताको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । उनले नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ मार्फत राजनीति सुरु गर्दै क्षेत्रीय सभापति बनेका थिए ।
प्रतिनिधि सभा निर्वाचनको मुखैमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट रामग्राम नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका गुप्ता विजयी भएका थिए । तर २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनी नगर प्रमुखमा पराजित भएका थिए ।
सामाजिक सेवा, जनसहभागिता र स्थानीय विकासलाई प्राथमिकता दिने नेतृत्वका रूपमा चिनिएका गुप्ताले यस पटक प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन परिणाम अनुसार गुप्ताले ४४ हजार १०० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भिमबहादुर थापा ले १५ हजार ९४५ मत प्राप्त गरेका छन् । गुप्ताले थापालाई २८ हजार १५३ मतको फराकिलो अन्तर ले पराजित गरेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान ७ बजे नवनिर्वाचित सांसद गुप्तालाई विजयी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
